– अमर तमु
विषय प्रवेश ः समसामयिक परिस्थिति
मुलुकमा संक्रमणकाल लम्बिदै जादा राजनीतिक स्थिति झन् संकटको गहिराईतिर जादैछ । जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरु खोसिने हुन् कि भन्ने संत्रास व्याप्त छ । समयमै संविधान बनाउन नसक्दा राजनीतिक दल, नेताहरु, सभासद्हरुप्रति सर्वव्यापी आशंका र अविश्वास बढीरहेको छ र जनसमुदायमा निराशा छाईरहेको छ ।
संविधान सभा निर्वाचनपछि बैदेशिक शक्तिकेन्द्रहरुको चलखेल र हस्तक्षेप ह्वात्तै बढ्यो । संविधान सभाको जनमत माओवादी क्रान्तिकारीहरुको पक्षमा हुनुले पनि देशीविदेशी प्रतिक्रियावादीहरु आतंकित बन्न पुग्यो र मुलुकमा अस्थिरता खडा भै क्रान्तिकारीहरुलाई घेराबन्दी गर्ने जस्ता षडयन्त्रहरु बढ्न थाल्यो । पछिल्लो कालमा राष्ट्रपति प्रकरण हुदै प्रधानमन्त्रि निर्वाचनसम्म आईपुग्दा बैदेशिक शक्ति, खासगरी भारतीय विस्तारवादी शाषकवर्गको राजनैतिक हस्तक्षेप नाङ्गो भएर आएको कुरा घाम जस्तै छर्लङ्ग छ । यसरी मुलुकको राष्ट्रिय स्वाधिनताको रक्षाको प्रश्नपनि ज्वलन्त बनेको छ ।
मुलुकमा राजनैतिक गत्यावरोध बन्नुमा खासगरीकन दुई विपरित वर्ग र राजनैतिक पक्षधरतको विचको संघर्षले गर्दा हो । विगतमा संविधान सभा र गणतन्त्र स्थापना गर्दा संसदवादी पुँजीवादीहरुसँग एकता थियो र जुन १२ बुँदे सम्झौताबाट अघि बढेको थियो । मुलुकमा गणतन्त्र स्थापना भएपछि संसदवादी पुँजीवादीहरुले संविधान, शान्ति र सरकारलाई आफ्नो वुर्जुवा दृष्टिकोण अनुसार अघि बढाउन खोजे जुन माओवादी क्रान्तिकारीहरु र अन्य परिवर्तनकामी राष्ट्रवादीहरुलाई सह्य हुने कुरा भएन । खासगरी संविधान निर्माणको प्रश्न भनेको राज्यसत्ता निर्माणको प्रश्न हो । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने प्रश्न भनेको नयाँ राज्यसत्तामा सुरक्षा अंगको आमूल पुनःसंरचनासहित जनतको सुरक्षा नीति अघि बढाउने प्रश्न हो । यी दुई मुद्दालाई सहयोग पु¥याउन सरकार (कार्यपालिका) ले वातावरणीय भूमिका निभाउने हो । यी अहं प्रश्नमा परिवर्तनकामी शक्ति र यथास्थितिवादी शक्तिहरुको विचको विचार, राजनीति र दृष्टिकोणको टक्कर परिरहेकै कारण मुलुकमा राजनैतिक जटिलता पैदा भईरह्यो र संकट झन्झन् गहिरिदै गयो ।
