Archives

छ यो रोगको कुनै ओखती?

     -किशोर नेपाल

माओ त्सेतुङ बीसौँ शताब्दीका महान् क्रान्तिकारी राजनेता थिए भन्नेमा उनका विरोधीहरुसमेत सहमत छन्। आधुनिक चीनको निर्माणमा मात्र होइन, चीनलाई उदारवादी अर्थतन्त्रको बाटोमा अग्रसर गराउन पनि माओको महत्वपूर्ण भूमिका थियो। अमेरिका-चीनबीचको शत्रुतापूर्ण सम्बन्धलाई विच्छेद गराउने मजबुत फलामे ढोकामा लागेको भोटे ताल्चा खुलाउन माओले प्रयोग गरेको पिङपङ साँचोँ विश्व कूटनीतिको इतिहासमा अद्भूत र अपूर्व प्रयोग मानिन्छ। यही साँचोले तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र विदेश मन्त्री हेनरी किसिन्जरलाई विश्व कूटनीतिको इतिहासमा स्थापित गराएको थियो। एसियाको पारम्परिक शक्ति सन्तुलनलाई यसैले विस्थापित गराएको थियो। अन्ततः माओको पिङपङ साँचोले चीनमा आर्थिक उदारवादको ढोका खोल्यो। आजको चीनले गरेको अद्भूत आर्थिक उन्नति त्यसैको परिणाम हो।

माओको लामो नेतृत्वकालमा उनले थुप्रै गल्ती गरेका थिए। तर, उनी आफ्नो अन्तर-आत्माको तहमा गल्ती भएको स्विकार्न हिचकिचाउँदैनथे। उनको यौन जीवनदेखि अनेक उटपटाङ लीलाहरुका विस्तृत विवरण समेटिएका हजारौँ किताब लेखिएका छन्। ती विवरणले कतै पनि उनको राजनीतिक साख खस्काउन सकेका छैनन्। ती किताबको हैसियत राजनीतिक मनोरञ्जनभन्दा माथि स्थापित हुन सकेन। चिनियाँ इतिहासको सबैभन्दा कालो पक्ष मानिँदै आएको सांस्कृतिक क्रान्तिकालमा चीन ठूलो संकटमा थियो। त्यही बेला चीन भ्रमणपछि विश्वप्रसिद्ध लेखिका तथा चिन्तक सिमोन द बुभाले टिप्पणी गरेकी थिइन्, ‘माओको साम्यवादी शासनले यस्तो कल्याणकारी राजतन्त्रको छनक दिन्छ जहाँ पण्डितजस्तो सम्राट्ले प्रजाको सम्पूर्ण आस्थामाथि विजय प्राप्त गरेको हुन्छ। माओको शासनमा चिनियाँ जनजीवन आनन्दमग्न रहेजस्तो अनूभूत हुन्छ।
जीवनको अन्त्यतिर, सन् १९७५ मा माओले आफ्नो अन्तिम सन्देशमा भनेका थिए, ‘तीन जनाले बढी र एउटाले कम’अर्थात् चाउ एनलाईले बढी आराम गर्नुपर्छ, तेङ स्याओ पिङले बढी काम गर्नुपर्छ, वाङले बढी पढ्नुपर्छ र चियाङचिङले कम बोल्नुपर्छ।’
माओको यो सन्देश तत्कालीन चीनका नेताहरुका लागि मात्रै थिएन। साम्यवादी दर्शनको माओवादी बाटोमा हिँड्ने सबै माओवादीका लागि थियो। कतिले यो सन्देश पछ्याए, त्यसको लेखाजोखा गर्ने क्षमता यस स्तम्भकारसँग छैन। नेपालको माओवादी पार्टीमा अहिले देखिएका वरिष्ठ नेताहरुको माओ विचारसँग अलिकति पनि सम्बन्ध छ भने स्तम्भकार यतिमात्र टिप्पणी गर्ने धृष्टता गर्न चाहन्छ, अब मोहन वैद्य ‘किरण’ले बढी आराम गर्नुपर्छ, रामबहादुर थापा ‘बादल’ले बढी पढ्नुपर्छ, बाबुुराम भट्टराईले कम बोल्नुपर्छ र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बढीभन्दा बढी काम गर्न दिनुपर्छ।
यस्तो होला त? नेपालमा राजनीतिमा लागेका मानिसहरु चाहिनेभन्दा बढी नै आत्मकेन्द्रित हुन्छन्। उनीहरु आफ्नो बखानबाहेक अरु कसैको प्रशंसा सुन्न र गर्न जान्दैनन्। जो अर्काको विचारको उदारपूर्वक प्रशंसा गर्न जान्दैनन्, ती राजनीतिक नेतामात्र बन्छन्। राजनेता बन्ने ह्याउ र हैसियत दुवै हुँदैन तिनमा। जब समाजमा नेतृत्वदायी सर्वमान्य व्यक्तित्वको अभाव हुन्छ, जुवाको जस्तै राजनीतिको लत लागेका मानिसहरुको बर्चस्व ह्वात्तै बढ्छ। आफ्ना अधकल्चा विचारहरुमा अल्मलिएका यस्ता नेताहरु अरुको विचार सुन्नु र आफ्ना कार्यहरुलाई मर्यादित बनाउनुमा भन्दा सबैबाट अलग-थलग बस्न रुचाउँछन्। उनीहरुलाई आफ्नो स्वार्थका लागि मात्र मिडिया चाहिन्छ। अघिपछि मिडिया उनीहरुका लागि चिडचिडाहटको कारण बन्छ।
माओवादी नेताहरुले माओको नेतृत्वलाई परिप्रेक्षमा राखेर चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास पढेका छन् कि छैनन्? त्यो हामीजस्ता सर्वसाधारणले जान्ने कुरा होइन। तैपनि, त्यस पार्टीभित्रका थुप्रै स्वनामधन्य नेताको हाँक-दाँक र चुरीफुरी हेर्दा उनीहरुमा संघर्ष गर्ने क्षमता चुकेको देखिन्छ। संघर्ष गर्ने क्षमता भएका कुनै पनि मानिस नेतृत्वको भर्त्सना गरेर हिँड्दैन। माओले अभाव र दरिद्रताबीच शान्ति र स्थायित्व स्थापित हुनसक्ने कल्पना कहिल्यै गरेनन्। उनले त्यस्तो विचारलाई सधैँ हावादारी बताए। संघर्षको निरन्तरता नभएसम्म देशले उन्नति गर्दैन भन्ने उनको निर्क्योल आजका कतिपय गैरसाम्यवादी देशहरुका लागि पनि उत्तिकै सान्दर्भिक बनेको छ। साँच्चै भन्ने हो भने स्थायी शान्ति र स्थिरता पोखरीमा जमेको पानीजस्ता शब्द हुन्। पोखरीको पानीमा गतिशीलता खोज्न सकिँदैन।
आजको समय सिद्धान्तको टुपी समातेर अघि बढ्न सकिने समय पनि होइन। एक्काइसौँ शताब्दीको पहिलो दिनमै सिद्धान्तको मृत्यु भइसकेको छ। आजको मानिस महादेवले सतीदेवीको लासजस्तै सिद्धान्तको लास काँधमा हालेर हिँड्न तयार छैैन। उसका लागि साम्यवादी वा गैरसाम्यवादी सिद्धान्तहरु प्रेरणाका प्रतिविम्ब र पुञ्जमात्रै हुन्। सन्दर्भमा, वर्तमान नेपाललाई नै हेरे पुग्छ। साम्यवादको सिद्धान्तमा दीक्षित कतिपय नेताहरु अहिले आफूलाई नेपाली भन्न पनि लजाउँछन्। उनीहरु जातीय तथा वर्गीय साम्प्रदायिकताको पुच्छर समातेर राजनीतिको वैतरणी पार गर्न खोज्दैछन्। लोकतान्त्रिक समाजवादको नारा दिने समतावादीहरु उदार अर्थतन्त्रको दलाली गरेर पतनको भासमा जाकिएको जाकियै छन्। समयको आँधीले उडाएर असान्दर्भिक बनाइसकेका अनुदारवादीहरु परिवर्तनकारी शक्तिहरुमा देखिएको विग्रहका कारण रमाउनु रमाएका छन्। सबैले आ-आफ्नो जितको भ्रम पालेका छन्। किनभने हार अपरिहार्य छ भन्ने धेरैथोरै ज्ञान सबैलाई छ।
अहिलेको नेपाली राजनीति राष्ट्रिय त्रासदीका रुपमा विकसित भइरहेको छ। कुनै निश्चित परिकल्पना र निश्चित लक्ष्यबिना सडकको गोलचक्करमा दौडिरहने मानिस कतै पुग्न सक्दैन। हाम्रा राजनीतिज्ञहरुलाई आफू निरन्तर दौडिरहेको देखेर जनता सन्तुष्ट भएझैँ लागेको छ। यो उनीहरुको भ्रममात्रै हो। जनतालाई थाहा छ, नेताहरु लगातार गोलचक्करमा घुमिरहेका छन्। उनीहरुलाई आफ्ना आँखा अघिल्तिर प्रतिक्रियावादको, प्रतिगमनको, प्रतिशोधको भयावह विम्बहरु घुमिरहेको भान भएको छ। भ्रम एकप्रकारको रोग हो जसको उपचार अहिलेसम्म चिकित्सा विज्ञानले खोज्न सकेको छैन। देश व्यवस्थापनको दायित्व बोकेका नेताहरु नै भ्रमको सिकार भएपछि त्यस देशका लागि राजनीति त्रासदी नभएर अरु के हुन सक्छ?
स्तम्भ माओको चर्चाबाट सुरु भए पनि माओवादी पार्टीमात्रै यसको केन्द्र होइन। सबै राजनीतिक पार्टीका नेताहरु अहिले पीडोन्माद रोगले ग्रस्त छन् जसलाई अंग्रेजीमा प्यारानोइया भनिन्छ। पीडा र उन्मादको समीकरणले मानिसलाई विक्षिप्त बनाउँछ। देश व्यवस्थापनको दायित्व लिएका नेताहरु पीडोन्मादले ग्रस्त हुनु र रक्सीले मात्तिएर चुर सैनिकले हातमा मेसिनगन बोक्नु उस्तै कुरा हो। यी दुवै अवस्था समाजका लागि घातक हुन्छन्। देशमा भारीका भारी समस्या खात लागेका छन्। समस्या खोज्ने नेताहरु भने अशक्त अवस्थामा छन्। हरेक दिनको सूर्योदयसँगै नेताहरु जनतालाई आफ्ना समस्या सुनाउँछन्, माओवादीले यसो गरेन, कांग्रेसले त्यसो गरेन, एमालेले उसो गरेन, मधेसीले, जनजातिले’जनताले यी बकम्फूसे भाषण सुनेर के गर्ने? समाधान खोज्नेले समस्या सुनाउने हो र? समाधान खोज्ने दायित्व सकारेकै कारण जनताले चुनावका बेला आफ्नो हात काटेर त्यो जिम्मेवारी दिएका होइनन् र?
जनतालाई त के छ र! ऊ अघिल्लो चरणको संघर्षका लागि पनि तयार छ। ऊ यतिमात्र चाहन्छ, त्यस संघर्षको रुप बदलियोस्। उसले माओ पढेको छैन। लेनिन पढेको छैन। लिंकन, चर्चिल कसैलाई पनि पढेको छैन। यति हो, उसलाई संघर्ष नगरी सफलता हात लाग्दैन भन्ने राम्रो ज्ञान छ। राजनीतिको यो अथाह भवसागरमा डुंगा खियाउन ऊ एउटा बहनाको खोजीमा छ।            -(नागरिक दैनिकबाट साभार)

