Archives

पहिचान सहितको सङ्घियता – उत्पीडनको अन्त्य गर्ने मुख्य आधार – प्रचण्ड

पहिला सेनाकै कारण प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो, अहिले समायोजनका लागि सेनाकै प्रतिरक्षा गर्न थाल्नुभयो नि?

पहिला पनि समग्र सेनाप्रति हाम्रो टकराव थिएन। त्यतिबेलाका सेनापतिले सरकारको निर्णयलाई सहज ढंगले स्वीकार गर्नुसट्टा प्रतिवाद र गलत ढंगले बाहिर प्रचार गर्दा द्वन्द्व देखिएको हो। जतिबेला गणतन्त्र घोषणा भयो, संघीयता घोषणा भयो, ती परिवर्तनलाई सेनाले पनि स्वीकार गरेपछि समग्र संस्थाप्रति त्यतिबेलैदेखि आग्रह/पूर्वाग्रह केही थिएन। सेनासँग राम्रो सहकार्य गरेर समायोजन प्रक्रिया सफल पार्नुपर्छ भन्ने नै थियो। त्यहाँबाट यहाँसम्म आइपुग्दा अहिले शान्ति प्रक्रिया र समायोजनको अन्तिम चरणमा छौं। अब त्यसको धेरै काम सकिसकेको छ। हामी अहिले पनि सरकारको नेतृत्वमा छौं। सेनाको प्रमुखदेखि संस्थासँग सहजता छ। यो सम्पूर्ण शान्तिकामी र परिवर्तनकारी नेपालीका लागि खुसीको कुरा हो। सेना र माओवादीबीच राम्रो सहकार्य भएर समायोजन प्रक्रिया सफल हुन्छ भने सबैले खुसी मनाउनुपर्छ। यसमा दुःख र अप्ठ्यारो मान्नुपर्ने केही छजस्तो लाग्दैन।

समायोजन प्रक्रियामा तपाईं अहिले उत्साहित हुनुहुन्छ भन्ने छ नि?
समायोजन र संविधान टुंग्याउन सेनाको होइन, राजनीतिक दलकै भूमिका निर्णायक हुन्छ। सेनाको त सुझाव लिनेमात्रै हो। सरकारले लिइरहेकै पनि छ। संवेदनशील अंग हुनुको नाताले सेनाको सकारात्मक धारणा धेरै महत्त्वपूर्ण पक्कै छ। अहिले म समायोजन र समग्र शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउनपर्छ भन्दै उत्साहित भएर अलि आत्मविश्वाससाथ अघि बढेको सेनाको सुझाव सकारात्मक भएर भन्ने मुख्य होइन। यो प्रष्ट होस्। जनताको शान्तिप्रतिको आकांक्षा भनौं, माओवादी पार्टीले यसलाई सकारात्मक हिसाबले निष्कर्षमा पुर्‍याउन भूमिका खेलोस् भन्ने हो। पुनर्वर्गीकरण वा स्वेच्छिक अवकाशमार्फत कार्यकर्ताहरू शिविरबाट बाहिरिसकेका छन्। अब ढिलो गर्नु हुँदैन भन्ने छ। हाम्रो पार्टीको बुझाइ पनि यही छ। पार्टीहरुरूसँगको कुराकानीमा पनि सकारात्मक हिसाबैले बहस बढाएको छु। सरकारले पनि यसमा सकारात्मक भूमिकै खेलेको छ। सेनाबाट आएको सुझाव पनि सकारात्मक हुँदा यो टुंग्याउन सजिलो होला भनेर उत्साहित भएकोमात्रै होइन। समायोजन निष्कर्षमा पुर्‍याउनु नै राष्ट्रको हितमा छ, समग्र परिवर्तनको हितमा छ भन्ने टुंगोमा पुगेर ठूलो पार्टीको अध्यक्षको हैसियतले वा जनमुक्ति सेनाको सुप्रिम कमाण्डर भएर हिजो सेनासँग भावनात्मक सम्बन्ध भएको नाताले वा आम नेपालीले मबाट जे अपेक्षा गरेका छन्, त्यसलाई साकार पार्न मैले यो प्रक्रिया टुंग्याउन विशेष सक्रियता र तत्परता देखाएको हो।

सेनाले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन हेर्नुभएकै होला, त्यसलाई कसरी लिनुभएको छ?
मैले स्वतः हेर्ने कुरा भयो। प्रधानमन्त्री हाम्रै पार्टीको उपाध्यक्ष हुनुहुन्छ। पार्टीसँग सहकार्य नभई यो विषय अघि बढ्न सक्दैन। त्यस हिसाबले पनि यसलाई मैले हेरेको हुँ।

सेनाले ल्याएको प्रस्ताव सकारात्मक छ भनेर सार्वजनिक रूपमा पनि भनेको छु। त्यो पर्याप्त छ भन्ने मेरो भनाइ बिल्कुल होइन। त्यहाँ र्‍याङि्कङबारे जे सुझाव छ, त्यो पर्याप्त छैन। ब्रिजकोर्स, शिक्षाका विषय पनि प्रष्ट भइसकेका छैनन्। समग्र भावना हेर्दा सेना पनि शान्ति प्रक्रिया टुंगियोस्, सकारात्मक भूमिका खेल्न पाइयोस् भन्ने देखिएको छ, त्यसलाई हामीले स्वागत गरेको हो।

सेनाको प्रस्ताव सातबुँदेअनुसार छ?
सातबुँदेअनुसारै छ। सातबुँदेभन्दा बाहिर छैन। पहिलो, सरकारले रक्षा मन्त्रालयमार्फत सेनालाई समायोजनमा तपाईंहरूको धारणा के छ भनेर मागेको हो, विशेष समितिको निर्णयअनुसार। दोस्रो, त्यो सुझावमात्रै हो। त्यसमा पार्टीहरूले वैधानिक हिसाबले निर्णय गर्ने विशेष समितिबाटै हो। त्यो बाँकी नै छ। सातबुँदेलाई जीवन्त ढंगले अघि बढाउने भावना देखिएको छ।

सेनाले मेजरसम्मको स्थान दिनसकिने धारणा सार्वजनिक गरेको छ, तपाईंको टिप्पणी के छ?
सेनाले आफ्नो व्यवसायिकताको हिसाबले भनेको छ, त्यसप्रति टिप्पणी गर्नु छैन। २०५२ सालमा भर्ती भएको कुनै अधिकृत वा जवान २०६८ मा जहाँ पुग्छ, २०५२ सालमा भर्ती भएको जनमुक्ति सेनाको सदस्य पनि त्यही पुगोस् भन्ने एउटा सामान्य सिद्धान्तअनुसार सेनाले मेजरसम्म भन्नु अन्यथा छैन। यसमा नकारात्मक टिप्पणी गर्नु आवश्यक छैन। हाम्रो भनाइ के छ भने यो एउटा सामान्य प्रक्रियाबाट भर्ती गरेर पदोन्नति गरेको जस्तो होइन, यो त एउटा ठूलो गृहयुद्ध समाधान गर्ने कुरा हो। त्यसकारण र्‍याङ्किङको विषय समायोजन सिद्धान्त र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने आवश्यकताअनुसार राजनीतिक निर्णयबाट टुंग्याउनुपर्छ। दुनियाँमा जहाँ कहीँ पनि चाहे दक्षिण अफ्रिका वा अन्यत्र, शान्ति प्रक्रियालाई सकारात्मक ढंगबाट टुंग्याइएका उदाहरणमा राजनीतिक निर्णयका आधारमा पद टुंग्याइएका छन्। सामान्य अवस्थामा सेनाले भनेको ठीकै हो, अहिलेको अवस्था सामान्य होइन। यसमा राजनीतिक निर्णयले सेना समायोजन सहज बनाउने र शान्ति प्रक्रिया टुंग्याउने हिसाबले र्‍याङ्कको कुरा टुंग्याउनुपर्छ।

