-किशोर नेपाल
माओ त्सेतुङ बीसौँ शताब्दीका महान् क्रान्तिकारी राजनेता थिए भन्नेमा उनका विरोधीहरुसमेत सहमत छन्। आधुनिक चीनको निर्माणमा मात्र होइन, चीनलाई उदारवादी अर्थतन्त्रको बाटोमा अग्रसर गराउन पनि माओको महत्वपूर्ण भूमिका थियो। अमेरिका-चीनबीचको शत्रुतापूर्ण सम्बन्धलाई विच्छेद गराउने मजबुत फलामे ढोकामा लागेको भोटे ताल्चा खुलाउन माओले प्रयोग गरेको पिङपङ साँचोँ विश्व कूटनीतिको इतिहासमा अद्भूत र अपूर्व प्रयोग मानिन्छ। यही साँचोले तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र विदेश मन्त्री हेनरी किसिन्जरलाई विश्व कूटनीतिको इतिहासमा स्थापित गराएको थियो। एसियाको पारम्परिक शक्ति सन्तुलनलाई यसैले विस्थापित गराएको थियो। अन्ततः माओको पिङपङ साँचोले चीनमा आर्थिक उदारवादको ढोका खोल्यो। आजको चीनले गरेको अद्भूत आर्थिक उन्नति त्यसैको परिणाम हो।
माओको लामो नेतृत्वकालमा उनले थुप्रै गल्ती गरेका थिए। तर, उनी आफ्नो अन्तर-आत्माको तहमा गल्ती भएको स्विकार्न हिचकिचाउँदैनथे। उनको यौन जीवनदेखि अनेक उटपटाङ लीलाहरुका विस्तृत विवरण समेटिएका हजारौँ किताब लेखिएका छन्। ती विवरणले कतै पनि उनको राजनीतिक साख खस्काउन सकेका छैनन्। ती किताबको हैसियत राजनीतिक मनोरञ्जनभन्दा माथि स्थापित हुन सकेन। चिनियाँ इतिहासको सबैभन्दा कालो पक्ष मानिँदै आएको सांस्कृतिक क्रान्तिकालमा चीन ठूलो संकटमा थियो। त्यही बेला चीन भ्रमणपछि विश्वप्रसिद्ध लेखिका तथा चिन्तक सिमोन द बुभाले टिप्पणी गरेकी थिइन्, ‘माओको साम्यवादी शासनले यस्तो कल्याणकारी राजतन्त्रको छनक दिन्छ जहाँ पण्डितजस्तो सम्राट्ले प्रजाको सम्पूर्ण आस्थामाथि विजय प्राप्त गरेको हुन्छ। माओको शासनमा चिनियाँ जनजीवन आनन्दमग्न रहेजस्तो अनूभूत हुन्छ।
जीवनको अन्त्यतिर, सन् १९७५ मा माओले आफ्नो अन्तिम सन्देशमा भनेका थिए, ‘तीन जनाले बढी र एउटाले कम’अर्थात् चाउ एनलाईले बढी आराम गर्नुपर्छ, तेङ स्याओ पिङले बढी काम गर्नुपर्छ, वाङले बढी पढ्नुपर्छ र चियाङचिङले कम बोल्नुपर्छ।’
माओको यो सन्देश तत्कालीन चीनका नेताहरुका लागि मात्रै थिएन। साम्यवादी दर्शनको माओवादी बाटोमा हिँड्ने सबै माओवादीका लागि थियो। कतिले यो सन्देश पछ्याए, त्यसको लेखाजोखा गर्ने क्षमता यस स्तम्भकारसँग छैन। नेपालको माओवादी पार्टीमा अहिले देखिएका वरिष्ठ नेताहरुको माओ विचारसँग अलिकति पनि सम्बन्ध छ भने स्तम्भकार यतिमात्र टिप्पणी गर्ने धृष्टता गर्न चाहन्छ, अब मोहन वैद्य ‘किरण’ले बढी आराम गर्नुपर्छ, रामबहादुर थापा ‘बादल’ले बढी पढ्नुपर्छ, बाबुुराम भट्टराईले कम बोल्नुपर्छ र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बढीभन्दा बढी काम गर्न दिनुपर्छ।