तमु राष्ट्रिय मुक्ति मोर्चा, नेपाल – विगत र वर्तमान

 – अमर तमु

विषय प्रवेश ः समसामयिक परिस्थिति

मुलुकमा संक्रमणकाल लम्बिदै जादा राजनीतिक स्थिति झन् संकटको गहिराईतिर जादैछ । जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरु खोसिने हुन् कि भन्ने संत्रास व्याप्त छ । समयमै संविधान बनाउन नसक्दा राजनीतिक दल, नेताहरु, सभासद्हरुप्रति सर्वव्यापी आशंका र अविश्वास बढीरहेको छ र जनसमुदायमा निराशा छाईरहेको छ ।
संविधान सभा निर्वाचनपछि बैदेशिक शक्तिकेन्द्रहरुको चलखेल र हस्तक्षेप ह्वात्तै बढ्यो । संविधान सभाको जनमत माओवादी क्रान्तिकारीहरुको पक्षमा हुनुले पनि देशीविदेशी प्रतिक्रियावादीहरु आतंकित बन्न पुग्यो  र मुलुकमा अस्थिरता खडा भै क्रान्तिकारीहरुलाई घेराबन्दी गर्ने जस्ता षडयन्त्रहरु बढ्न थाल्यो । पछिल्लो कालमा राष्ट्रपति प्रकरण हुदै प्रधानमन्त्रि निर्वाचनसम्म आईपुग्दा बैदेशिक शक्ति, खासगरी भारतीय विस्तारवादी शाषकवर्गको राजनैतिक हस्तक्षेप नाङ्गो भएर आएको कुरा घाम जस्तै छर्लङ्ग छ । यसरी मुलुकको राष्ट्रिय स्वाधिनताको रक्षाको प्रश्नपनि ज्वलन्त बनेको छ ।
मुलुकमा राजनैतिक गत्यावरोध बन्नुमा खासगरीकन दुई विपरित वर्ग र राजनैतिक पक्षधरतको विचको संघर्षले गर्दा हो । विगतमा संविधान सभा र गणतन्त्र स्थापना गर्दा संसदवादी पुँजीवादीहरुसँग एकता थियो  र जुन १२ बुँदे सम्झौताबाट अघि बढेको थियो । मुलुकमा गणतन्त्र स्थापना भएपछि संसदवादी पुँजीवादीहरुले संविधान, शान्ति र सरकारलाई आफ्नो वुर्जुवा दृष्टिकोण अनुसार अघि बढाउन खोजे जुन माओवादी क्रान्तिकारीहरु र अन्य परिवर्तनकामी राष्ट्रवादीहरुलाई सह्य हुने कुरा भएन । खासगरी संविधान निर्माणको प्रश्न भनेको राज्यसत्ता निर्माणको प्रश्न हो । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने प्रश्न भनेको नयाँ राज्यसत्तामा सुरक्षा अंगको आमूल पुनःसंरचनासहित जनतको सुरक्षा नीति अघि बढाउने प्रश्न हो । यी दुई मुद्दालाई सहयोग पु¥याउन सरकार (कार्यपालिका) ले वातावरणीय भूमिका निभाउने हो । यी अहं प्रश्नमा परिवर्तनकामी शक्ति र यथास्थितिवादी शक्तिहरुको विचको विचार, राजनीति र दृष्टिकोणको टक्कर परिरहेकै कारण मुलुकमा राजनैतिक जटिलता पैदा भईरह्यो र संकट झन्झन् गहिरिदै   गयो ।
निश्चयनै नेपाली जनताले विगत कालको संघर्षहरुमा आफ्नो वलिदान र उत्सर्ग दिनुको कारण मुलुकलाई पूर्ण स्वाधिन बनाउन र समग्र मुक्तिको लागि हो । परन्तु विगतका संघर्षहरुमा नेपाली जनता पटक–पटकको सम्झौता र धोकाहरुको कारण आफ्नो लक्ष्य सम्म पुग्न सकेनन् । आज संविधान सभाबाट नेपाली जनताले खोजेको जस्तो जनपक्षीय संविधान बनाउन नदिन परिवर्तन विरोधी सवै देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु ज्यान छाडेर लागेका छन् । संविधान सभाको विशाल जनमत भएको माओवादी क्रान्तिकारीलाई सके झुकाउन,े नभए अलग्याउने षडयन्त्रहरु भईरहेको देखिन्छ । मुलुकका उत्पीडित आदिवासी जनजातिहरु र सवै परिवर्तनकामी शक्तिहरु परिवर्तन विरोधी सवै देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुको विरुद्ध फेरी संघर्षमा जुटेर दवावमुलक हस्तक्षेप बढाउन जरुरी छ । संविधान सभाबाट जनपक्षीय संविधान निर्माण गर्न र शान्ति प्रक्रियालाई जनताको सुरक्षा नीति अनुकुल बनाउन सशक्त संघर्ष अघि बढाउन आवश्यक छ । मुलुकको यसखाले गम्भिर परिस्थितिमा तमु मोर्चाको विगत र वर्तमानको साथै आफ्ना कार्यभारहरुको बारेमा संक्षिप्त चर्चा  यहाँ प्रयास गरिएको छ ।