सातबुँदेले मेजरभन्दा माथिको पद नदिने भनेको छैन। समायोजनको पद निर्धारण गर्दा सेनाको वृत्ति विकासमा नकारात्मक असर नपर्ने गरी गर्नुपर्छ भनेको छ। हामीले महानिर्देशनालयको कार्यालयमा एक माओवादी लडाकु प्रतिनिधि हुँदा समायोजन सहज हुन्छ र शान्ति प्रक्रिया टुंगिन्छ भन्दा सातबुँदेअनुसार सेनाको वृत्तिविकासमा त्यसले नकारात्मक असर पर्दैन।

यसमा प्रतिपक्षी दलहरूको भूमिका कस्तो पाउनुभएको छ?
शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भन्नेमा सत्तापक्ष र प्रतिपक्षीबीच विमति छैन। त्यो टुंग्याउँदा सातबुँदे सहमतिमै आधारित भएर टुंग्याउनुपर्छ भन्नेमा पनि विवाद छैन। म यसलाई टुंग्याएरै जानुपर्छ भनेर लागेको छु। प्रतिपक्षलाई के लागेको छ भने माओवादीले शान्ति प्रक्रिया राम्रोसँग टुंग्यायो भने उसको उचाइ बढ्ला, माओवादी स्थापित होला भनेर अलिकति विरोध, अलिकति आलोचना आएको होला। नकारात्मक टिप्पणी गर्दियो भने आफ्नो वर्चस्व रहला भन्ने राजनीतिले काम गरेको छ।

छिर्के राजनीति हो?
त्यो त नेपालमा छ नै। सबैले बुझेकै कुरा हो। माओवादीले शान्ति प्रक्रिया टुंग्याउन पनि नेतृत्वदायी भूमिका खेल्यो, संविधानमा पनि राम्रो भूमिका खेल्यो भने जनतामा प्रभाव पर्छ भन्ने लागेको होला। त्यो प्रभाव कसरी घटाउन सकिन्छ भन्ने हिसाबले काम गरेको होला।

प्रतिपक्षीको विरोध राजनीतिक स्पेस जोगाउने किसिमले मात्रै आएको छ कि प्रक्रिया नै भाँडिने नियतले?
प्रक्रिया भाँड्ने छ भन्ने मलाई लागेको छैन। अलिकति थकाएर अलिकति जनतामा हामीले बल गरेर भएको हो भन्ने पार्ने र टुंग्याउने नै प्रतिपक्षी दलहरूको सोच छ भन्ने देख्छु।

शान्ति प्रक्रिया कहिलेसम्म टुंगिएला?
एकपटक कार्यतालिका टुंगियो भने दुई हप्ता, १५/२० दिनमा सबै टुंगिन्छ भन्ने देखेको छु। कार्यतालिका टुंगिएपछि धेरै समय लाग्दैन।

त्यसपछि संविधान निर्माणले गति लिन्छ होइन?
हाम्रो भनाइ संविधान निर्माण प्रक्रिया पनि गतिमा गइराखोस् भन्ने हो। शान्ति प्रक्रिया, समायोजन पनि आफ्नो प्रक्रिया र गतिमा जानुपर्छ। प्रतिपक्षीको भनाइ पहिला शान्ति प्रक्रिया टुंग्याइहाल्ने अनि संविधानमा जाने भन्ने छ। प्रतिपक्षलाई माओवादीले शान्ति प्रक्रिया टुंग्याएको छैन, संविधानमा धेरै जोड गर्नु हुँदैन भन्ने लाग्छ भने यो प्रक्रिया अब छिट्टै टुंगिन्छ। त्यसपछि सबै तागत संविधान निर्माणमा जान्छ। त्यतिबेला जनताले शान्ति र संविधान, राष्ट्र र जनताको भावनाप्रति को जिम्मेवार र संवेदनशील हो भन्ने छ्यांग देखोस् भन्नेमा म छु।

शान्ति प्रक्रिया र संविधान निर्माणलाई सँगै लैजानुपर्छ भन्ने धारणा तपाईंकै पार्टीमा छ, यो अवस्थामा शान्ति प्रक्रिया मात्रै टुंग्याउन लाग्दा तपाईंलाई पार्टीभित्रैबाट चुनौती आउँदैन?
संविधान पहिला टुंगियोस् अनि मात्रै शान्ति प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने प्रवृत्ति पनि छ। शान्ति प्रक्रिया टुंग्याइदिहालौं, संविधान पछि भए पनि हुन्छ भन्ने प्रवृत्ति पनि छ। पार्टीको आधिकारिक धारणा चाहिँ शान्ति प्रक्रिया र संविधान निर्माण सँगसँगै लैजाने हो। सँगसँगै लैजाँदा पनि पहिलो घोषणा शान्ति प्रक्रिया टुंगिएको हुन्छ, त्यसपछि मात्रै संविधानको घोषणा हुन्छ, सँगै घोषणा हुँदैन।

शान्ति प्रक्रिया भनेको सेना समायोजन र पुनर्स्थापना मात्रै होइन। क्यान्टोनमेन्ट खालि हुने बित्तिकै शान्ति प्रक्रिया सकियो भन्ने होइन। मानिसहरूको बुझाइ चाहिँ ‘क्यान्टोनमेन्ट खाली भएको दिन शान्ति प्रक्रिया टुंगिन्छ’ भन्ने अत्यन्त प्राविधिक छ। मेलमिलाप आयोग, बेपत्ता आयोग, पुनर्स्थापना, पुनर्निर्माण, घाइते, अपांग बाँकी नै रहन्छ। संविधान बनाउने कुरा शान्ति प्रक्रियाकै अंग हो। अब बढीमा तीन हप्ताभित्र सेना समायोजन टुंगिन्छ। यो टुंगिएपछि माओवादीलाई आरोप लगाउने ठाउँ सकियो। प्रतिपक्षलाई पनि त्यतिबेला संविधानको आधारभूत सिद्धान्तमा जनताको पविर्तनको चाहनाअनुसार गर्नुपर्ने बाध्यता आउँछ। संविधान पनि बन्छ।

संविधान निर्माणका पेचिला मुद्दा त बाँकी नै छन् नि?
राज्यको पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणाली र नागरिकताजस्ता महत्त्वपूर्ण विषय टुंग्याउन बाँकी नै छ।

राज्यको पुनर्संरचना कस्तो र कसरी गर्ने भन्ने छ?
राज्यको पुनर्संरचना भनेको संघीयता मात्रै होइन। त्यसमा वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक हिसाबले राज्यको अग्रगामी पुनर्संरचना गर्ने मान्यताबाट १२ बुँदे समझदारीदेखि त्यसपछिका आन्दोलन भएका हुन्। संघीयता राज्य पुनर्संरचनाको प्रमुख भाग हो। त्यसबारे सुझाव दिन गठित आयोगले एउटा प्रतिवेदन सरकारलाई बुझायो, सरकारले त्यो प्रतिवेदन संविधानसभालाई दिएको छ। छलफल बाँकी छ। अब प्रदेश र प्रदेश बनाउने आधार केलाई मान्ने भन्ने विवाद छ। संविधान निर्माणको सबैभन्दा जटिल र सबैभन्दा महत्त्वपूर्ण विषय यही हो। यसबारे पार्टीहरूबीच छलफल सुरु भएको छ।