यस्तो होला त? नेपालमा राजनीतिमा लागेका मानिसहरु चाहिनेभन्दा बढी नै आत्मकेन्द्रित हुन्छन्। उनीहरु आफ्नो बखानबाहेक अरु कसैको प्रशंसा सुन्न र गर्न जान्दैनन्। जो अर्काको विचारको उदारपूर्वक प्रशंसा गर्न जान्दैनन्, ती राजनीतिक नेतामात्र बन्छन्। राजनेता बन्ने ह्याउ र हैसियत दुवै हुँदैन तिनमा। जब समाजमा नेतृत्वदायी सर्वमान्य व्यक्तित्वको अभाव हुन्छ, जुवाको जस्तै राजनीतिको लत लागेका मानिसहरुको बर्चस्व ह्वात्तै बढ्छ। आफ्ना अधकल्चा विचारहरुमा अल्मलिएका यस्ता नेताहरु अरुको विचार सुन्नु र आफ्ना कार्यहरुलाई मर्यादित बनाउनुमा भन्दा सबैबाट अलग-थलग बस्न रुचाउँछन्। उनीहरुलाई आफ्नो स्वार्थका लागि मात्र मिडिया चाहिन्छ। अघिपछि मिडिया उनीहरुका लागि चिडचिडाहटको कारण बन्छ।
माओवादी नेताहरुले माओको नेतृत्वलाई परिप्रेक्षमा राखेर चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास पढेका छन् कि छैनन्? त्यो हामीजस्ता सर्वसाधारणले जान्ने कुरा होइन। तैपनि, त्यस पार्टीभित्रका थुप्रै स्वनामधन्य नेताको हाँक-दाँक र चुरीफुरी हेर्दा उनीहरुमा संघर्ष गर्ने क्षमता चुकेको देखिन्छ। संघर्ष गर्ने क्षमता भएका कुनै पनि मानिस नेतृत्वको भर्त्सना गरेर हिँड्दैन। माओले अभाव र दरिद्रताबीच शान्ति र स्थायित्व स्थापित हुनसक्ने कल्पना कहिल्यै गरेनन्। उनले त्यस्तो विचारलाई सधैँ हावादारी बताए। संघर्षको निरन्तरता नभएसम्म देशले उन्नति गर्दैन भन्ने उनको निर्क्योल आजका कतिपय गैरसाम्यवादी देशहरुका लागि पनि उत्तिकै सान्दर्भिक बनेको छ। साँच्चै भन्ने हो भने स्थायी शान्ति र स्थिरता पोखरीमा जमेको पानीजस्ता शब्द हुन्। पोखरीको पानीमा गतिशीलता खोज्न सकिँदैन।
आजको समय सिद्धान्तको टुपी समातेर अघि बढ्न सकिने समय पनि होइन। एक्काइसौँ शताब्दीको पहिलो दिनमै सिद्धान्तको मृत्यु भइसकेको छ। आजको मानिस महादेवले सतीदेवीको लासजस्तै सिद्धान्तको लास काँधमा हालेर हिँड्न तयार छैैन। उसका लागि साम्यवादी वा गैरसाम्यवादी सिद्धान्तहरु प्रेरणाका प्रतिविम्ब र पुञ्जमात्रै हुन्। सन्दर्भमा, वर्तमान नेपाललाई नै हेरे पुग्छ। साम्यवादको सिद्धान्तमा दीक्षित कतिपय नेताहरु अहिले आफूलाई नेपाली भन्न पनि लजाउँछन्। उनीहरु जातीय तथा वर्गीय साम्प्रदायिकताको पुच्छर समातेर राजनीतिको वैतरणी पार गर्न खोज्दैछन्। लोकतान्त्रिक