जातीय मोर्चाहरुको नीतिगत पक्ष र तमु मोर्चाको स्थापना र गतिविधिहरु ः
नेपाली जनवादी क्रान्ति नेपालको समग्र अन्तरविरोधहरुको हल गर्न, सवैखाले शोषण, उत्पीडनको मुक्ति अभियान हो । विगत कालको कम्युनिष्ट आन्दोलनमा नेपाली वर्ग समाजको विश्लेषण गर्ने क्रममा वर्गीय अन्तरविरोधको मात्र विश्लेषण भयो । मजदुर, किसानको एकताम कृषि क्रान्तिको नीति अघि बढ्यो । तत्कालिन ने.क.पा.(माओवादी) ले नेपाली समाजको फरक वर्ग विश्लेषण ग¥यो । खास गरीकन नपाली समाजको अन्तरविरोधहरुको पहिचानकै क्रममा शोषणका रुपहरुको विशिष्टीकरण ग¥यो । मुलुकमा वर्गीय अन्तरविरोधको अलवा जातीय, क्षेत्रीय, लिङ्गीय र साँस्कृतिक अन्तरविरोधहरुपनि रहेको र सोही अनुकुल समाधानको नयाँ नीतिको पनि विकास ग¥यो । खास गरीकन जातीय, क्षेत्रीय उत्पीडनमा रहेका समुदायहरुको मुक्ति र स्वतन्त्रताको लागि जातीय आत्मनिर्णयको अधिकार प्रदान र जातीय, क्षेत्रीय स्वायत्तताको व्यवस्थाको मूर्त नीतिको विकास भएपछि नेपाली सर्वहारा वर्गीय आन्दोलनसँग एकाकार हुने गरी जातीय, क्षेत्रीय मोर्चाहरुको निर्माण हुन थाल्यो । ती संगठनहरु तत्कालिनरुपमा संघर्षका साधनको रुपमा र भोलि सत्ताको साधनको रुपमापनि विकास हुने नीति प्रष्ट भयो । सोहि अनुसार जातीय, क्षेत्रीय मुक्ति मोर्चाहरुको गठन र विकासक्रम अघि बढ्यो ।
यता तमुवानमा पनि तमु विभागको गठन गरी मोर्चाको भ्रुण निर्माणको क्रम अघि बढ्यो । प्रा. मोहनसिंह तमुको संयोजकत्वमा तमु अग्रजहरु क.पूर्ण ब. तमु, क.इन्द्रध्वज तमु, क.ज्ञान ब. तमु र क. आई.वि. तमु सदस्य रहने गरी जातीय आत्मनिर्णयको अधिकार, तमुवान स्वयत्तता, धर्म निरपेक्षता जस्ता निितलाई तमु समुदायमा लैजाने गरी भूमिगतरुपमा विभाग गठन भयो । पछिल्लो कालमा तमु समुदायको मुक्ति र स्वतन्त्रताको बहाल गर्न संगठनलाई संयुक्त मोचाको रुपमा स्थापित गर्न खुल्ला संगठनको रुपमा लैजाने निर्णय भयो । सोही अनुसार २०५५ साल फाल्गुण १५ गते आफ्नो घोषणा पत्र, विधान र नीतिसहित तमु ह्युल मछ्याँ मोर्चा,नेपाल गठन भयो र पत्रकार सम्मेलन गरी संगठनको सार्वजानिकरण भयो ।
सामाजिक संघसंगठनहरुको एकाधिपत्य भईरहेको तमु समाजहरुमा राजनीतिक संगठनको उदयले तत्कालै गति लिन सक्ने कुरा पनि थिएन । संगठनलाई सुरुमा ग्रामिण क्षेत्रहरुमा केन्द्रित गराउने नीति अन्तरगत तमुवानका ग्रामिण क्षेत्रहरुमा संगठनको विस्तार भयो । संगठनलाई अझै जुझारु र लडाकु पार्दै लैजाने क्रममा अर्धभूमिगत संरचना बनाएर जनसंघर्ष र वर्गसंघर्षका कार्यक्रमहरुलाई अघि बढाउदै लग्यो । गोरखा, लमजुङ्ग, तनहूँ, कास्की लगायतका जिल्लाहरुको ग्रामिण भेगहरुमा जनपरिचालनसहित संगठन विस्तार हुने क्रम अघि बढ्यो । ग्रामिण भेगहरुमा वर्ग संघर्षको विषणता सँगै सत्ता रिक्तता बढ्यो । जनसत्ताको नेतृत्वको कार्यभारहरुपनि मोर्चाले गर्दै गयो । स्थानीय जनसत्ताको सुरक्षा र भावि तमुवान स्वायत्त राज्य निर्माणको लागि ग्रामिण बस्तीहरुमा जनसुरक्षा टिम (मिलिसिया) निर्माण व्यापक बढ्दै गयो ।