निश्चयनै नेपाली जनताले विगत कालको संघर्षहरुमा आफ्नो वलिदान र उत्सर्ग दिनुको कारण मुलुकलाई पूर्ण स्वाधिन बनाउन र समग्र मुक्तिको लागि हो । परन्तु विगतका संघर्षहरुमा नेपाली जनता पटक–पटकको सम्झौता र धोकाहरुको कारण आफ्नो लक्ष्य सम्म पुग्न सकेनन् । आज संविधान सभाबाट नेपाली जनताले खोजेको जस्तो जनपक्षीय संविधान बनाउन नदिन परिवर्तन विरोधी सवै देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु ज्यान छाडेर लागेका छन् । संविधान सभाको विशाल जनमत भएको माओवादी क्रान्तिकारीलाई सके झुकाउन,े नभए अलग्याउने षडयन्त्रहरु भईरहेको देखिन्छ । मुलुकका उत्पीडित आदिवासी जनजातिहरु र सवै परिवर्तनकामी शक्तिहरु परिवर्तन विरोधी सवै देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुको विरुद्ध फेरी संघर्षमा जुटेर दवावमुलक हस्तक्षेप बढाउन जरुरी छ । संविधान सभाबाट जनपक्षीय संविधान निर्माण गर्न र शान्ति प्रक्रियालाई जनताको सुरक्षा नीति अनुकुल बनाउन सशक्त संघर्ष अघि बढाउन आवश्यक छ । मुलुकको यसखाले गम्भिर परिस्थितिमा तमु मोर्चाको विगत र वर्तमानको साथै आफ्ना कार्यभारहरुको बारेमा संक्षिप्त चर्चा यहाँ प्रयास गरिएको छ ।
जातीय मोर्चाहरुको नीतिगत पक्ष र तमु मोर्चाको स्थापना र गतिविधिहरु ः
नेपाली जनवादी क्रान्ति नेपालको समग्र अन्तरविरोधहरुको हल गर्न, सवैखाले शोषण, उत्पीडनको मुक्ति अभियान हो । विगत कालको कम्युनिष्ट आन्दोलनमा नेपाली वर्ग समाजको विश्लेषण गर्ने क्रममा वर्गीय अन्तरविरोधको मात्र विश्लेषण भयो । मजदुर, किसानको एकताम कृषि क्रान्तिको नीति अघि बढ्यो । तत्कालिन ने.क.पा.(माओवादी) ले नेपाली समाजको फरक वर्ग विश्लेषण ग¥यो । खास गरीकन नपाली समाजको अन्तरविरोधहरुको पहिचानकै क्रममा शोषणका रुपहरुको विशिष्टीकरण ग¥यो । मुलुकमा वर्गीय अन्तरविरोधको अलवा जातीय, क्षेत्रीय, लिङ्गीय र साँस्कृतिक अन्तरविरोधहरुपनि रहेको र सोही अनुकुल समाधानको नयाँ नीतिको पनि विकास ग¥यो । खास गरीकन जातीय, क्षेत्रीय उत्पीडनमा रहेका समुदायहरुको मुक्ति र स्वतन्त्रताको लागि जातीय आत्मनिर्णयको अधिकार प्रदान र जातीय, क्षेत्रीय स्वायत्तताको व्यवस्थाको मूर्त नीतिको विकास भएपछि नेपाली सर्वहारा वर्गीय आन्दोलनसँग एकाकार हुने गरी जातीय, क्षेत्रीय मोर्चाहरुको निर्माण हुन थाल्यो । ती संगठनहरु तत्कालिनरुपमा संघर्षका साधनको रुपमा र भोलि सत्ताको साधनको रुपमापनि विकास हुने नीति प्रष्ट भयो । सोहि अनुसार जातीय, क्षेत्रीय मुक्ति मोर्चाहरुको गठन र विकासक्रम अघि बढ्यो ।
यता तमुवानमा पनि तमु विभागको गठन गरी मोर्चाको भ्रुण निर्माणको क्रम अघि बढ्यो । प्रा. मोहनसिंह तमुको संयोजकत्वमा तमु अग्रजहरु क.पूर्ण ब. तमु, क.इन्द्रध्वज तमु, क.ज्ञान ब. तमु र क. आई.वि. तमु सदस्य रहने गरी जातीय आत्मनिर्णयको अधिकार, तमुवान स्वयत्तता, धर्म निरपेक्षता जस्ता निितलाई तमु समुदायमा लैजाने गरी भूमिगतरुपमा विभाग गठन भयो । पछिल्लो कालमा तमु समुदायको मुक्ति र स्वतन्त्रताको बहाल गर्न संगठनलाई संयुक्त मोचाको रुपमा स्थापित गर्न खुल्ला संगठनको रुपमा लैजाने निर्णय भयो । सोही अनुसार २०५५ साल फाल्गुण १५ गते आफ्नो घोषणा पत्र, विधान र नीतिसहित तमु ह्युल मछ्याँ मोर्चा,नेपाल गठन भयो र पत्रकार सम्मेलन गरी संगठनको सार्वजानिकरण भयो ।