आयोगको प्रतिवेदन आएपछि मुख्य दलका शीर्ष नेताले नै आफ्नो भूगोल, जातलाई ध्यानमा राखेर बोल्न थालेका छन्। तपाईंले नै चितवनलाई टुक्र्याउन पाइँदैन भन्ने अभिव्यक्ति दिनुभयो?
आयोगले दिएको प्रतिवेदनप्रति आम रूपले प्रमुख राजनीतिक दल सन्तुष्ट देखिएनन्। अस्वभाविक पनि होइन। त्यहाँ राजनीतिक दलका प्रतिनिधिभन्दा स्वतन्त्र व्यक्ति थिए। यसको अन्तिम निर्णय लिने राजनीतिक दलहरूले नै हो। दलहरूको समझदारीमा त्यसको आधिकारिक निर्णय गर्ने थलो संविधानसभा नै हो। रह्यो प्रदेश बनाउँदा टुक्र्याउने कुरा। मैले चितवनमा गएर त्यो जिल्ला टुक्र्याउन हुँदैन भनेर बोलेँ, चितवनको सवालमा त्यो साँचो हो। चितवन जिल्ला मेरो जिल्ला भएकाले भनेको बिल्कुल होइन। चितवन जिल्लाको भौगोलिक बनावट, सामरिकता, त्यहाँ बसेका जनताको बनावट हेर्ने हो भने देशभरिका सबै जाति र भाषाको मिश्रित स्वरूप भएको मोडल जिल्ला हो त्यो। मैले त्यसो भनेकै दिन कांग्रेसका रामशरण महत र एमालेका नेता भरतमोहन अधिकारीले पनि त्यही भन्नुभयो। मेरो त आफ्नै जिल्ला, भन्ने नै भएँ। चितवन टुक्र्याउँदा त्यसको राष्ट्रिय एकता, भौगोलिक एकतामा आँच आउँछ भन्ने मेरो भनाइ हो।

सुदुरपश्चिमका सबै नेताले आफ्नो क्षेत्र टुक्र्याउन पाइँदैन भनेका छन्। यस्ता आवाज बेवास्ता गर्न मिल्छ?

बेवास्ता गर्न मिल्दैन। जो साथीले सुदुर पश्चिमको जनताको हित यसरी छ भनेर तर्क गरेका छन्, त्यसलाई केही पनि होइन भन्न सकिँदैन। खासगरी कैलाली र कञ्चनपुरको भूगोललाई लिएर धेरै बहस भएको छ। आदिवासी थारुलाई थारुवान वा थरुहट भनेर दाबी गर्ने अधिकार पर्याप्त छ। त्यो गर्नैपर्छ र गरिरहेका छन्। हामीले कैलाली र कञ्चनपुरलाई मूल रूपमा थारुवान नै मानेका छौं। यो जनताबीचको समस्या हो, चर्काउनु हुँदैन, जनप्रतिनिधि बसेर टुंग्याउनुपर्छ।

जातीय समूहको आकांक्षा चुलिएकाले व्यवस्थापनमा चुनौती आउला नि?
यो अलि ठूलो कुरा छ। अहिले नै धेरै कुरा भन्ने भन्दा पनि यो चुनौतीपूर्ण काम हो। हामीले जनयुद्धका बेला संघीयताको विषयलाई उत्पीडित, जनजाति, आदिवासी, दलित, महिला, मुस्लिम, मधेसी सबैलाई पहिचान र अधिकारका लागि उठ्नुपर्छ, जाग्नुपर्छ भन्यौं। त्यही भनेकै कारण जनुयुद्धले छोटै समयमा विस्तारित भएर एउटा शक्ति आर्जन गरेकै हो। अहिले कसरी व्यवस्थापन गर्ने चुनौती छ भन्ने म स्वीकार गर्छु।
संघीयता कस्तो रहेछ भने मजदुर, सर्वहारा वा सच्चा कम्युनिष्ट पार्टीले नेतृत्व गरेर सबै जातिलाई अधिकार दिँदै संघीयता बनायो भने राष्ट्र बलियो हुने र छिटछिटो विकास हुने रहेछ। पुँजीपतिले नेतृत्व गरेर संघीयता बन्यो भने साम्प्रदायिक दंगा हुने गरेको छ। यो धेरै गम्भीर प्रश्न छ। रुसमा कम्युनिष्ट पार्टीको नेतृत्वमा अक्टोबर क्रान्ति भयो, १९१७ देखि १९५५ सम्म द्रुततर विकास भयो। जब कम्युनिस्ट सिद्धान्त विचलित भयो, त्यसपछि सोभियत संघमा आपसी द्वन्द्व भएर टुक्राटुक्रा भयो। युगोस्लाभिया र चेकोस्लोभाकिया हेर्ने हो भने पनि त्यस्तै भएको छ। श्रमजीवी वर्गको हातमा नेतृत्व रह्यो भने एकता हुँदो रहेछ, पुँजीपति वर्गको हातमा नेतृत्व गयो भने साम्प्रदायिक दंगा हुँदो रहेछ। हामीकहाँ न श्रमजीवी वर्गको नेतृत्व स्थापित भएको छ, न पुँजीपति वर्गको। संक्रमणकाल छ।
संघीयतामा त जानैपर्छ। त्यसैले कति प्रदेश बनाउँछौं, कसरी बनाउछौं भन्नेमा पहिचान र सामर्थ्य भन्ने सिद्धान्त स्थापित गर्‍यौं। मुख्य कुरा पहिचान भनेका छौं। किनभने हाम्रो समस्या पहिचानको हो। त्यो पहिचानसाथै सामर्थ्यलाई पनि ध्यान दिएर कहीँ न कहीँ बीचबाटै जानुपर्छ।

जातीय संघीयता मात्रै संभव छैन भन्ने हो?
जातीय मात्रै त हामीले पनि भनेका छैनौं। जातीय र क्षेत्रीय भनेका छौं। सेती-महाकाली, कर्णाली जातीयभन्दा क्षेत्रीय हो। जातीय आधार पनि छ, भाषा-संस्कृतिको आधार पनि छ। उत्पीडनको अन्त्य गर्ने आधार मुख्य हो।
हामी कम्युनिस्टका दृष्टिमा संघीयता सदाकाललाई होइन। हुनु पनि हुँदैन। संसार नै एउटै हुनुपर्छ, मानवको एकै जाति हुनुपर्छ भन्ने सिद्धान्त भएकाले संघीयता बनाइराख्ने होइन। पुरानो राज्यद्वारा अपमान र भेदभाव गरेकालाई छिटछिटो अगाडि ल्याउन संघीयता चाहिएको हो, उनीहरू अघि आएपछि संघीयता चाहिँदैन।

शीर्ष नेतृत्ववीच कम संख्याको प्रदेश बनाउनुपर्छ भन्ने आन्तरिक सहमति भएको छ भन्ने पनि छ, अब चाहिँ पहिचानभन्दा सामर्थ्यलाई प्राथमिकता दिन थालिएको हो?
त्यस्तो पनि होइन। पहिलो, यो विषयमा दलबीच गोप्य सहमति भएको छैन। छलफल सुरु भएको मात्रै हो। बडो चुनौतीपूर्ण विषय भएकाले भावनामा बगेर पनि हुँदैन। नेपालमा सानो भूगोल र थोरै जनसंख्या भएर पनि भौगोलिक र जनसांख्यिक हिसाबले धेरै विविधिता छ। यो एकता कायम राखी पहिचान स्थापित गर्ने अनि विकास, आर्थिक समृद्धिलाई ध्यान दिएर प्रदेश निर्धारण गर्नुपर्छ भनेर गम्भीरतापूर्वक छलफलमा प्रवेश गरेको चरण हो।

६/७ वटा प्रदेश बनाउनुपर्छ भन्ने हिसाबले छलफल थाल्नुभएको छ भन्ने छ?
त्यसो त हाम्रो पार्टीको केन्द्रीय समितिमा जतिखेर १४ प्रदेशको प्रस्ताव ठीकै हुन्छ भनेर निर्णय लियौं, त्यतिबेला ६ वटा बनाउने कि भन्ने छलफल पनि चलेको थियो। समितिमा भएका साथीले त्यहाँ भएको छलफलको ब्रिफिङ गर्दा ६ वटामा जाने हो कि भनेर केन्द्रीय समिति एक किसिमको कन्भिन्स भएको हो। पछि पहिचान र अन्य समग्र पक्षलाई हेर्दा अहिले १४ प्रदेश नै ठीक छ भनेर निर्णय लिएका हौं। प्रदेशको संख्यामा केही घट्न पनि सकिन्छ, त्यसमा हामी रिजिड हुँदैनौं भनेर पार्टीले भन्दै आएको छ।