मोर्चाको पहिलो राष्ट्रिय सम्मेलन देखि दोस्रो राष्ट्रिय सम्मेलन तयारीसम्मको गतिविधिहरु ः
यसरी तमुहरुविचमा राजनीतिक अधिकारसहित पहिलो राजनीतिक मोर्चा, तमु राष्ट्रिय मुक्ति मोर्चा, नेपालको स्थापना भयो  र गतिविधिहरुलाई अघि बढायो । तमुहरुमा सामाजिक संगठनको एकाधिपत्य थियो र राजनीतिक संगठनप्रति रुचि कम थियो । सामन्ति राज्यसत्ताको समग्र क्षेत्रमा एउटै जाति र वर्गको एकाधिकार थियो  र अन्य समुदायहरु खासगरीकन उत्पीडित आदिवासी ÷जनजातिहरु राज्यसत्ताबाट बञ्चित थिए । सामन्ति सत्ताको उत्पीडनको नालीवेलीसहित जातीय अधिकारको निम्ति संघर्ष गर्नुपर्ने मुद्दाहरु तमु समुदायमा सचेतना जगाउदै लगेपछि तमुहरुको राजनीतिक संगठन तमु मोर्चा स्थापित हुदै गयो । तमुवानका जिल्लाहरुमा संगठनको विस्तार बढ्दै गएपछि यसको राष्ट्रिय सम्मेलनको आवश्यकताको महसुस भयो र संगठनलाई राष्ट्रिय रुप दिने प्रक्रियातिर अघि बढ्यो । २०५८ श्रावणको अन्ततिर लमजुङ्गको करापुमा पहिलो राष्ट्रिय भेला गरी प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति निर्माण गरी सममेलनको तयारीमा द्रुततर गति लियो । भरखरै युद्धविराम भएको खुल्ला परिवेशमा संगठन विस्तार, प्रचारात्मक कार्य र व्यवस्थापकीय कामहरुलाई संयोजन गर्दै २०५८ कार्तिक १७ गते पहिलो खुल्ला सम्मेलन पोखरा ताङ्वे समाजमा सम्पन्न भयो । युद्धविरामको अन्तिम क्षणतिर राज्यको दमन, धरपकड बढ्दै गएपछि बन्दसत्रको कार्यक्रम भने कास्कीको मिजुरे डाँडामा सम्पन्न भयो र बन्दसत्रले  विस्तारित नयाँ कार्यसमिति निर्माण ग¥यो । लगत्तै सामन्ति राज्यको संकटकाल घोषणाले संगठनमा अस्तव्यस्त बढ्यो । संकटकालसँगै राज्यको चरम दमन बढ्यो र मोर्चाका होनाहार केन्द्रीय उपाध्यक्ष क.चुनु तमुको गिरफ्तारी र वेपत्ता पछि हत्या, त्यस्तै अर्का केन्द्रीय सचिवालय सदस्य क.ज्ञान बहादुर तमुको गिरफ्तारी र वेपत्ता, पछिल्लो क्रममा अर्का केन्द्रीय सचिवालय सदस्य क.कौशिला तमुको राज्यद्धारा हत्या, केन्द्रीय सदस्य क.डम्मर तमुको हत्या श्रृङ्खलाले संगठनमा ठूलो क्षति हुन पुग्यो । सामन्ति राज्यसत्ताको चरमदमनको शिकार ग्रामिण क्षेत्रका कार्यकर्ता, समर्थक, शुभचिन्तक सवैमाथि पर्न गयो र संगठन एक हिसावले तहसनहस हुन पुग्यो ।
पछिल्लो कालमा सामन्ति राज्यको दमन, धरपकड विरुद्ध पार्टीका नेतृत्वमा प्रतिरोध संघर्ष बढ्दै गयो । फलस्वरुप संगठन विस्तार क्रम अघि बढ्यो । पछिल्लो कालमा मुलुकमा २०५९ माघदेखि दोस्रो युद्ध विराम भयो । त्यही खुल्ला परिवेशको मौकामा संगठनको राष्ट्रिय भेला कार्यक्रम गोरखाको भूम्लिचोकमा सम्पन्न भयो । राष्ट्रिय भेलाले पुनःसंगठनको पुनर्गठन र विस्तार गरियो । संगठन विस्तारको अभियानात्मक कार्यक्रम अघि बढ्यो । लगत्तै युद्धविराम भंग भएपछि राज्यको दमन बढेपछि संगठनका केन्द्रीय सदस्यहरु क.हेम बहादुर तमु, क.आशालाल तमु लगायतका अन्य नेताकार्यकर्ताको वलिदान हुन पुग्यो । फेरीपनि प्रतिरोध संघर्ष बढ्दै जादा संगठन निर्माण र विस्तारक्रम अघि बढ्यो । २०६२ साल मंसिरको अन्तिम हप्तातिर स्याङ्जामा अर्को राष्ट्रि भेला गरी दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति निर्माण भयो । ढाडमा टेकेर टाउकोमा हान्ने सशक्त फौजी संघर्षको विकास एवं २०६२÷६३ को जनआन्दोलनपछि मुलुकमा शान्ति प्रक्रिया अघि बढ्यो । शान्ति प्रक्रियाको खुल्ला अनुकुल स्थितिमा २०६३ असार १५, १६ र १७ गते संगठनको दोस्रो राष्ट्रिय सम्मेलन तमुवानको मुख्य केन्द्र भावि राजधानी पोखरामा सम्पन्न भयो । विशाल जनप्रदर्शनसहित भएको राष्ट्रिय सम्मेलनले सशक्त राजनैतिक हस्तक्षेप ग¥यो ।
संगठनको दोस्रो सम्मेलनपछि लगत्तै बसेको केन्द्रीय समितिको बैठकले संगठनको व्यापक विस्तारको कार्यक्रम निर्माण ग¥यो । खासगरी पोखरा, काठमाण्डौं लगायतका शहरी क्षेत्रहरु तथा सदरमुकामहरुमा र तत्कालिन पूर्वी कमाण्डका जिल्लाहरुमा अभियानात्मक कार्यक्रमहरुसहित संगठन विस्तार कार्यक्रम सम्पन्न भयो । यो विचमा पार्टीको श्रद्धेय अध्यक्ष क.प्रचण्डको समुपस्थितिमा राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेलापनि कास्कीको लेखनाथमा सम्पन्न भयो । यो विचमा गणतान्त्रिक तमु मञ्च निर्माण गरी देशभक्त गणतन्त्रवादी तमुहरुविचमा विचार अन्तरक्रिया र छलफलद्धारा संगठनमा आबद्ध गर्ने कामपनि भयो । संघर्ष र जनपरिचालनमुलक कार्यक्रमहरु एकल र संयुक्तरुपले गरेर संगठनलाई हस्तक्षेपकारी बनाउदै लगियो ।
दोस्रो सम्मेलनपछि संगठनको पहिलो राष्ट्रिय भेला कार्यक्रम आयोजना भयो । संगठनका पदाधिकारीमा रहनुभएका जिम्मेवार कमरेडहरु पार्टीकोपनि महत्वपूर्ण जिम्मेवारी रहनु भएकोले उहाँहरुलाई सल्लाहकारमा रहने गरी नयाँ पंक्तिलाई नेतृत्व विकास गर्ने र केन्द्रीय समिति विस्तार गर्ने गरी भेला सम्पन्न भयो । पछिल्लो कालमा संगठन पश्चिम क्षेत्रमा समेत विस्तार भयो । थारुवान, मगराँत लगायतमा सम्पर्क सम्बन्ध बढ्दै गयो । मुलुकमा संविधान सभाको निर्वाचन प्रक्रिया सुरुभएपछि संविधान सभाको निर्वाचनमा भूई तहदेखिकै कार्यकर्ता परिचालनसहित भव्य जनपरिचालन भयो । जसले क्रान्तिकारीहरुलाई निर्वाचनमा विजय गराउन सफल भयो ।
संविधान सभाको निर्वाचनपछि केही समय संगठन शिथिल जस्तै भयो । क्रान्तिकारीहरुको नेतृत्वमा सरकार निर्माण भएपछि सरकारको जनपक्षिय नीतिकार्यक्रमहरुको प्रचार र संविधानमा जातिय अधिकार सुनिश्चित गराउन केही कार्यक्रमहरु निर्माण भयो । राजनीतिक अन्तरक्रियाहरु, केही जनपरिचालनमूलक कार्यक्रमहरु सम्पन्न भए । पछिल्लो कालमा देशी विदेशी प्रतिक्रियावादीको घेराबन्दी र षडयन्त्रको परिणामस्वरुप क्रान्तिकारीहरु सरकारबाट बाहिरिन पुग्यो । नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनताको मुद्दामा संघर्ष केन्द्रित हुदै गयो । बदलिएको नयाँ परिस्थितिमा फेरी संगठनको दोस्रो राष्ट्रिय भेला गरी पुराना जिम्मेवार कमरेडहरु र नयाँ सदस्यहरुलाई राखी तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति निर्माण भयो । नयाँ राजनीतिक मुद्दाहरुसहित राष्ट्रिय सम्मेलनलाई संघर्षकै कार्यक्रमको रुपमा अघि बढाउने तयारी हुदै गर्दा मुलुकमा कठपुतली सरकारको राजिनामाको मागसहित राष्ट्रिय स्वाधिनताको आन्दोलनमा केन्द्रित हुनुपरेकोले मोर्चाको राष्ट्रिय सम्मेलन कार्यक्रम तल्काललाई स्थगित गरियो । त्यसपछि पार्टीको आयोजनामा भएको संघर्षको विविध कार्यक्रमहरुमा मोर्चा सक्रिय भयो ।
पछिल्लो कालमा २०६७ असोज १३ गते तमु राष्ट्रिय मुक्ति मोर्चा र तमु स्वशासित संघविच एकता सम्पन्न भयो । क.पुरन तमु लगायत पश्चिम क्षेत्रका कमरेडहरुको एकताले संगठनलाई विस्तार र विकासमा मद्दतनै पुग्यो । लगत्तै बसेको एकता बैठकले संगठनको स्थगित राष्ट्रिय सम्मेलनलाई २०६७ पौष ३,४र ५ गते पोखरामा सम्पन्न गर्ने निर्णय भयो । प्रचारात्मक, व्यवस्थापकिय र आर्थिक संकलन लगायतकाममा घनिभूत तयारी हुदै गयो । यहि विचमा पार्टी केन्दको छैठौं विस्तारित बैठक तमुवानमै परेको र त्यसको व्यवस्थापकीय काममा मोर्चाका जिम्मेवार कमरेडहरु पनि लाग्नु पर्ने भएकोले सम्मेलनको तयारीमा असर पर्ने र यहि विचमा संसदको विशेष अधिवेशनमा मोर्चाका सभासद्हरु जानुपर्ने कारणले निर्धारित मितिको सम्मेलन कार्यक्रम स्थगित गरियो । फेरी पुनः माघ ७,८ र ९ गते अर्को मिति निर्धारण गरी सम्मेलनको तयारीमा लागियो । प्रचारात्मक तथा व्यवस्थापकीय कामहरु घनिभूत बन्दै गएको स्थितिमा फेरी मोर्चाको निर्धारित गरिएको सम्मेलन स्थगित गर्नुपर्ने भयो । खासगरी पार्टी केन्द्रको बैठकले तत्काल मोर्चा÷जवस लगायत भातृसंगठनहरुको भेला तथा सम्मेलन स्थगित गर्ने निर्देशन भए बमोजिक हाम्रो मोर्चाको सम्मेलन कार्यक्रमपनि फेरी स्थगित हुन पुग्यो ।

तेस्रो राष्ट्रिय सम्मेलन स्थगन र असरहरु
राष्ट्रिय सम्मेलनको कार्यक्रम विधानतः आवधिकरुमा गर्ने गरिन्छ । हाम्रो संगठनको विधानले व्यवस्था गरे बमोजिम सामान्य स्थितिमा ३ वर्षको विचमा सम्मेलन गर्ने प्रावधान छ । विधानमा विशेष परिस्थिति भए सम्मेलन अघिपछि गर्न सकिने व्यवस्था छ । गत वर्ष पार्टीको आयोजनामा भएको संघर्षको कार्यक्रममा केन्द्रित हुनु पर्दा सम्मेलन स्थगित हुन पुग्यो । यसपटकपनि मुलुकको स्थितिमा तात्विक भिन्नता त आएको छैन नै । तथापि सम्मेलन गर्न सकिएला भनेर हाम्रो संगठनको शक्ति तागत सवै लगाएर सम्मेलन तयारीमा लागियो । परन्तु सम्मेलनको अन्तिम स्थितिमा आएर स्थगित गर्नुपर्दा त्यसले नेताकार्यकर्ता पंक्ति, शुभचिन्तक, समर्थकमा शिथिलता, निराशा र अविश्वास पैदा गराएकै छ । निश्चयनै मुलुकमा यतिखेर राजनीतिक वर्ग संघर्ष भिषण बनेको छ । राष्ट्रिय आत्मसमर्पणवाद विरुद्धको संघर्ष घनिभूत बनेको छ र राजनीतिक धुब्रिकरण तिव्र छ । राजनीतिक संकट गहिरिदै गएको छ । मुलुकको वर्ग संघर्षको प्रतिविम्वन एक जिवन्त पार्टीमा पनि पर्नु स्वभाविक छ । यतिखेर प्रायः सवै राजनीतिक दलहरुमा अन्तर संघर्ष तिव्र छ । अन्तर संघर्षको जटिल स्थितिमा सहयोगी जनसंगठनहरुको भेला सम्मेलन प्रभावित हुने नै भयो । सोही कारण पनि मोर्चाको सम्मेलन स्थगित हुने कारण बन्यो । साथै देशी तथा विदेशी प्रतिक्रियावादीहरु जनपक्षीय क्रान्तिकारी शक्तिहरुलाई घेराबन्दी गर्ने, विघटन, विसर्जन गराउने तथा दमन गर्ने षडयन्त्रको तानावुनामा देखिन्छ । यो स्थितिमा प्रतिक्रियावादीहरुको षडयन्त्रविरुद्ध जनताको मुक्ति र स्वाधिनताको लागि संघर्षमा केन्द्रित हुनुपर्ने अवस्था छ । जनताको वलिदानीपूर्ण संघर्षहरुबाट प्राप्त उपलब्धीको रक्षा र जनअधिकारको बहालीको संगिन मोडमा संगठनात्मक काममा भन्दा संघर्षमा केन्द्रित हुनुपर्नाको कारणपनि संगठनात्मक सम्मेलनको कार्यक्रम स्थगित हुन पुगेको हो ।