सामाजिक संघसंगठनहरुको एकाधिपत्य भईरहेको तमु समाजहरुमा राजनीतिक संगठनको उदयले तत्कालै गति लिन सक्ने कुरा पनि थिएन । संगठनलाई सुरुमा ग्रामिण क्षेत्रहरुमा केन्द्रित गराउने नीति अन्तरगत तमुवानका ग्रामिण क्षेत्रहरुमा संगठनको विस्तार भयो । संगठनलाई अझै जुझारु र लडाकु पार्दै लैजाने क्रममा अर्धभूमिगत संरचना बनाएर जनसंघर्ष र वर्गसंघर्षका कार्यक्रमहरुलाई अघि बढाउदै लग्यो । गोरखा, लमजुङ्ग, तनहूँ, कास्की लगायतका जिल्लाहरुको ग्रामिण भेगहरुमा जनपरिचालनसहित संगठन विस्तार हुने क्रम अघि बढ्यो । ग्रामिण भेगहरुमा वर्ग संघर्षको विषणता सँगै सत्ता रिक्तता बढ्यो । जनसत्ताको नेतृत्वको कार्यभारहरुपनि मोर्चाले गर्दै गयो । स्थानीय जनसत्ताको सुरक्षा र भावि तमुवान स्वायत्त राज्य निर्माणको लागि ग्रामिण बस्तीहरुमा जनसुरक्षा टिम (मिलिसिया) निर्माण व्यापक बढ्दै गयो ।
मोर्चाको पहिलो राष्ट्रिय सम्मेलन देखि दोस्रो राष्ट्रिय सम्मेलन तयारीसम्मको गतिविधिहरु ः
यसरी तमुहरुविचमा राजनीतिक अधिकारसहित पहिलो राजनीतिक मोर्चा, तमु राष्ट्रिय मुक्ति मोर्चा, नेपालको स्थापना भयो र गतिविधिहरुलाई अघि बढायो । तमुहरुमा सामाजिक संगठनको एकाधिपत्य थियो र राजनीतिक संगठनप्रति रुचि कम थियो । सामन्ति राज्यसत्ताको समग्र क्षेत्रमा एउटै जाति र वर्गको एकाधिकार थियो र अन्य समुदायहरु खासगरीकन उत्पीडित आदिवासी ÷जनजातिहरु राज्यसत्ताबाट बञ्चित थिए । सामन्ति सत्ताको उत्पीडनको नालीवेलीसहित जातीय अधिकारको निम्ति संघर्ष गर्नुपर्ने मुद्दाहरु तमु समुदायमा सचेतना जगाउदै लगेपछि तमुहरुको राजनीतिक संगठन तमु मोर्चा स्थापित हुदै गयो । तमुवानका जिल्लाहरुमा संगठनको विस्तार बढ्दै गएपछि यसको राष्ट्रिय सम्मेलनको आवश्यकताको महसुस भयो र संगठनलाई राष्ट्रिय रुप दिने प्रक्रियातिर अघि बढ्यो । २०५८ श्रावणको अन्ततिर लमजुङ्गको करापुमा पहिलो राष्ट्रिय भेला गरी प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति निर्माण गरी सममेलनको तयारीमा द्रुततर गति लियो । भरखरै युद्धविराम भएको खुल्ला परिवेशमा संगठन विस्तार, प्रचारात्मक कार्य र व्यवस्थापकीय कामहरुलाई संयोजन गर्दै २०५८ कार्तिक १७ गते पहिलो