संघीयताको वास्तविक बहस हुन थालेपछि पार्टीभित्र विभिन्न ककस बलिया हुन थालेका छन् जसले पार्टीको नेतृत्व कमजोर हुँदै गएको हो?
यो गम्भीर विषय छ। यो विषयमा पार्टीभित्र छलफलमा आउने गरेको छ। पार्टीहरू कमजोर हुँदै जाने, अन्य समूह जसले सिंगो मुलुकको समग्र हितलाई भन्दा सानो समूहको हितलाई मात्रै हेर्न खोज्छन्, त्यो प्रवृत्ति हाबी भयो भने दुभार्ग्यपूर्ण हुन्छ। जनजाति, महिला सबैको समस्या हेर्ने पार्टीले हो। अहिले जनजाति, महिला ककस जस्ता संस्थाले एउटा अंशको हितमात्रै हेर्छन्। अंशको मात्रै हित हेर्दा समग्रको हित अप्ठयारोमा पर्छ। समग्रको हित अर्न्तगत अंशको हित हुनुपर्नेमा अंशको हितअनुसार समग्रको हित भन्नेले विरोधाभाष हुने गरेको छ।

संघीयताको सवालमा बहस हुँदा बाहुनक्षेत्री शोषक, अरू शाषित भन्ने प्रभाव छ नि? नेतृत्वमा तपाईंहरू बाहुनक्षेत्री नै बसेर यही कुरा भनिरहनुभएको छ?
उत्पीडनमा परेकाको मुक्तिका लागि नेतृत्व पनि शासक वर्गवाट विद्रोह गरेर आउने नेताहरूले नै गरेका छन्। यो मानिसको ईच्छाभन्दा विज्ञानको नियम हो। कार्ल मार्क्स, लेनिन, माओ सबै आफ्नो वर्गले अन्य समूहमाथि भएको थिचोमिचोविरुद्ध विद्रोह गरेर आएका हुन्। त्यही भएर उनीहरू नेता भए।
कुन विचार र कुन दर्शनले कुन वर्ग र कुन जनताको, कुन हिस्साको हित हेर्छ भन्ने महत्त्वपूर्ण हो। यहाँ बाहुनक्षेत्रीको जाति शाह, ठकुरी भनौं वा पूजापाठ गरेर आफ्नो संस्कृति धान्ने ब्राम्हण, क्षेत्री शासक जातिभित्रै परेको हो। शासनसत्ताको केन्द्रविन्दुमा उनीहरू लगातार रहिरहे। त्यसले अभिजात वर्ग जन्मायो, एउटा अहंकार स्थापित भयो।

म बाहुनक्षेत्री समुदायको भए पनि शासकवर्गको त्यो विचार र अहंकारविरुद्ध विद्रोह गरेर श्रमजीवीको विचारसँग गएँ। मलाई अलि बढी थाहा छ, ब्राह्मणले कसरी ठग्छन् भन्ने। त्यही भएर मैले पोल खोलिदिने भएँ। (हाँस्दै) किनभने अरू जातिलाई थाहै हुँदैन, कसरी ठग्छन् कसरी?
बाहुनक्षेत्रीमा पनि मजदुर र किसानको ठूलो बाहुल्य छ। बाहुनक्षेत्री वा आर्य खस एउटा जातीयता पनि हो। एउटा राष्ट्रियता पनि हो। त्यसैले उसलाई उच्च जाति हो भनेर सम्पूर्ण ब्राह्मण क्षेत्रीविरोधी कुरा गर्‍यौं भने त्यो विज्ञानविरोधी हुन्छ। राष्ट्रहीत विपरित पनि हुन्छ। त्यसकारण मैले उपसमितिको बैठकमा बाहुनक्षेत्रीलाई अन्यमा राखेको मिलेको छैन भनेर प्रस्ताव राखेको थिएँ। अरू पनि सहमत छन्। मैलै संवैधानिक समितिमा पनि ब्राह्मण क्षेत्रीलाई खस आर्य जाति भनेर राख्नुपर्छ, यसको संख्या ठूलो छ, उनीहरूको पहिचान र अधिकार कुन्ठित गरियो भने राष्ट्रिय एकता कुन्ठित हुन्छ भनेर मैले गम्भीर हिसाबले राखेको छु।

कतिपय ठाउँमा नछुने जाति बाहुन पो हुन्छ कि भनेर भन्ने गरेको छु। (हाँस्दै) गुरुङ, मगर बाहिर जाने, पैसा कमाएर ल्याउने भए। त्यसमा ब्राम्हण, त्यसमा पनि महिलाहरू, खुट्टामा चप्पल पनि नलगाउने, मैलाधैला, साडी पनि घुँडासम्म आउने गरेर थोत्रामैला कपडा लगाएर तरकारी किन्छौं भन्दै आउँदा दोकानमा बसेका राई, लिम्बु, गुरुङले उता बस भन्ने भए। नजिक आउदा गन्हाउँछ भनेर। त्यस्ता पनि बाहुन छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग तिलक पाठक र उजिर मगरले गरेको कुराकानी :नागरिक दैनिकबाट साभार

जातीय स्वशासन भनेको अन्य जातिहरुको अधिकार खोस्ने भन्ने होईन

– माननीय सभासद किरण तमु, ने.क.पा.(एमाले)