भावि कार्यभारहरु
सम्मेलन स्थगित भएपछि कार्यकर्ता पंक्ति, समर्थक, शुभचिन्तक जनसमुदायमा भएको निराशा, शिथिलतालाई चिर्न प्रशिक्षणमुलक कार्यक्रमहरु अघि बढाउन आवश्यक छ । मुलुकको गहिरिदै गएको राजनैतिक संकट  र अस्तव्यस्ततालेपनि जनसाधरणहरुमा अन्यौल आशंका र त्रासपनि देखिन पुगेको छ । जनप्रशिक्षण, जनभेटघाट लगायतका कार्यक्रमहरुलाई अभियानात्मकरुपले लैजान आवश्यक छ । पछिल्लोकालमा मुलुकमा सापेक्षित देशभक्त र वामपन्थीहरुको संयुक्त सरकार निर्माण भएको छ । छिट्टै जनपक्षिय नीति तथा कार्यक्रमहरु, राहतमुलक कार्यक्रमहरु ल्याउन जनदवाव दिन आवश्यक छ । समग्रमा राजनीतिक परिस्थितिमा अझैपनि सकारात्मक निकास आईसकेको छैन । देशी तथा विदेशी प्रतिक्रियावादीहरुले आफु अनुकुलको राजनीतिक व्यवस्था नआए ध्वंसात्मक, तोडफोड, हिंसा र अराजकतालाई आधार बनाई शान्ति सुरक्षा कायमकै नाममा राष्ट्रपति शासन थोपर्ने षडयन्त्र देशी विदेशी प्रतिक्रियावादीहरुको देखिन्छ । यो स्थितिमा वलिदानीपूण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै जनअधिकारको निम्ति मुलुकको स्वाधिनताको रक्षाको लागि अझै सशक्त जनप्रतिरोधमुलक कार्यक्रमहरु अघि बढाउन आवश्यक छ ।
संगठनलाई विस्तारमात्रै होईन जुझारु र लडाकु पार्न पनि आवश्यक छ । जुझारु संगठनले मात्र प्रतिक्रियावादीहरुको तोडफोड र हिंसाको प्रतिरोध गर्न सक्छ र आफ्नो जनअधिकार बहाल गर्न सक्छ । स्थानीय तहमा जनसेवाको निम्ति जनसत्ताको स्वरुपमा  संयुक्त मोर्चाहरु निर्माण गरी स्थानिय सत्ताको रिक्ततालाई पूर्णता दिनु आवश्यक छ । देशभक्त, गणतन्त्रवादी शक्तिहरु विचमा संयुक्त मोर्चा निर्माण गरी राष्ट्रिय स्वाधिनताको आन्दोलनको दायरालाई फराकिलो पार्नु पर्दछ । समग्रमा प्रतिक्रान्तिकारी षडयन्त्रहरुलाई ध्वस्त पार्न तल र माथिबाट व्यापक हस्तक्षेप गर्न आवश्यक छ । प्रतिक्रान्तिलाई क्रान्तिमा बदल्ने आँट साहस पैदा गर्नु आवश्यक छ ।
-(तमु ह्युल वर्ष ४ अंक १ मा प्रकाशित)

सपना व्यापार

नेटवर्क मार्केटिङ कम्पनीहरूले यसरी पछ्याउँछन् कि बाठा हौं भन्ने पनि तथ्यभन्दा टाढा पुग्छन् र ठगिन्छन् । तिनले भने जसरी सजिलै पैसा कमाउन सकिने भए गरिबी रहन्थेन होला । तर पढालेखा पनि यस्तो तथ्यलाई बिर्सेर रातारात र आकस्मिक रूपले पैसा कमाउने लोभमा फस्छन् । बेरोजगारी र न्यून आयका साथै चाँडै पैसा कमाउने लालसाले एक पछि अर्को ठगीका घटना सार्वजनिक हुँदा पनि अवैध नेटवर्किङ व्यवसायको बजार कायम छ ।

‘मेरो श्रीमान् महिनाको १ लाख रुपैयाँ कमाउनुहुन्थ्यो । म पनि त्यति नै कमाउँथे । त्यसबाट आजसम्म जति कमाएँ भिओपीमा लागेपछि तीन महिनामा त्योभन्दा धेरै बढी बोक्दा चुइँचुँइ भएर ढाडबाट पसिना चुहुने गरी कमाएँ ।’

डेढ महिनाअघि ललितपुरको होटल हिमालयनमा आयोजित कार्यक्रममा पूर्व ‘मिस नेपाल’ रुबी राणाले यसै भनेर सहभागीलाई भिओपीमा लाग्न हौस्याएकी थिइन् । सार्वजनिक छविका कारण पनि उनको भनाइ बिक्यो ।

‘पैसा कमाउने उपाय धेरै छन् तर बुद्धि नभएकाले हामी नेपाली गरिब छौं,’ उनले थपेकी थिइन् । १ हजार ५ सय रुपैयाँको टिकट काटेर प्रवेश पाएका कतिपयले रुबीका कुरामा ताली बजाउँदै पैसा लगाएका थिए । तर अहिले उनीहरू बुझ्दैछन्-  कहिल्यै पूरा नहुने सपना पो बेचिएको रहेछ, रातारात धनी हुन सजिलो रहेनछ ।

सपना व्यापारीले सोझासाझालाई फसाएको यो पहिलो घटना भने होइन । गोल्डक्वेस्ट नामको कम्पनीले यस्तै सपना बाँडेर अर्बौं कुम्ल्याएको नौ वर्ष बितेको छ । करिब दुई वर्ष अघि मात्र युनिटी लाइफ इन्टरनेसनलले करिब ६ अर्ब रुपैयाँ उठाएको थियो । क्विक अर्निङ, ड्यु सफ्ट, प्राइम, प्रतीक्षा, पेन्टागोनो, संरक्षण, पिसी सिटी लगायत नेटवर्क मार्केटिङ कम्पनीले पनि सर्वसाधारणको करोडौं रुपैयाँ कुम्ल्याएका थिए ।

कहिल्यै पूरा नहुने सपनाको पछि लागेर डुब्नेमध्येकी एक हुन् धरानकी सुलोचना राई (नाम परिवर्तन) । धरान-७ कै लक्ष्मी ताम्राकार र सरिता खनालले उनलाई १५ हजार रुपैयाँ लिएर युनिटीको सदस्य बनाएक थिए ।

‘लक्ष्मी र सरिताले ठूला र मीठा सपना देखाएपछि श्रीमान्लाई समेत थाहै नदिई युनिटीको सदस्य बने,’ उनी भन्छिन्, ‘त्यसपछि मैले आफ्नै पैसा समेत लगाएर ८/९ जनालाई युनिटीको सदस्य बनाएँ । अहिले पैसा फसेको थाहा पाए श्रीमान् रिसाउनुहुन्छ ।’

विशुद्ध गृहिणी सुलोचनालाई केही पैसा लगानी गरी खाली समय सदुपयोग गर्दा जीवन बिमा हुने, आजीवन निःशुल्क उपचार गरिने, पाँच वर्षपछि ब्याजसहित पैसा फिर्ता हुने, त्यसअघि पैसा चाहिए जहिले पनि निकाल्न मिल्ने, पैसा राखिएको बैंकको सेयर पाइने लगायत प्रलोभन दिइएको थियो । यसबाहेक सदस्य थपे आकर्षक कमिसन पाइने (३/३ जनाको प्याकेजमा ४ हजार २ सय ५० रुपैयाँ) प्रलोभनमा पनि उनी परेकी थिइन् । गोल्ड क्वेस्टमा समेत रकम फसाएकी उनलाई युनिटी नेपालीले सञ्चालन गरेको कम्पनी भएकाले नभाग्नेमा विश्वस्त पारिएको थियो ।

‘उनीहरूका कुरा सुनेपछि भविष्यमा सुतीसुती खान पाइन्छ र आरामले जीवन बित्छ भन्नेमा ढुक्क भएँ,’ उनले भनिन्, ‘त्यही भएर सदस्य बन्न नचाहने आफन्तलाई समेत आफैं पैसा लगाइदिएर सदस्य बनाउन हौसिएँ र मेरो १ लाख रुपैयाँ डुब्यो ।’

साथीभाइको आग्रहमा युनिटीमा लागेर नवलपरासीका रमेश रानालाई व्यक्तिगत रूपमा घाटा भएन । तर हाल ललितपुरको नखीपोटमा बस्ने उनका कारण निकै जनाको रकम डुब्यो । आफैंले झन्डै ३५ जना सदस्य बनाएर २/३ किस्ता कमिसन समेत खाएका उनलाई कमिसन पाएपछि अझ सदस्य थप्न भनिन्थ्यो । त्यसपछि उनी नयाँ सदस्य खोज्थे । ‘युनिटीमा लागेर म आफै त फसिनँ तर मेरा कारण अरूको रकम डुब्यो,’ उनी भन्छन् ।