खुल्ला सम्मेलन पोखरा ताङ्वे समाजमा सम्पन्न भयो । युद्धविरामको अन्तिम क्षणतिर राज्यको दमन, धरपकड बढ्दै गएपछि बन्दसत्रको कार्यक्रम भने कास्कीको मिजुरे डाँडामा सम्पन्न भयो र बन्दसत्रले विस्तारित नयाँ कार्यसमिति निर्माण ग¥यो । लगत्तै सामन्ति राज्यको संकटकाल घोषणाले संगठनमा अस्तव्यस्त बढ्यो । संकटकालसँगै राज्यको चरम दमन बढ्यो र मोर्चाका होनाहार केन्द्रीय उपाध्यक्ष क.चुनु तमुको गिरफ्तारी र वेपत्ता पछि हत्या, त्यस्तै अर्का केन्द्रीय सचिवालय सदस्य क.ज्ञान बहादुर तमुको गिरफ्तारी र वेपत्ता, पछिल्लो क्रममा अर्का केन्द्रीय सचिवालय सदस्य क.कौशिला तमुको राज्यद्धारा हत्या, केन्द्रीय सदस्य क.डम्मर तमुको हत्या श्रृङ्खलाले संगठनमा ठूलो क्षति हुन पुग्यो । सामन्ति राज्यसत्ताको चरमदमनको शिकार ग्रामिण क्षेत्रका कार्यकर्ता, समर्थक, शुभचिन्तक सवैमाथि पर्न गयो र संगठन एक हिसावले तहसनहस हुन पुग्यो ।
पछिल्लो कालमा सामन्ति राज्यको दमन, धरपकड विरुद्ध पार्टीका नेतृत्वमा प्रतिरोध संघर्ष बढ्दै गयो । फलस्वरुप संगठन विस्तार क्रम अघि बढ्यो । पछिल्लो कालमा मुलुकमा २०५९ माघदेखि दोस्रो युद्ध विराम भयो । त्यही खुल्ला परिवेशको मौकामा संगठनको राष्ट्रिय भेला कार्यक्रम गोरखाको भूम्लिचोकमा सम्पन्न भयो । राष्ट्रिय भेलाले पुनःसंगठनको पुनर्गठन र विस्तार गरियो । संगठन विस्तारको अभियानात्मक कार्यक्रम अघि बढ्यो । लगत्तै युद्धविराम भंग भएपछि राज्यको दमन बढेपछि संगठनका केन्द्रीय सदस्यहरु क.हेम बहादुर तमु, क.आशालाल तमु लगायतका अन्य नेताकार्यकर्ताको वलिदान हुन पुग्यो । फेरीपनि प्रतिरोध संघर्ष बढ्दै जादा संगठन निर्माण र विस्तारक्रम अघि बढ्यो । २०६२ साल मंसिरको अन्तिम हप्तातिर स्याङ्जामा अर्को राष्ट्रि भेला गरी दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति निर्माण भयो । ढाडमा टेकेर टाउकोमा हान्ने सशक्त फौजी संघर्षको विकास एवं २०६२÷६३ को जनआन्दोलनपछि मुलुकमा शान्ति प्रक्रिया अघि बढ्यो । शान्ति प्रक्रियाको खुल्ला अनुकुल स्थितिमा २०६३ असार १५, १६ र १७ गते संगठनको दोस्रो राष्ट्रिय सम्मेलन तमुवानको मुख्य केन्द्र भावि राजधानी पोखरामा सम्पन्न भयो । विशाल जनप्रदर्शनसहित भएको राष्ट्रिय सम्मेलनले सशक्त राजनैतिक हस्तक्षेप ग¥यो ।