संविधान निर्माण प्रक्रियामा यहाँको भूमिका कस्तो रह्यो, छोटकरीमा यहाँको अनुभूति बताईदिनुहोस् न ?
संविधान निर्माण भनेको व्यक्तिगत भन्दा पनि सामुहिक भूमिकानै रहने हो सभासदहरुको । त्यसमा दलगत भूमिकाबाटनै संविधान निर्माणको लागि सवै सभासदहरुले प्रतिनिधित्व गर्ने गर्छन् । र त्यसै आधारमा मैलेपनि सामुहिक ढङ्गले पार्टीको विचारअनुसार, निर्णय अनुसार त्यसलाई संविधान सभामा प्रतिनिधित्व गर्ने काम मैले गरेको छु । त्यसका साथसाथै मैले संविधान निर्माण गर्नको लागि पार्टीभित्र र बाहिर विभिन्न ढङ्गले, ठिक ढङ्गले जनताको हितमा, हामी आदिवासी जनजाति भएको कारणले आदिवासी जनजातिको पक्षमा संविधान लेख्नको लागि आफ्नै दलभित्रपनि त्यस अनुसार निर्णय गराउनको लागि आफ्नो ठाउँबाट मैले राम्रै भूमिका खेलेको छु ।
संविधान सभाबाट कस्तो संविधान बन्दैछ ? छोटकरीमा बताईदिनुस न ।
अहिले संविधान जनताकै पक्षमा बन्दैछ ।  आदिवासी जनजाति, दलित, महिला, पिछडिएको वर्ग, समुदाय सवैको प्रतिनिधित्व गर्ने गरी लोकतान्त्रिक गणतान्त्रिक संविधान बन्छ । अहिले संविधान सभाभित्र रहेका समितिहरुले आफ्ना प्रारम्भिक प्रतिवेदन संविधान सभामा पेश गरिसकेको छ । त्यसलाई आधारमान्ने हो भने नेपालको निम्ति यो संविधान सवभन्दा राम्रो,  लोकतान्त्रिक,  गणतान्त्रिक, हिजोका आन्दोलनहरुको उपलब्धीहरुलाई संस्थागत गर्ने, सम्पूर्ण जनताको, सवै वर्ग, तह, सम्पूर्ण जाति, क्षेत्रको प्रतिनिधित्व हुने खालको संविधानचाँही बन्छ ।
उत्पीडित आदिवासी जनजातिको पहिचानसहितको संघीय राज्य किन आवश्यक छ ?
हाम्रो देशकोलागि यो विशिष्ट अवस्था हो । हाम्रो देशमा विभिन्न पहिचान बोकेका जाति समुहहरु छन्, भाषिक समुहहरु छन्, क्षेत्रहरु छन्, त्यसले गर्दाखेरी त्यसकोनै प्रतिनिधित्व गर्ने गरी हामीले पहिचानसहितको अधिकार भएको, सुशासन भएको, जुनचाँही केन्द्रीकृत होईन कि जनताले नै शासन गर्ने खालको संघीय ढाँचामा जानुपर्छ भनेर हामीले भनेका हौं । जुन नेपालको सन्दर्भमा अति आवश्यक छ । ति जातिहरु, जनजातिहरु, आदिवासीहरु, भाषिक समुदायहरुलाई पहिचान दिन सकेमामात्रै हाम्रो संविधानले पूर्णता प्राप्त गर्छ र त्यो पूर्णरुपमा लोकतान्त्रिक संविधान बन्छ भन्ने हामीलाई लागेको छ । र सम्पूर्ण ति जनताका अधिकारहरुलाई सुनिश्चित गर्नचाँही सक्छौं । यो भन्दा राम्रो विकल्प अर्को छ जस्तो मलाईचाँही लाग्दैन ।
तमुवान स्वायक्त गणराज्य र तमु जातिको अधिकारबारे बताईदिनुस न ?
तमुहरु भनेको यो आफैमा एउटा जाति समुह हो, जनजाति हो, आदिवासी हो । यसले गर्दाखेरी यसको छुट्टै पहिचान छ । हिजो यो आफैमा स्वतन्त्र खालको, स्वयत्त हिसाबले तमुहरु गण्डकी क्षेत्रमा रहेका थिए । त्यसैले गर्दा खेरी तमुहरुले पहिचान सहित त्यो क्षेत्रमा आफैले शासन गर्ने खालको व्यवस्था हुनुपर्छ र त्यो राज्य तमुहरुको हुनुपर्छ । र त्यसका निम्ति हामीले अहिलेको संविधानमा तमुवान स्वायत्त राज्य, तमुवान स्वायत्त प्रदेश सहमतिको आधारमा हुनुपर्दछ र त्यसले मात्रै तमुहरुको अस्तित्वलाई, तमुहरुको जुन पहिचान छ, त्यो पहिचानलाई हामी कायम राख्न सक्छौं । र तमुवान भन्ने जुन पहिचान हो त्यो पहिचानलाई कायम गर्नुपर्छ । तमुहरुको भाषा, संस्कृति जो नेपालको निम्ति मात्रै हैन विश्वकै निम्ति एउटा महत्वपूर्ण अंग हो र त्यो एउटा महत्वपूर्ण सम्पत्ति हो, त्यो सम्पत्तिको संरक्षण हुनु जरुरी छ । उनीहरुलाई त्यही रुपमा अधिकारसम्पन्न गरेर स्वशासनको अधिकार दिएर अगाडि बढाउनुपर्छ भन्ने हामीलाई लागेको छ र त्यसको निम्ति हामी प्रतिबद्ध छौं ।
तमुवान स्वायत्त गणराज्य स्थापनाका चुनौतिहरु के के हुन ?
यसका चुनौतिहरु धेरै छन् । मुख्यकुरा संविधान निर्माण गर्नुप¥यो । मुख्यकुरा संविधानमा त संघीयताको विषयमा आम सहमति भएको छ । जातीय पहिचानको कुरालाई लिएर अन्य क्षेत्रबाट विरोधहरु भईरहेको छ । उनीहरुले जातीय राज्य हुनुहुन्न, जातीय पहिचान हुनुहुन्न भनेर भनिरहेका छन्, यो तमुवानको सवालमामात्र नभई जुन हामीले अन्य विभिन्न जातीय पहिचानको आधारमा राज्य हुनुपर्छ भनेर भनिरहेका छौं ।  संविधान सभाबाट प्रस्ताव गरिएका १४ वटा राज्यमध्ये ८ वटा राज्यहरु जातीय पहिचानको आधारमा निर्माण गरिएको छ, प्रदेशहरु विभाजनको खाका संविधान सभामा पेश गरिएको छ । जातीय पहिचान सहितको राज्य÷प्रदेश बनाउन नचाहने मान्छेहरुले, तत्वहरुले वा संविधान निर्माण गर्न नचाहने शक्तिहरुले यसको विरोध गर्दै आएका छन् । यसै सन्दर्भमा तमुवान राज्य निर्माण गर्ने कार्यपनि एउटा चुनौतिपूर्ण कार्य नै हो  । त्यसमा खासगरेर तमुवान भनेर गण्डकी प्रसवन क्षेत्रलाई पूर्वमा बुढीगण्डकीदेखि पश्चिममा कालीगण्डकी र उत्तरमा मनासलुको काँखमा रहेको यो क्षेत्रलाई भनिन्छ । तर कालान्तरदेखि अहिलेसम्म आउँदाखेरी आप्रवासनको समस्याको कारणले गर्दाखेरी हामी यहि क्षेत्रमा अल्पसंख्यामा छौं । अहिले तमुवान निर्माण गर्दाखेरी क्लस्टरको हिसावले  जहाँ एउटा ईकाई बनाईएको छ, ईकाई भन्नाले गा.वि.स.लाई एउटा ईकाई बनाईएको छ, जुन गा.वि.स.मा तमुहरुकोे बाहुल्यता भएको र आपसमा जोडिएका त्यस्ता क्लस्टरहरुलाई लिएर तमुवान प्रदेश भनेर छुट्याईएको छ । यसरी छुट्याउदा तमुवान प्रदेशमा लमजुङको केही भाग पर्दैन, कास्कीको केही भाग पर्दैन, गोरखाका केही भाग पर्दैन र लमजुङको केही भाग, कास्कीको केही भाग, गोरखाको केही भाग, तनहूँको केही भाग, मनाङ र मुस्ताङलाई मात्रै तमुवान भनिएको छ । त्यसले गर्दा हिजो हाम्रो गुरुङहरुको जुन ऐतिहासिक थलोहरु हो, ति धेरै थलोहरु, क्षेत्रहरु छोडिएका छन् । त्यसलाई कसरी समावेश गर्ने हो त्योचाँही एउटा चुनौतिपूर्ण नै छ । खासगरेर जनसंख्याको तथ्यांक अनुसारपनि धेरै ठाउँमा हामी अल्पमतमा परिसकेका छौं, त्यसलाई कसरी तमुवानमा समावेश गर्ने हो भन्ने कुरा ठूलो चुनौतिको विषय बनेको छ, छलफल विषय बनेको छ, भन्ने मलाई लाग्छ ।
तमुवान स्वायक्त गणराज्यमा अन्य जातिको स्थान तथा अधिकारहरु के कस्तो रहने छ ?
अरु सवै जात, जातिको अधिकार सुरक्षित नै हुन्छ । जातीय स्वयत्त प्रदेश भनको, जातीय स्वशासन भनेको अन्य जातिहरुको अधिकार खोस्ने भन्ने होईन, उनीहरुमाथि शासन गर्ने भनेको होईन, यो स्वशासन भनेको आफुले आफैंमाथि शासन गर्ने भन्ने हो । अहिले जुन जातीय स्वशासनको कुरा आईरहेको छ, स्वायत्त शासनको कुरा आईरहेको छ । यो मूलतः हामीले हाम्रो क्षेत्रमा हाम्रो बारेमा हामीले नै निर्णय गर्न पाउनुपर्छ, अरुले निर्णय गर्ने होईन भन्ने मात्रै नै हो । त्यसले गर्दाखेरी यस क्षेत्रमा रहने अन्य जातजातिहरुको अधिकार हनन हुदैन, उनीहरुको अधिकारको सम्मान हुन्छ, उनीहरुलेपनि आफ्नो बारेमा सोच्न पाउँछन्, उनीहरुकोपनि अधिकार सुनिश्चित हुन्छ । उनीहरुको अधिकार कुण्ठित हुने, उनीहरुमाथि हामीले शासन गर्ने भन्ने कुराचाँही गलत कुरा हो । अहिले जातीय पहिचानको आधारमा बन्ने जुन राज्य विरोध गरीरहेका छन्, र उनीहरुले उठाउने अनावश्यक खालका तर्कहरु कुतर्कमात्र हुन् भन्ने मलाई लाग्छ । सवै जातजातिहरु, जुन क्षेत्रमा जुनसुकै स्वायत्त प्रदेशमा या जातीय पहिचानको आधारमा होस् या जुनसुकै ठाँउको होस् त्यो क्षेत्रमा जुन अधिकार पाउँछन् अन्य जातजातिहरुले र त्यस्तै खालको अधिकार एउटा जातीय पहिचान बोकेको  स्वायत्त राज्यमापनि पाउँछन् । जस्तो अहिले नारायणी राज्य भनेर बनाईएको छ, त्यसलाई मिश्रित राज्य भनेर भनिएको छ, त्यसैगरी सुनकोशी भनेर बनाईएको छ, त्यस्तैगरी पश्चिमतिर त्यस्ता खालका राज्यहरु बनाईएका छन्, ति राज्यका जनताहरुले जस्ता खालका अधिकार पाउँछन्, त्यस्तै खालको अधिकार विभिन्न पहिचानसहितका राज्यहरुमा पनि उनीहरुले पाउँछन् ।