समाजवादको नारा दिने समतावादीहरु उदार अर्थतन्त्रको दलाली गरेर पतनको भासमा जाकिएको जाकियै छन्। समयको आँधीले उडाएर असान्दर्भिक बनाइसकेका अनुदारवादीहरु परिवर्तनकारी शक्तिहरुमा देखिएको विग्रहका कारण रमाउनु रमाएका छन्। सबैले आ-आफ्नो जितको भ्रम पालेका छन्। किनभने हार अपरिहार्य छ भन्ने धेरैथोरै ज्ञान सबैलाई छ।
अहिलेको नेपाली राजनीति राष्ट्रिय त्रासदीका रुपमा विकसित भइरहेको छ। कुनै निश्चित परिकल्पना र निश्चित लक्ष्यबिना सडकको गोलचक्करमा दौडिरहने मानिस कतै पुग्न सक्दैन। हाम्रा राजनीतिज्ञहरुलाई आफू निरन्तर दौडिरहेको देखेर जनता सन्तुष्ट भएझैँ लागेको छ। यो उनीहरुको भ्रममात्रै हो। जनतालाई थाहा छ, नेताहरु लगातार गोलचक्करमा घुमिरहेका छन्। उनीहरुलाई आफ्ना आँखा अघिल्तिर प्रतिक्रियावादको, प्रतिगमनको, प्रतिशोधको भयावह विम्बहरु घुमिरहेको भान भएको छ। भ्रम एकप्रकारको रोग हो जसको उपचार अहिलेसम्म चिकित्सा विज्ञानले खोज्न सकेको छैन। देश व्यवस्थापनको दायित्व बोकेका नेताहरु नै भ्रमको सिकार भएपछि त्यस देशका लागि राजनीति त्रासदी नभएर अरु के हुन सक्छ?
स्तम्भ माओको चर्चाबाट सुरु भए पनि माओवादी पार्टीमात्रै यसको केन्द्र होइन। सबै राजनीतिक पार्टीका नेताहरु अहिले पीडोन्माद रोगले ग्रस्त छन् जसलाई अंग्रेजीमा प्यारानोइया भनिन्छ। पीडा र उन्मादको समीकरणले मानिसलाई विक्षिप्त बनाउँछ। देश व्यवस्थापनको दायित्व लिएका नेताहरु पीडोन्मादले ग्रस्त हुनु र रक्सीले मात्तिएर चुर सैनिकले हातमा मेसिनगन बोक्नु उस्तै कुरा हो। यी दुवै अवस्था समाजका लागि घातक हुन्छन्। देशमा भारीका भारी समस्या खात लागेका छन्। समस्या खोज्ने नेताहरु भने अशक्त अवस्थामा छन्। हरेक दिनको सूर्योदयसँगै नेताहरु जनतालाई आफ्ना समस्या सुनाउँछन्, माओवादीले यसो गरेन, कांग्रेसले त्यसो गरेन, एमालेले उसो गरेन, मधेसीले, जनजातिले’जनताले यी बकम्फूसे भाषण सुनेर के गर्ने? समाधान खोज्नेले समस्या सुनाउने हो र? समाधान खोज्ने दायित्व सकारेकै कारण जनताले चुनावका बेला आफ्नो हात काटेर त्यो जिम्मेवारी दिएका होइनन् र?
जनतालाई त के छ र! ऊ अघिल्लो चरणको संघर्षका लागि पनि तयार छ। ऊ यतिमात्र चाहन्छ, त्यस संघर्षको रुप बदलियोस्। उसले माओ पढेको छैन। लेनिन पढेको छैन। लिंकन, चर्चिल कसैलाई पनि पढेको छैन। यति हो, उसलाई संघर्ष नगरी सफलता हात लाग्दैन भन्ने राम्रो ज्ञान छ। राजनीतिको यो अथाह भवसागरमा डुंगा खियाउन ऊ एउटा बहनाको खोजीमा छ। -(नागरिक दैनिकबाट साभार)