पिरामिड शैली -पैसा तिरेर सदस्यता लिएपछि अरूलाई सदस्य बनाउँदै जाने) मा २ हजारभन्दा बढी सदस्यमाथि रहेका रमेशले सोझासाझा ठग्ने धन्दा भएको थाहा पाएपछि युनिटी छाडे । गोल्ड क्वेस्टमा समेत रकम फसाएका उनी नेटवर्क मार्केटिङमा सुरुमा टाठाबाठाले प्रवेश गरेर कमाउने र उनीहरूले जस्तै कमाउने लोभमा पछि प्रवेश गर्ने सोझासाझा फस्ने बताउँछन् । ‘मचाहिँ पछि प्रवेश गर्ने लोभीमा परें,’ उनले ठट्टा गरे, ‘व्यक्तिगत रूपमा नगुमाए पनि कमाइ गर्न नसक्ने ।’

युनिटीमा फस्ने अर्का व्यक्ति खोटाङका मिलन राई हुन् । पाटन क्याम्पसमा स्नात्तकोत्तर गरिरहेका उनलाई त्यतिबेला बेरोजगारीको पीडा थियो । टाढाको दाइ पर्ने आफन्तले युनिटीमा सदस्य बन्न उत्प्रेरित गरेपछि उनी हौसिए । ‘दाइले यसरी पट्याउनुभयो कि म युनिटीको सदस्य बन्न हौसिएँ,’ करिब ३ वर्ष अगाडिको घटना सम्भ“mदै उनी प्रश्न गर्छन्, ‘त्यसमाथि बेरोजगार बसेको बेला पार्ट टाइम काम गरेर कमाइ पनि हुने भविष्य पनि सुरक्षित हुने पेसामा कोचाहिँ नलाग्ला ?’

तर फसिन्छ कि भन्ने दुविधा र भय उनमा थियो । त्यसैले उनले कसरी फाइदा हुन्छ भन्ने बुभmन केही समय युनिटीको कार्यक्रममा भाग लिए र छलफल गरे । ‘युनिटीको कुरा पत्याउन नसकिने खालका थिएनन् ।

त्यसमाथि हिसाबकिताब गरेरै फाइदा हुने देखाए पछि म सन्तुष्ट भएर सदस्य बनें,’ उनले भने, ‘त्यसपछि अरू चार जना आफन्तलाई पनि सदस्य बनाएँ । युनिटी विवादमा नपरेको भए अझ धेरै सदस्य बनाउने थिएँ होला ।’

कतिपय भने आफन्तको कर र आग्रह टार्न नसकेर सदस्य बनेका छन् । धरानका राम सामपाङ त्यसमध्ये एक हुन् । ‘मेरो नजिकको आफन्तले कर गरेपछि उहाँलाई पनि युनिटीको व्यापार गर्न सजिलो होस् भनेर १५ हजार रुपैयाँ तिरें,’ उनी भन्छन्, ‘नेटवर्क मार्केटिङमा रुचि नभएकाले र थाहा नपाएकाले आकर्षक प्रलोभन भए पनि अरूलाई सदस्य बनाइनँ ।’

करिब १० वर्षअघि गोल्ड क्वेस्टको सदस्य बन्दा रमेश र सुलोचनासँग त्यसबारे कुनै ज्ञान थिएन । त्यतिबेला लाहुरेनी आफन्तले कर गर्दै पैसा तिरिदिएपछि सुलोचना र हङकङमा रहेका दिदीभिनाजुले पैसा लगाइदिएपछि रमेश गोल्ड क्वेस्टको सदस्य बनेका हुन् । ‘धेरै पैसा कमिन्छ भन्दै सुनको सिक्का समेत देखाए,’ सुलोचना सम्झिन्छिन्, ‘केही थाहा नभए पनि लाहुरेनी त लागेका छन् भने म के कम जस्तो लाग्यो । अनि डिस्काउन्टमा ३० हजार रुपैयाँ तिरेर छोरीलाई समेत सदस्य बनाएँ ।’

घर परिवार र आफन्तले गैरकानुनी भन्दाभन्दै युनिटीमा लागेर फसेकी एक महिलाका अनुसार नेटवर्क मार्केटिङमा शिक्षित मानिसको समेत ‘ब्रेन वास’ गरिन्छ ।

‘घरपरिवार र आफन्तले गैरकानुनी भन्दाभन्दै पनि म युनिटीको कार्यक्रममा गएँ,’ उनले भनिन्, ‘त्यहाँ यस्तरी ब्रेन वास गरे कि मैले सदस्यता नै लिएँ । पछि २/४ वटा कार्यक्रममा सहभागी भएपछि मलाई उनीहरूको कार्यक्रम नाटकीय लाग्न थाल्यो ।’

करिब १० वर्षअघि एमवे नामक नेटवर्क मार्केटिङ कम्पनीबाट व्यासायिक करिअर सुरु गरेका र हाल नेपाल डेरिभेटिभ एक्स्चेन्ज लिमिटेडका चिफ कन्सल्ट्यान्ट रहेका सुशील बुढाथोकी पटकपटक ठगिँदा पनि मानिसहरू यसैको पछि लाग्नुको मूल कारण सशक्त उत्प्रेरणा र रातारात पैसा कमाउने लोभ भएको बताउँछन् । ‘नेटवर्क मार्केटिङ कम्पनीहरूले यति सशक्त रूपमा मोटिभेट गराउँछन् कि मै हुँ भन्नेहरू पनि तथ्यभन्दा टाढा पुग्छन्,’ उनी भन्छन्, ‘मानिसहरू यसको पछि लाग्नुको अर्को कारण रातारात र आकस्मिक रूपले पैसा कमाउने लोभ पनि हो ।’

सुशीलका अनुसार बेरोजगारी र गरिबी पनि यो व्यवसाय फस्टाउने कारण हो । ‘विश्वमा स्थापित यो व्यवसायको सबैभन्दा बलियो र सबैभन्दा कमजोर पक्ष यो सानो पुँजीबाट सुरु गर्नु सक्नु हो, जसका कारण नेपालमा ठगहरूले खेल्ने मौका पाएँ,’ उनी भन्छन् । (from ekantipur.com)

आइडिया चाहिन्छ

                                                                                                                                                                                      -लीलानाथ घिमिरे

हरेक ब्यक्ति नाम र दामका पछि दौडन्छन् । तर सबैलाई त्यो अवसर कहाँ प्राप्त हुन्छ र । एलेक्स ट्युलाई सोध्ने हो ? ‘आइडिया चाहिन्छ,’ उनी भन्छन्, ‘नामदाम हाम्रै परिपरि छ ।’

साच्चै यो २१ बर्षे ठिटोको कमाइ हेर्नुस् त ! उच्च शिक्षा हासिल गर्न शुल्क तिर्न नसक्ने अवस्थामा पुगेपछि ‘आइडिया’ लगाएर यी बेलायती ठिटोले एकै पटक १० लाख डलर (करिब ८ करोड ४० लाख रुपैया ) कमाए । अर्को २७ बर्षे तन्नेरीे मार्क जकरबर्गको नाम त फेसबुक पुस्ताले नसुन्ने कुरै भएन । १४ लाख नेपालीसहित विश्वका झण्डै ८० करोड मानिससग उनी आफ्नो आइडिया फेसबुकमार्फत जोडिएका छन् ।

हाम्रै छिमेकी भारतको अर्को २८ बर्षे लक्का जवान सबीर भाटियाले बनाएको हटमेल धेरैको पहिलो ‘इमेल एकाउन्ट’ हो । उनको आइडिया एक वर्षमै सफ्टवेयरका बादसाह बिल गेट्सलाई ४ सय मिलियन डलर (करिब ३३ अर्ब रुपैया ) मा बेचेर एकै पटक अप्रत्यासित रुपमा नामदाम दुवै कमाए ।

खोज्ने यन्त्र (सर्च इन्जिन) को सुरुवात गरेका गुगलका सथापक ल्यारी पेज र सेर्गेइ ब्रिन हरेक इन्टरनेट प्रयोगकर्तासग जोडिएका छन् । उनीहरुको विश्वका शक्तिशाली ब्यक्तिको सूचीमा समेत दरिएका छन । उनीहरुको कमाइ औलामा गन्न मिल्ने शून्य (जिरो) अंकमा समेट्न सकिदैन । सूचना प्रविधिका क्षेत्रमा सक्रिय यी सबै युवाले आफ्नो ‘ नाय र पृथक (इनोभेटिभ) आइडिया’ लगाएर अरुभन्दा फरक काम गर्ने बेबसाइट डिजाइन गरेका थिए ।

कम रोचक छ त एलेक्सको आइडिया । सन २००५ को एक दिन उनले मिलियन डलर कमाउने एकमात्र उद्देश्य लिएर आफ्नो वेभसाइटको नामै मिलियन डलर होमपेज जुराउदै यसको सुरुआत गरेका थिए । उनले आफनो साइटको होमपेजलाई  १ लाख पिक्सेल (एउटा थोप्लोले लिने ठाउ) मा विभाजन गरे । त्यसमा जुनसुकै ब्यक्तिले आफ्नो साइटको लिंक राख्न एक पिक्सेल बराबर १ डलर तिर्नुु पर्ने गरी ठाउ बेच्ने बिचार गरे ।