अन्त्यमा, ‘तमु ह्युल’ मार्फत आम जनसमुदायलाई के शन्देश दिन चाहनुहुन्छ ?
हामी सवैको मुख्य कार्यभार शान्ति प्रक्रियालाई टुङ्गो लगाउनु र संविधान निर्माण गर्नु नै हो । जबसम्म हामीले शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सक्दैनौं, संविधान निर्माण गर्न सक्दैनौं, तवसम्म हिजोसम्म हामीले गरेका आन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्न सक्दैनौं । त्यसैले जनताको अधिकारको लागि हामीले लडेर, रगत बगाएर,  हजारौं हजार शहीदहरुलाई गुमाएर हामीले प्राप्त गरेको जुन उपलब्धी छ, त्यो उपलब्धीलाई संस्थागत गर्न जरुरी छ । त्यो संस्थागत गर्ने एउटा माध्यम भनेकै संविधान निर्माण गर्नु हो । त्यसैले यसमा सवैले सकारात्मक सोंचका साथ, एउटा राष्ट्रिय सहमति बनाउने सोंचकासाथ हामी अगाडि बढ्नुपर्छ र अहिलेको संविधान सभामार्फत नै त्यो संविधान बन्नु पर्छ र अहिलेको संविधान सभाबाट संविधान नबनाउने र अर्कै ढङ्गले हामीले संविधान बनाउने प्रयत्न ग¥यौं भने त्यो संविधान जनताको संविधान हुदैन, त्यो संविधान जतिसुकै लोकतान्त्रिक संविधान भनेपनि, राम्रो संविधान भनेपनि सवै क्षेत्र,वर्गका जनताहरुले त्यो संविधानमा अपनत्व पाउन सक्दैन, त्यसले गर्दाखेरी हामीले यही संविधान सभा जुन सवै जातिको प्रतिनिधित्वको हिसाबले, सवै वर्गको प्रतिनिधित्वको हिसाबले, लिङ्गको प्रतिनिधित्वको हिसाबले, क्षेत्रको प्रतिनिधित्वको  हिसाबले विश्वकै एउटा नमुना र गर्व गर्नलायक को एउटा संविधान सभा हामीले निर्माण गरेका छौं, सवै जनताहरुले आफ्नो प्रतिनिधि बनाएर पठाएको कारणले त्यही संविधान सभाबाट हामीले संविधान निर्माण गर्नूपर्छ । यही संविधान सभाबाट संविधान बनाउनको लागि सवैले सरसहयोग गर्नुहुनेछ, सवैले यसलाई ध्वंसात्मक ढङ्गले होईन सकारात्मक ढङ्गले सहयोग गर्नुहुनेछ भन्ने मैले विश्वास व्यक्त गर्दछु ।
- (तमु ह्युल त्रैमासिक, वर्ष ४ अंक २ बाट साभार)

उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका समुदायहरुको मुक्ति सुनिश्चित हुने नयाँ संविधान बनाएर जनतामाझ जान्छौं

–माननीय सभासद लक्ष्मी तमु, ए.ने.क.पा.(माओवादी)