संगठनको दोस्रो सम्मेलनपछि लगत्तै बसेको केन्द्रीय समितिको बैठकले संगठनको व्यापक विस्तारको कार्यक्रम निर्माण ग¥यो । खासगरी पोखरा, काठमाण्डौं लगायतका शहरी क्षेत्रहरु तथा सदरमुकामहरुमा र तत्कालिन पूर्वी कमाण्डका जिल्लाहरुमा अभियानात्मक कार्यक्रमहरुसहित संगठन विस्तार कार्यक्रम सम्पन्न भयो । यो विचमा पार्टीको श्रद्धेय अध्यक्ष क.प्रचण्डको समुपस्थितिमा राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेलापनि कास्कीको लेखनाथमा सम्पन्न भयो । यो विचमा गणतान्त्रिक तमु मञ्च निर्माण गरी देशभक्त गणतन्त्रवादी तमुहरुविचमा विचार अन्तरक्रिया र छलफलद्धारा संगठनमा आबद्ध गर्ने कामपनि भयो । संघर्ष र जनपरिचालनमुलक कार्यक्रमहरु एकल र संयुक्तरुपले गरेर संगठनलाई हस्तक्षेपकारी बनाउदै लगियो ।
दोस्रो सम्मेलनपछि संगठनको पहिलो राष्ट्रिय भेला कार्यक्रम आयोजना भयो । संगठनका पदाधिकारीमा रहनुभएका जिम्मेवार कमरेडहरु पार्टीकोपनि महत्वपूर्ण जिम्मेवारी रहनु भएकोले उहाँहरुलाई सल्लाहकारमा रहने गरी नयाँ पंक्तिलाई नेतृत्व विकास गर्ने र केन्द्रीय समिति विस्तार गर्ने गरी भेला सम्पन्न भयो । पछिल्लो कालमा संगठन पश्चिम क्षेत्रमा समेत विस्तार भयो । थारुवान, मगराँत लगायतमा सम्पर्क सम्बन्ध बढ्दै गयो । मुलुकमा संविधान सभाको निर्वाचन प्रक्रिया सुरुभएपछि संविधान सभाको निर्वाचनमा भूई तहदेखिकै कार्यकर्ता परिचालनसहित भव्य जनपरिचालन भयो । जसले क्रान्तिकारीहरुलाई निर्वाचनमा विजय गराउन सफल भयो ।
संविधान सभाको निर्वाचनपछि केही समय संगठन शिथिल जस्तै भयो । क्रान्तिकारीहरुको नेतृत्वमा सरकार निर्माण भएपछि सरकारको जनपक्षिय नीतिकार्यक्रमहरुको प्रचार र संविधानमा जातिय अधिकार सुनिश्चित गराउन केही कार्यक्रमहरु निर्माण भयो । राजनीतिक अन्तरक्रियाहरु, केही जनपरिचालनमूलक कार्यक्रमहरु सम्पन्न भए । पछिल्लो कालमा देशी विदेशी प्रतिक्रियावादीको घेराबन्दी र षडयन्त्रको परिणामस्वरुप क्रान्तिकारीहरु सरकारबाट बाहिरिन पुग्यो । नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनताको मुद्दामा संघर्ष केन्द्रित हुदै गयो । बदलिएको नयाँ परिस्थितिमा फेरी संगठनको दोस्रो राष्ट्रिय भेला गरी पुराना जिम्मेवार कमरेडहरु र नयाँ सदस्यहरुलाई राखी तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति निर्माण भयो । नयाँ राजनीतिक मुद्दाहरुसहित राष्ट्रिय सम्मेलनलाई संघर्षकै कार्यक्रमको रुपमा अघि बढाउने तयारी हुदै गर्दा मुलुकमा कठपुतली सरकारको राजिनामाको मागसहित राष्ट्रिय स्वाधिनताको आन्दोलनमा केन्द्रित हुनुपरेकोले मोर्चाको राष्ट्रिय सम्मेलन कार्यक्रम तल्काललाई स्थगित गरियो । त्यसपछि पार्टीको आयोजनामा भएको संघर्षको विविध कार्यक्रमहरुमा मोर्चा सक्रिय भयो ।