‘मलाई डिग्री पढनका लागि रकम जुटाउनु थियो,’ उनी भन्छन्, ‘म अरुले जस्तो ऋण गरेर पढ्न चाहन्नथे ।’ त्यसैले उनले आफ्नो वेव साइटको ठाउ विक्रीको विज्ञापन गरे । सानो ठाउमा वेवसाइटकको लिंक राख्न गाह्रो हुने भएकाले उनले कम्तिमा १ सय बर्ग पिक्सेल किन्नु पर्ने नियम बनाएका थिए ।

विशेष आकर्षण नभएकाले जसकसैले त्यतिकै उनको होमपेजको ठाउ किन्ने कुरै भएन । त्यो २१ बर्षे अल्लारेलाई कसैले पत्याएनन् । त्यसैले उनले सुरुमा साथी भाइ र आफन्तलाई ४ हजार ७ सय पिक्सेल स्पेस बेचे । त्यो खर्चले उनले पत्रकार सम्मेलन गरे । त्यसको समाचार विविसी, सिएनएनगायतका प्रतिष्ठित संचार माध्यमले प्रसारण गरेपछि भने उनको साइटमा स्पेस किन्नेको ओइरै लाग्यो ।

उनको साइटमा आफ्नो लिंक राख्न चाहनेहरु यति धेरै भए कि उनले माग धान्नै सकेनन् । ठाउ बढाउन सम्भव थिएन, किनकि त्यसो गर्दा साइटको महत्व हुने थिएन । उनले साइट सुरु गरेको १ महिनाभित्र पिक्सेल बेचेर २ लाख ५० हजार डलर कमाइ सकेका थिए । माग धान्न नसकेपछि उनले केही समयका लागि बेच्न बन्द गरे ।

उनले कुनै निश्चित दिन तोकेर बेच्ने सुचना गरेको नेपालका कार्टुनिस्ट राजेश केसीले अन्तराष्ट्रिय संचार माध्यमबाट थाहा पाए । ‘उसले बेच्ने भनेको दिन स्पेस किन्न रातभर अनिदै बसेको थिए,’ उनले सम्झिए, ‘विश्वभर चर्चा पाएको उसको वेवसाइटमा आफ्नो साइटको लिंक राख्न पाउनु ठूलै प्रतिस्ठाको विषय लाग्यो ।’

क्रेडिट कार्डमार्फत भुक्तानी दिएर उनले किनेको १ हजार पिक्सेल स्पेशमा नेपालको प्रतिनिधित्व राजेशको फलानो डटकमले मात्रै गरेको छ । त्यसको संकेत उनले ‘नेपाल’ राखेका छन् ।’ त्यतिखेर उनको रकम प्राप्त भएको भनेर एलेक्सले भर्पाइसमेत पठाएका थिए । उक्त साइटमा लिंक बसेपछि त्यो वर्षभर भिजिटर निकै बढेको केसीले सुनाए । अहिले एलेक्सले रकम नपाएको भनेर केसीको लिंकलाई पेन्डिङमा राखेका छन् ।

के नमिलेर बैंकबाट उनको रकम एलेक्सको खातामा गएन । एलेक्सले पुन खोजिनीति गरे केसी उक्त रकम फेरि भुक्तानी गरेर स्पेस आफ्नो बनाउने तर्पm जुटेका छन् ।

त्यसरी स्पेश बेचेका एलेक्सले ९ लाख ९९ हजार हजार पिक्सेल बेचेपछि बाकी १ हजार पिक्सेल लिलामीमा राखेका थिए । उनको त्यति स्पेसलाई १ लाख ६० हजार १ सय ९ डलरसम्म तिर्ने ब्यक्ति निस्किएका थिए । त्यति तिर्न तयार भएको बोलपत्र बैधानिक नभएकाले उनले अन्तिममा ३८ हजार  १ सय रुपैयामा बेचे । यसरी उनले होम पेजको स्पेस बेचेर १० लाख ३७ हजार १ सय रुपैया कमाए । उनको मिलियन डलर होमपेज अहिले विभिन्न साइटका चिन्हहरु अंकित लिंकले झिलिमिली छ । छैन त योे आइडिया कमालको ?

अर्को पृथक आइडिया भएका युवाको कथा छिमेकी देश भारतमै छ । भारतको चंडिगढका २८ बर्षे युवा सबीर भाटियाले इन्टरनेटको माध्यमबाट मेलको सुविधा दिने हटमेल बनाएका थिए । जुन सुरुमा हरेक इन्टरनेट प्रयोगकर्ताकोे जीवनसग जोडिन आएको थियो । सन १९९६मा उनले बनाएको हटमेलप्रति माइक्रोसफ्टका सस्थापक विल गेट्ससमेत लोभिए ।

पटकपटको बार्तापछि उनले हटमेल बनाएको एक वर्ष नवित्दै (भाटियाको २९ जन्मदिनका दिन) ४ सय मिलियन डलरमा माइक्रोसफ्टलाई बेचेका थिए । अमेरिकामा हटमेलको विकास गरेका भाटियाले बिविसीलाई भनेका छन्, ‘अमेरिका जादा भारतको विदेशी मुद्रा अधिनियम अनुसार २ सय ५० डलर मात्रै लिएर गएको थिए ।’ पहिलो पटक विलगेट्सले हटमेल खरिद गर्न भेट्दा भाटिया डराएका थिए । ‘भेटेको १५ मिनटपछि सबै कुरा सामान्य भयो,’ उनले भने, ‘गेट्स पनि आम नागरिकजस्तै रहेछन् ।’

हटमेल बेचेको रकम आफ्नो खातामा आएपछि उनले तीन दिनमा बिएमडब्लु, फरारे, स्पोर्सलगायतका महंगा तीन गाडी किनेको बताएका छन् । उनीसग अहिले आफ्नै निजी विमानसमेत छ । अहिले हामीले प्रयोग गर्ने याहु, जिमेल, रेडिफमेललगायतका मेलिङ एकाउन्ट भाटियाकै नक्कल गर्दै बनाइएका हुन् ।

सामाजिक संजाल फेसबुकका सस्थापक मार्क जकरबर्गलाई नचिन्ने इन्टरनेट प्रयोगकर्ता सायदै कोही होला । विश्वका झण्डै ८० करोड मानिस त उनको यो साइटसग प्रत्यक्ष जोडिएका छन् । यो २७ वर्षे ठिटोको यो सफलताको पछाडिको ‘आइडिया’ साच्चै अनौठो छ ।

अमेरिकाको हार्बर्ड विश्वविद्यालय भर्ना हुदा जकरबर्गलाई ‘फेसबुक’ नाम गरेको किताव दिइएको थियो । विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई चिनाउने गरी तयार गरिएको उक्त पुस्तकमा विद्यार्थीको नाम, उमेर, तह, तस्बिर समावेश थियो । त्यसबाट जकरबर्ग निकै प्रभावित भए । सूचना प्रविधिका विद्यार्थी जकरबर्गले सगै बस्ने साथिहरुसग मिलेर त्यही फेसबुक नाममा सामाजिक संजाल बनाए ।

सुरुमा त्यही हार्बर्ड विश्वविद्यालयमा सीमित फेसबुकले आइ लिग र स्टैनफोर्ड विश्वविद्यालय हुदै बाहिरी सन्सारमा प्रबेस गर्‍यो । जसको चमत्कारिक सफलता अहिले हाम्रासामु छ । उनको यो साइटमा जोडिने नेपालीको संख्या यही साता १४ लाख नाघेको छ । पछिल्लो १ महिनामात्रै ५ प्रतिशत नेपाली प्रयोगकर्ता बढेका छन् । सबैभन्दा बढी अमेरिकामा फेसबुक प्रयोग गर्नेहरुको संख्या १५ करोड ७५ लाखभन्दा बढी छ । जकरबर्गले गत वर्षमात्र आफ्नो आम्दानीमा ८ अर्ब पाउन्ड ( करिब १० खर्ब ४८ अर्ब रुपैया ) बृद्धि गरे ।

धनाढ्यको सूची प्रकाशन गर्ने फोर्ब्स पत्रिकाका अनुसार उनी अमेरिकाका १४ औं धनी हुन् । उनको ब्यक्तीगत सम्पत्ति १७.५ बिलियन डलर ( करिब १४ खर्ब २८ अर्ब रुपैया ) छ । फेसबुकको प्रतिसेकेन्ड आम्दानी २ हजार २ सय रुपैया छ ।

फेसबुकले यसै बर्ष आफ्नो सम्पत्ती १ सय अर्ब डलर मूल्यांकन गरेर बजारमा साधारण शेयर विक्री गर्दैछ । फोब्र्सको मूल्यांकनमा संसारका सबैभन्दा लोकप्रिय ब्यक्तिमा यो साता कार्लोस स्लिम हेलु, बिल गेट्सपछि तेस्रो नम्बरमा जकरबर्ग छन् ।

फेसबुकसग प्रतिस्पर्धा गर्दै आएको गुगल प्लसको माउ सस्था गुगलका सस्थापक ल्यारी पेज र सर्गेइ ब्रिनको आइडिया कम रोचक कहा छ र ?