– संविधान सभाको समय सिमा पटक पटक थपिएको छ, पछिल्लो थपिएको समयमा संविधान बन्ने सुनिश्चित छ, कि छैन ?
पटक पटक संविधान सभाको म्याद थप्दा पनि संविधान जारी गर्न नसक्नु आम नेपाली जनतामा राजनीतिक दलहरुको कमजोरी हो भन्ने बुझेका छन् । र संविधान सभाको निर्वाचनको समयमा राजनैतिक दलहरुले उठाएका एजेण्डाहरु र जनताको भावनालाई राजनीतिक दलहरुले पुरा गर्न नसकेको सर्वविदितै छ । अहिले संविधान सभाले गरेका यावत कामहरुलाई बुझ्ने कोसिस गरेमा यही समयमा त नभनौं, यो समयसिमामा केही कामहरु गर्ने र त्यसलाई पूर्णता दिन  केही समय थपेर संविधान सभामार्फत जनतामा नयाँ संविधान दिन सकिने मलाई आशा छ । थपिएको समयमा राजनीतिक सहमति गर्ने, सहमतिद्धारा अल्झिएका विवादका विषयहरु हल गर्ने र त्यो भईसकेपछि बाँकी रहेका विषयहरुलाई पूर्णता दिएर नयाँ संविधान जारी गर्न सकिन्छ भन्ने मलाई मात्र नभएर संविधान सभालाईनै लागेको छ ।
– संविधान निर्माण प्रक्रियामा यहाँको भूमिका कस्तो रह्यो, छोटकरीमा यहाँको अनुभूति बताईदिनुहोस् न ?
संविधान सभाको बनावट हेर्ने हो भने हामी सुन्दर पाउँछौं किनभने उत्पीडित, जाति, क्षेत्र, लिङ्ग, वर्ग, धार्मिक समुदायको सापेक्षिक समावेशीकरण संविधान सभामा भएको छ । संविधान सभामा सम्पूर्ण सभासदहरुले आ–आफ्ना वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय, सांस्कृतिक, आर्थिक, सामाजिक, राजनीतिक एजेण्डाहरु दर्ज गराएका छन् । म पनि एउटा उत्पीडित आदिवासी, जनजातिको नेतृत्व गरी आएको, समाजको दोस्रो दर्जाको नागरिकको रुपमा चिनिएको महिला समुदाय, किसान समुदायबाट नेतृत्व गरी आएको  नाताले र क्रान्तिबाट नेपाली जनताको मुक्ति सम्भव छ भनि क्रान्तिमा सहभागी भई आएको नाताले मेरो भूमिका सम्पूर्ण आदिवासी जनजातिलाई क्षतिपूर्तिसहितको अग्राधिकार ग्यारेण्टी गर्ने कुरा, सम्पूर्ण महिलाहरुलाई विशेषाधिकारको ग्यारेण्टी गर्ने कुरामा हुनेछ र भईरहेको छ । साथै मुलुकलाई वस्तुगत धरातलमा टेकेर संघीय राज्य बनाउनु पर्छ र त्यो भनेको माओवादी पार्टीले प्रस्तुत गरको राज्यको पुनर्संरचनाको खाका हो र यी विषयवस्तुहरुलाई नयाँ संविधानमा लेखिनुपर्छ भनेर पनि मेरो ठाउँबाट राख्दै आएकी छु । संविधान सभाको म रहेको, उपस्थित भएको विषयगत समिति नागरिकसम्बन्ध समिति हो । यस समितिले संविधान सभाको १० वटा विषयगत समितिको अनुगमन गर्न पाउने, त्यसको व्यवस्थापन गर्न पाउने र विशेष समितिको पनि अनुगमन गर्न पाउने र आम जनताको सल्लाह सुझावलाई त्यही ढङ्गले व्यवस्थित गर्ने, अगाडि बढाउने गरिरहेको छ । यस समितिले संविधान सभाको संवाददाताको जस्तै भूमिका निर्वाह गर्दछ । त्यस समितिमा पनि मैले क्रियाशिल भूमिका निभाएकी छु । उत्पीडित जाति, लिङ्ग, क्षेत्र र वर्गका मुक्तिका कुराहरु नयाँ संविधानमा समेटेमा मात्र हामीले नयाँ प्रगतिशिल संविधान बनाएर जनतामाझ पु¥याउनसक्छौं भनेर मैले संविधान सभामा जोड दिदै आएकी छु । मेरो अनुभूति भन्नुपर्दा जुन उद्देश्य राखेर हामीले १० वर्षे जनयुद्ध गरेका थियौं, जे चाहेर संविधान सभाको कुरा उठाएका थियौं, ति कुराहरुलाई, जनताको कुराहरुलाई नयाँ संविधानमा लिपिबद्ध गर्न हाम्रो मातृ पार्टी ए.ने.क.पा.(माओवादी) को महत्वपूर्ण भूमिका रहेको छ र मेरो पनि भूमिका त्यही भूमिका रहेको महसुस भएको छ ।
– संविधान सभाबाट कस्तो संविधान बन्दैछ ? छोटकरीमा बताईदिनुस न ।
आम नेपाली जनतालाई प्रष्ट पार्नुपर्दाखेरी हामी संविधान सभाबाट जनताको जनमैत्री संविधान जुन संविधान जनताले चाहेको जस्तो होस्, जुन २०४७ सालको जस्तो पुरानो संविधान होईन, जनताको संविधान बनाउन चाहन्छौं । यो संविधान सभामा हाम्रो पार्टी एकीकृत (माओवादी)को मात्र उपस्थिति नभएको र यसमा हिजोका राजावादी, संसदवादी परिवर्तन नरुचाउने, आम नेपाली जनताको मुक्ति भन्दापनि आफ्नो व्यक्तिगत स्वार्थको लागिमात्रै लड्नेहरुकोपनि संविधान सभा भएकोले हामीले चाहे जस्तो, हामीले हिजो युद्धकालमा, संविधान सभाको एजेण्डा उठाउँदाको बेलाको जस्तो संविधान संविधान सभाबाट बनेर आउने देखिदैन । तैपनि हामीले यहाँ ठूलो संघर्ष गरी रहेका छौं । हामीले मुख्य गरी नेपाललाई संघीय संरचनामा लानुपर्छ, त्यो नै नेपालको विकासको वैज्ञानिक विधि हो भनिराखेका छौं । संघीय संरचना सवै जनताको एजेण्डा भएकाले काङ्ग्रेस, एमाले र अन्य पार्टीहरु यसलाई बाहीरीरुपमामात्र स्वीकार्न बाध्य भएका छन् । उनीहरु संघीय संरचना भित्रीरुपबाटै जान चाहेका छैनन् । त्यसैगरी शासकीय स्वरुप र निर्वाचन प्रणालीको विषयमा पनि हामीले जनताले चाहेको जस्तो र नेपाली जनतालाई सुहाउने खालको व्यवस्था गर्न चाहेका छौं तर उनीहरुले त्यो कुराहरु चाहेका छैनन् । अब बन्ने संविधान सहमतिमा बनेर आउने भएकाले  संविधान सभामा राम्रा, नराम्रा सवैको उपस्थिति भएको कारण जनताले चाहेको जस्तो संविधान बनाउन जटिल छ । तर पनि हामीले उठाएका एजेण्डाहरुमध्ये सत्तरी प्रतिशत नयाँ संविधानमा समावेश गरेर ल्याउन सकिन्छ भन्ने आशा छ ।
– उत्पीडित आदिवासी जनजातिको पहिचानसहितको संघीय राज्य किन आवश्यक छ ?
यो अहिलेको वस्तुगत स्थिति हो, आवश्यकता हो र राज्यले पहिचान गरेर आम नेपाली को चाहनालाई स्वीकार्ने कुरा पनि हो । त्यसकारणले यसको आवश्यकता छ । आदिवासी जनजातिहरुको पहिचान, अस्तित्व र विगत ईतिहासलाई हेरेर राज्यको पुनर्संरचना गर्नुपर्दछ, त्यसो गरीएन भने आदिवासी जनजातिलाई न्याय हुदैन । राज्यको जनसंख्याको सवैभन्दा ठूलो हिस्सा आदिवासी जनजाति रहेको र अस्तित्वको आधारले हेर्दा हामी आदिवासी जनजातिहरुको  हिजो गणराज्यहरु थियो त्यसकारणले हिजो गणराज्य भएका हामी आदिवासी जनजातिहरुलाई राज्यसत्तामा पुनर्वाहाली गर्न सकिएन नेपालको विकासपनि हुन सक्दैन र आम आदिवासी जनजातिलाई न्याय पनि हुदैन । नेपालका आदिवासी जनजातिको न्यायको लागि र नेपालको समग्र उन्नति र प्रगतिको लागि संघीय संरचनामा जानु आवश्यक छ । आदिवासी जनजातिहरुको वर्षौंदेखिको मुक्तिको अभियान, संघर्षको नारा अनुसार र हाम्रो पार्टीले प्रस्ताव गरेको संघीय संरचनामा गएमा मात्र आदिवासी जनजातिको न्याय र यो राष्ट्रको विकास हुन्छ ।
– तमुवान स्वायत्त गणराज्य र तमु जातिको अधिकारबारे बताईदिनुस न ?