पछिल्लो कालमा २०६७ असोज १३ गते तमु राष्ट्रिय मुक्ति मोर्चा र तमु स्वशासित संघविच एकता सम्पन्न भयो । क.पुरन तमु लगायत पश्चिम क्षेत्रका कमरेडहरुको एकताले संगठनलाई विस्तार र विकासमा मद्दतनै पुग्यो । लगत्तै बसेको एकता बैठकले संगठनको स्थगित राष्ट्रिय सम्मेलनलाई २०६७ पौष ३,४र ५ गते पोखरामा सम्पन्न गर्ने निर्णय भयो । प्रचारात्मक, व्यवस्थापकिय र आर्थिक संकलन लगायतकाममा घनिभूत तयारी हुदै गयो । यहि विचमा पार्टी केन्दको छैठौं विस्तारित बैठक तमुवानमै परेको र त्यसको व्यवस्थापकीय काममा मोर्चाका जिम्मेवार कमरेडहरु पनि लाग्नु पर्ने भएकोले सम्मेलनको तयारीमा असर पर्ने र यहि विचमा संसदको विशेष अधिवेशनमा मोर्चाका सभासद्हरु जानुपर्ने कारणले निर्धारित मितिको सम्मेलन कार्यक्रम स्थगित गरियो । फेरी पुनः माघ ७,८ र ९ गते अर्को मिति निर्धारण गरी सम्मेलनको तयारीमा लागियो । प्रचारात्मक तथा व्यवस्थापकीय कामहरु घनिभूत बन्दै गएको स्थितिमा फेरी मोर्चाको निर्धारित गरिएको सम्मेलन स्थगित गर्नुपर्ने भयो । खासगरी पार्टी केन्द्रको बैठकले तत्काल मोर्चा÷जवस लगायत भातृसंगठनहरुको भेला तथा सम्मेलन स्थगित गर्ने निर्देशन भए बमोजिक हाम्रो मोर्चाको सम्मेलन कार्यक्रमपनि फेरी स्थगित हुन पुग्यो ।
तेस्रो राष्ट्रिय सम्मेलन स्थगन र असरहरु
राष्ट्रिय सम्मेलनको कार्यक्रम विधानतः आवधिकरुमा गर्ने गरिन्छ । हाम्रो संगठनको विधानले व्यवस्था गरे बमोजिम सामान्य स्थितिमा ३ वर्षको विचमा सम्मेलन गर्ने प्रावधान छ । विधानमा विशेष परिस्थिति भए सम्मेलन अघिपछि गर्न सकिने व्यवस्था छ । गत वर्ष पार्टीको आयोजनामा भएको संघर्षको कार्यक्रममा केन्द्रित हुनु पर्दा सम्मेलन स्थगित हुन पुग्यो । यसपटकपनि मुलुकको स्थितिमा तात्विक भिन्नता त आएको छैन नै । तथापि सम्मेलन गर्न सकिएला भनेर हाम्रो संगठनको शक्ति तागत सवै लगाएर सम्मेलन तयारीमा लागियो । परन्तु सम्मेलनको अन्तिम स्थितिमा आएर स्थगित गर्नुपर्दा त्यसले नेताकार्यकर्ता पंक्ति, शुभचिन्तक, समर्थकमा शिथिलता, निराशा र अविश्वास पैदा गराएकै छ । निश्चयनै मुलुकमा यतिखेर राजनीतिक वर्ग संघर्ष भिषण बनेको छ । राष्ट्रिय आत्मसमर्पणवाद विरुद्धको संघर्ष घनिभूत बनेको छ र राजनीतिक धुब्रिकरण तिव्र छ । राजनीतिक संकट गहिरिदै गएको छ । मुलुकको वर्ग संघर्षको प्रतिविम्वन एक जिवन्त पार्टीमा पनि पर्नु स्वभाविक छ । यतिखेर प्रायः सवै राजनीतिक दलहरुमा अन्तर संघर्ष तिव्र छ । अन्तर संघर्षको जटिल स्थितिमा सहयोगी जनसंगठनहरुको भेला सम्मेलन प्रभावित हुने नै भयो । सोही कारण पनि मोर्चाको सम्मेलन स्थगित हुने कारण बन्यो । साथै देशी तथा विदेशी प्रतिक्रियावादीहरु