तमु जातिको विगतको इतिहास, सामाजिक पहिचान र तमु जातिले विगतमा आफ्नो अधिकारको लागि गर्दै आएको संघर्ष आदिलाई हेर्दा, समिक्षा गर्दा तमुवान अनिवार्य छ । आम तमुहरुको मुक्ति, आम तमु जातिको उत्थान, विकास, प्रगतिको लागि तमुवान अनिवार्य छ । तमुवान विना त्यो सम्भव छैन, यदि हुन्थ्यो भने २४० वर्षे निरङ्कुश सामन्ति केन्द्रीकृत शासन व्यवस्थाको समयमापनि हुन्थ्यो । त्यसकारण इतिहास साक्षी छ, तमुवान नभएकै कारण, तमु जातिको राज्य सत्तामा पहुच नभएकै कारण पछाडि परेको हो, अन्य जातिको तुलनामा केही तमुहरु आर्थिकरुपमा सम्पन्न हुनसक्छ । तर राज्यसत्ताको उत्पीडन र विभेदले तमु जाति अधिकार विहीन बन्न पुगेको छ । सवैभन्दा मुख्य विषयवस्तु भनेको राजनीति हो, राज्यसत्ता हो । त्यसकारण राजनीति र राज्यसत्ता बाहेक सवै कुराहरु भ्रम हुन । त्यसकारण तमु जातिको राजनीतिक अधिकार र राज्यसत्ता प्राप्तिको लागि तमुवान आवश्यक छ । तमु जातिले तमुवान विना उनीहरुले राज्यबाट पाउनुपर्ने सवै अधिकार प्राप्त गर्न, लिनपनि सकिन्न र अनुभूति गर्न पनि सकिन्न । र अर्को कुरा हाम्रो पार्टीले तमुवान राज्यको घोषणा ग¥यो, त्यसले आम तमुहरुमा हामीले तमुवान प्राप्त पछि हाम्रो भाषा, धर्म, संस्कार, संस्कृतिको रक्षाका राजनीतिलाई पनि सही ढङ्गले अगाढि बढाउन सक्यौं भने आम तमुहरुको मुक्ति सम्भव छ भन्ने आत्मविश्वास पैदा भएको छ । नेपाली काङ्ग्रेस, एमाले र अन्य पार्टीमा लागेका तमुहरुलेपनि तमुवानलाई अस्विकार गर्दैनन तर उनीहरुलाई तमुवान प्राप्त गर्ने राजनीतिक एजेण्डा के हो, तमुवान प्राप्त गरेपछाडि भोलिका दिनमा तमुवानलाई व्यवस्थापन गर्ने विषयवस्तुहरु के हो र तमुवान प्राप्त गर्नकै लागि पनि संघर्ष के हो भन्ने कुरामा दुविधा भईरहेको देखिएको छ । अहिले हाम्रो पार्टी र तमु राष्ट्रिय मुक्ति मोर्चामा आवद्ध तमुहरु, साथै आम परिवर्तनकामी तमुहरुले आगामी दिनको राजनीतिक प्रणाली, राज्यव्यवस्था, सुशासनलगायत त्यहाँभित्र पाईने सवै सुविधाहरु कसरी अगाडि लिएर जान सकिन्छ, प्राप्त गर्न सकिन्छ भन्ने विषयमा सचेत पहल गरिरहेको पाईएको छ । तमुवान विना तमु जातिको वास्तविक मुक्ति सम्भव छैन, मुक्ति प्राप्तिको अभियानमा, तमुवान प्राप्तिको वास्तविक एजेण्डा पछाडि आम तमुहरु लागेन भने तमुवान प्राप्त हुन सक्छ भनेर ग्यारेण्टी गर्न सकिदैन । त्यसकारण आफ्नो मुक्तिको लागि तमुवान प्राप्तिको लागि सवै तमुहरु एकताबद्ध भएर संघर्ष गर्नु जरुर छ ।
– तमुवान स्वायत्त गणराज्य स्थापनाका चुनौतिहरु के के हुन ?
तमुवान स्थापना गर्नको लागि सैद्धान्तिक, राजनैतिक÷वैचारिक विषयवस्तुहरु धेरै छन् । राजनीतिक, प्राविधिक विषयवस्तुहरुमा हेर्ने हो भने सम्पूर्ण तमुहरु एकजुट भएर संघर्ष गर्नुको विकल्प छैन । तमुवानबारे एकीकृत माओवादी वाहेकका दलहरुमा अस्पष्ट भिजन छ । काङ्ग्रेसको राजनीतिक एजेण्डा, भिजन, उद्देश्य अर्कै छ, एमालेकोपनि राजनीतिक एजेण्डा र उद्देश्य अर्कै छ । त्यहाँ आवद्ध हुने तमुहरुले तमुवान प्राप्त गर्लान भन्ने लाग्दैन । सामाजिक ढङ्गबाट बनेका संघ, संस्थाले गरेका आन्दोलनहरु राजनीतिक उद्देश्यभन्दा बाहिर छ भने त्यसले पनि तमुवान प्राप्त गर्ला भन्ने विश्वास लाग्दैन । किनभने अहिलेसम्मको उत्पीडन हेर्ने हो भनेपनि राजनीतिक हिसावले छ । त्यसकारण सामाजिक संघसंस्था, धार्मिक संघसंस्थाहरुले तमुवानको लागि आवाज त उठाएका छन् तर त्यो कहाँनिर बलियो छैन भने  परिष्कृत एजेण्डा उठाएको राजनीतिक पार्टीको भिजनलाई नस्वीकार्दा सम्म त्यो बाट पनि प्राप्त हुन सक्ने सम्भावना छैन । तमुवान प्राप्तिको लागि राजनीतिक चुनौतिहरु, सामाजिक चुनौतिहरु, सकारात्मक चुनौतिहरु थुप्रै छन्, अन्य जातीयहरुले तमुवान नस्वीकारी राखेको अवस्थामा जातीय चुनौतिपनि ठूलै छ । त्यसैले यी चुनौतिहरुको क्रस गर्नको लागि आम तमुहरु एक ठाउँमा उभिनुपर्छ र प्रगतिशिल राजनीतिक पार्टीको भिजनलाई समर्थन गर्नुपर्छ भन्ने लाग्छ ।
– तमुवान स्वायत्त गणराज्यमा अन्य जातिको स्थान तथा अधिकारहरु के कस्तो रहने छ ?
हामी कम्यनिष्ट भएको नाताले तमुवान प्राप्त भएपछाडि, राज्यसत्ता प्राप्त भएपछाडि शासन गर्नेले अरुलाई शाषित गर्र्नेे भन्ने हुदैन । नेतृत्व गर्नेले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । नेतृत्वले फेरी आपूmभन्दा तलाकालाई उत्पीडनमा पार्ने, अन्याय गर्ने, न्यायको अनुभूति दिलाउन नसकेमा त्यसलाई नेतृत्वको कमजोरी भन्नुपर्छ र तमुवान प्राप्त भएपछि अरु जातिहरुलेपनि तमुसरह अधिकार पाउनुपर्छ भन्ने हो । तमुवान प्राप्त गर्ने भनेको तमु जातिले मात्र अधिकार पाउने भन्ने होइन, तमुवानमा बसोबास गर्ने सम्पूर्ण जातजातिहरुलेपनि हामीपनि तमु सोसरह हो, हामीलेपनि तमुसरह न्याय पाएका छौं, सेवासुविधाहरु पाएका छौं र अधिकार  पाएका छौं भन्ने अनुभूति दिलाउनु हो । हामी कम्युनिष्ट भएको नाताले के कुरा बुझ्नुपर्छ भने अधिकार पाईसकेपछि अधिकारको सही ढङ्गले सदुपयोग गर्नुपर्दछ । यदि तमु जातिले अधिकारको सहि तरिकाले सदुपयोग गर्न सकेने भने, अरु जातीहरुलाई न्यायको अनुभूति दिलाउन सकेन, तमु जाति राज्यसत्ताबाट विस्थापित हुने र अन्य जाति स्थापित हुन जान्छ र फेरी तमु जाति उत्पीडनमा पर्न सक्छ ।  तमुवान प्राप्त भएपछाडि तमु जाति जातीय अहङ्कारवादबाट मुक्त हुनुपर्छ र यहाँ रहेका अन्य जातजातिहरुलेपनि स्थानीय अहंकारवादबाट मुक्त हुनुपर्दछ । र तमुवान हामी सवै जातजातिको साझा राज्य हो भन्ने भावनाको विकास गर्नुपर्छ । तमुवान भनेको तमु जातिको जातीय राज्य नभईकन राष्ट्रियता हो । राष्ट्रियता भएको कारण प्रमुख जातिको अस्तित्वमात्र हैन सवै जातिको अस्तित्वलाई सवैले स्वीकार्नुपर्छ । राज्यलेपनि त्यो व्यवस्था गर्नुपर्छ, कानुनमापनि त्यो व्यवस्था गर्नुपर्छ । त्यस भयो भने सवैको मुक्तिको अनुभूति हुन सक्छ ।
– अन्त्यमा, ‘तमु ह्युल’ मार्फत आम जनसमुदायलाई के शन्देश दिन चाहनुहुन्छ ?
तमु ह्युलमार्फत आम नेपाली जनसमुदाय र विशेषगरी आदिवासी जनजाति, तमु समुदाय सवैलाई हामी तपाईहरुकै प्रतिनिधित्व गरेर नयाँ संविधान बनाउन आएको अनुभूति हामीले गराउनसक्नुपर्छ । आम नेपाली जनसमुदाय तथा तमु समुदायलाई अब बन्ने संविधान जनमुखी संविधान हुनेछ, अब बन्ने संविधान आदिवासी जनजाति, दलित, महिला, मधेसी, सिमान्तकृत, अल्पसंख्यक समुदायको पक्षमा हुनेछ, नेपाललाई दिगो शान्ति, उन्नति, प्रगतिको बाटोमा अघि बढाउन हाम्रो पार्टी र हामी भरपुरमात्रामा कोशिस गर्नेछौं । यदि त्यसो गर्दै गर्दापनि हामीले चाहेको जस्तो संविधान बनेर नआउने सम्भावना भयो भने हामी संघर्षको झण्डा उठाउने छौं र आम जनसमुदायले पछाडिबाट हामीलाई खवरदारी गर्नुहुनेछ भन्ने म आशा राख्दछु ।
–(तमु ह्युल त्रैमासिक,वर्ष ४ अंक २ बाट साभार)