जनपक्षीय क्रान्तिकारी शक्तिहरुलाई घेराबन्दी गर्ने, विघटन, विसर्जन गराउने तथा दमन गर्ने षडयन्त्रको तानावुनामा देखिन्छ । यो स्थितिमा प्रतिक्रियावादीहरुको षडयन्त्रविरुद्ध जनताको मुक्ति र स्वाधिनताको लागि संघर्षमा केन्द्रित हुनुपर्ने अवस्था छ । जनताको वलिदानीपूर्ण संघर्षहरुबाट प्राप्त उपलब्धीको रक्षा र जनअधिकारको बहालीको संगिन मोडमा संगठनात्मक काममा भन्दा संघर्षमा केन्द्रित हुनुपर्नाको कारणपनि संगठनात्मक सम्मेलनको कार्यक्रम स्थगित हुन पुगेको हो ।
भावि कार्यभारहरु
सम्मेलन स्थगित भएपछि कार्यकर्ता पंक्ति, समर्थक, शुभचिन्तक जनसमुदायमा भएको निराशा, शिथिलतालाई चिर्न प्रशिक्षणमुलक कार्यक्रमहरु अघि बढाउन आवश्यक छ । मुलुकको गहिरिदै गएको राजनैतिक संकट र अस्तव्यस्ततालेपनि जनसाधरणहरुमा अन्यौल आशंका र त्रासपनि देखिन पुगेको छ । जनप्रशिक्षण, जनभेटघाट लगायतका कार्यक्रमहरुलाई अभियानात्मकरुपले लैजान आवश्यक छ । पछिल्लोकालमा मुलुकमा सापेक्षित देशभक्त र वामपन्थीहरुको संयुक्त सरकार निर्माण भएको छ । छिट्टै जनपक्षिय नीति तथा कार्यक्रमहरु, राहतमुलक कार्यक्रमहरु ल्याउन जनदवाव दिन आवश्यक छ । समग्रमा राजनीतिक परिस्थितिमा अझैपनि सकारात्मक निकास आईसकेको छैन । देशी तथा विदेशी प्रतिक्रियावादीहरुले आफु अनुकुलको राजनीतिक व्यवस्था नआए ध्वंसात्मक, तोडफोड, हिंसा र अराजकतालाई आधार बनाई शान्ति सुरक्षा कायमकै नाममा राष्ट्रपति शासन थोपर्ने षडयन्त्र देशी विदेशी प्रतिक्रियावादीहरुको देखिन्छ । यो स्थितिमा वलिदानीपूण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै जनअधिकारको निम्ति मुलुकको स्वाधिनताको रक्षाको लागि अझै सशक्त जनप्रतिरोधमुलक कार्यक्रमहरु अघि बढाउन आवश्यक छ ।
संगठनलाई विस्तारमात्रै होईन जुझारु र लडाकु पार्न पनि आवश्यक छ । जुझारु संगठनले मात्र प्रतिक्रियावादीहरुको तोडफोड र हिंसाको प्रतिरोध गर्न सक्छ र आफ्नो जनअधिकार बहाल गर्न सक्छ । स्थानीय तहमा जनसेवाको निम्ति जनसत्ताको स्वरुपमा संयुक्त मोर्चाहरु निर्माण गरी स्थानिय सत्ताको रिक्ततालाई पूर्णता दिनु आवश्यक छ । देशभक्त, गणतन्त्रवादी शक्तिहरु विचमा संयुक्त मोर्चा निर्माण गरी राष्ट्रिय स्वाधिनताको आन्दोलनको दायरालाई फराकिलो पार्नु पर्दछ । समग्रमा प्रतिक्रान्तिकारी षडयन्त्रहरुलाई ध्वस्त पार्न तल र माथिबाट व्यापक हस्तक्षेप गर्न आवश्यक छ । प्रतिक्रान्तिलाई क्रान्तिमा बदल्ने आँट साहस पैदा गर्नु आवश्यक छ ।
-(तमु ह्युल वर्ष ४ अंक १ मा प्रकाशित)
Like this:
Be the first to like this post.