सन १९९८ को एक दिन ग्यारेजमा ४ कर्मचारीबाट सुरु गरिएको गुगललाई सुरुआतको खर्च धान्न आफन्त र साथीभाइको मुख ताक्नु  परेको थियो । त्यसको एक दशक नबित्दै गुगल इन्टरनेट दुनियामा सबैभन्दा बढी सम्पत्ती कमाउने साइट बन्यो, भलै भर्खरै त्यसलाई फेसबुकले उछिनेको किन नहोस् । तै पनि गुगलका सारा उत्पादन सित्तैमा प्रयोग गर्न पाइन्छ ।

खोजी यन्त्र (सर्च इन्जिन) गुगल सर्चबाट सुरु भएको यसको सेबामा अहिलेसम्म ५० औं नाम जोडिएका छन् । यसको सफल इमेल सेवा जिमेलदेखि, भर्खरै आएको फेसबुकजस्तै नेटवर्किङ साइट गुगलप्लस लोकप्रिय ब्लगिङ सेवा ब्लगर, गुगल म्याप्स, अर्थ, हेल्थ, न्युज, आइ, इमेजेज, युट्युव, पिकासा, आरकुट, बुक सर्च, डेस्कटप सर्च, फाइनेस, पेटेंट, मोवाइलका साथसाथै इन्टरनेट ब्राउजर क्रोमलगायत मोवाइलमा प्रयोग गर्ने अपरेटिङ सिस्टम एन्ड्रोइडसम्म सबै सेवा निशुल्क छन् ।

अचम्ममा पार्ने कुरा छैन त ? अमेरिकाको स्ट्यानफोर्ड विश्व विद्यालयका स्नातक पेज र ब्रिनको आइडियालाई मान्नै पर्छ । उनीहरुको त्यही आइडियाले संसारले फाइदा उठाउन पाइरहेको छ । गुगलले प्रतिस्पर्धा गरेकैले फेसबुकमा समेत च्याट, भिडियो कल लगायतका सुविधा थपिएका हुन् ।

गुगलले ती दुई युवालाई अर्बपति बनायो नै । संसारमा लोकप्रिय साइट संचालन गर्नेहरुले यसले प्रदान गर्ने विज्ञापन राखेर डलर कमाइरहेका छन् । त्यसबाहेक हरेक इन्टरनेट पुस्तासग यो जोडिन आएको छ । गुगल नाममा मात्र सीमित नरहेर हरेक कुरा खोज्न गरिने क्रिया (गुगल गर्ने) सम्म आइपुगेको छ । गुगलले खोजी इन्जिन नबनाइदिएको भए सूचना संसारको अथाह समुन्द्रबाट आफूलाई चाहिएको कुरामात्र खोजेर निकाल्न सम्भव हुन्थ्यो होला र ?

अहिले यो कल्पनाको कुरा नगरौं । तपाइको घरको धुरी ५ वर्षअघि कस्तो थियो र छाना फेरेपछि कस्तो भयो भन्ने गुगल अर्थले मात्र बताउन सक्छ । हैन भने तपाइले त्यसलाई हेर्न छानामै चढ्नु पर्छ । त्यही पनि त्यतिखेरको कुरा विर्सिसक्नु भयो कि ?

एक तथ्यांक अनुसार गुगलले प्रतिसेकन्ड ५५ हजार नेपाली रुपैया कमाउछ । यसको आम्दानीको ९० प्रतिशत हिस्सा विज्ञापनबाट उठाउछ । उसको दावी अनुसार विज्ञापनबाट संकलन गरेको रकमको आधा हिस्सा उसको विज्ञापन प्रयोग गर्ने अरु साइटलाई उसले तिर्छ । यी सफलताका कथाले पक्कै तपाईलाई पनि ‘इनोभेटिभ आइडिया’ मा घोत्लिन बाध्य पार्यो नै होला ।  (from ekantipur.com)

थोराङ्लापासको अविष्मरणीय रमाइलो यात्रा

प्राकृतिक सुन्दरताले भरिएको छ नेपाल भन्नेकुरा जतिले सुनेका छौं तर त्यसको प्रत्यक्ष अनुभूति भने कमैले गर्न पाएका छांै । अझै त्यसमा पनि हिमाली मनोरम दृष्यको मनोरञ्जन लिदै चांैरी र च्याङ्ग्राहरूको हुललाई छिचोल्दै हिमाली यात्रा गर्नुले दिने आनन्दको वर्णन छोटकरीमा सम्भव त छैन । पढेको काठमाडौंको नेपालभन्दा देखेपछिको हिमाल, पहाड, तराईसहितको नेपाल कयौंगुणा बढी सुन्दर र मनमोहक भने निश्चित छ ।
दशैं तिहार आयो कि  कतै घुम्न जाने योजना बनाउनु केही बर्षदेखि हाम्रो स्वाभाविक प्रक्रिया नै बनेको छ । लामो छुट्टी र कामका हिसाबले फुर्सदिलो रहनु पर्ने भएकाले यो बेला घुम्न जानु हाम्रा लागि सहज छ तर त्यतिबेला घुम्न जाँदा अनिवार्य रूपमा एउटा प्रश्नको बारम्बार उत्तर दिनुपर्ने हँुदो रहेछ । किन दशैंमा नि घुम्न आको वा गाको ? जुठो सुत्केरो पर्यो कि के हो ? अर्थात् दशैं मान्न नहुने भएर घुम्न आएको हो कि भनेर प्रश्न गर्ने गर्दछन् । एक त नेपालीहरूले घुम्दैनन भन्ने जड मानसिकता पर्यटकीय क्षेत्रका नेपाली होटल व्यावसायीहरूमा पनि जर्बजस्त रूपमा रहेको पाइन्छ भने अर्कोतर्फ सामान्यतः दशैंको बेला घुम्ने कुरालाई असहज रूपमा लिने देखियो । जे होस् नयाँ ठाऊँ घुम्न जाँदा त्यसबाट हुने रमाइलोले दिने आनन्द कुनै पनि अर्को किसिमबाट प्राप्त नहुने भएकाले अनि फुर्सदिलो समयका कारण विगत बर्षहरूजस्तै यसपाली पनि हामी तीनजना हिमालय क्षेत्र घुम्न जाने योजना बनायौं । हाम्रो यात्राको छनौटमा पर्यो थोराङ्लापास अर्थात लमजुङ बेशिशहर, मनाङ हुँदै मुस्ताङ निष्केर बेनी हुँदै पोखरा आउने पैदल यात्रा । हामी सोही अनुरूप त्यसतर्फ लाग्यौँ ।
काठमाडौंबाट निष्केको करिब ५ घण्टाको माइक्रो यात्रापछि १ः०० बजेतिर हामी बेशी सहर पुगेका थियौं । केही माथिसम्म कच्ची बाटो भए पनि मोटर जान्छ भन्ने सुनेर मोटरको खोजीमा लाग्यौं । बेशिसहरबाट केहीमाथि स्यांगेसम्म मोटर जाने रहेछ ।
हामी बस चढ्यौँ, बाटो कठिन थियो । ड्राइभर अनुभवी र मोटरले सजिलै तान्छ भन्ने जानकारी पाएका थियौँ । तर पनि बाटोको अवस्थाले मोटर उपि|mदा हाम्रो मन सिरङ्ग गर्दथ्यो । विशेषतः महिलाहरू ‘आवि…’को आवाजले कहालिन्थे । पुरुषहरू भने डराएको देखाए इज्जत जाने डरले होला नडराएको जस्तो गर्दै बसेका थिए । अर्थात् डरको मात्रा फरक थियो, तर डर सबैलाई थियो । किनकि बाटो नै त्यस्तै थियो । हामी मोटर चढेर करिब आधाघण्टा बाटो हिडेका थियौं । एक्कासी एकजना महिला ‘ओइ गाडी रोक, गाडी रोक भन्या’ भन्दै कराइन । बसका सबैले उनलाई हेरे उनी भन्दै थिइन्, ‘गाडी रोक, यस्तो जाबो माईलाले चलाको गाडीमा पनि चढ्छा, मान्र्नु छ र’ भन्दै कराइन् । कुरो के रहेछ भनेर बुझ्दा कुरा त रमाइलो रहेछ । अर्थात्, बसमा खचाखच यात्रु थिए । उनले सुरुमा ड्राइभर कस्तो छ, देखिनन् तर पछि अघि सर्दै जाँदा ड्राइभरलाई देखिछन् । अनुहारमा दारी जुँगा नभएका मंगोलियन अनुहारका ड्राइभरले लामो कपाल पालेका रहेछन् । रबरले कपाल बानेको, रातो लुगा लगाएको देखेपछि ती महिलाले ड्राइभरलाई केटीमान्छे भन्ने ठानिछन् । उनको सोचाइमा केटीले बस चलाउन सक्दैन भन्ने रहेछ । उनी त्यो ड्राइभरले बस दुर्घटनामा पार्छ भनेर डराइन र बस रोकेर झरिन् र पैदल हिँडरे जान तयार भइन । त्यो देखेर देशको चेतनास्तर र महिलाले महिलालाई गर्ने व्यवहारको थप बोध भयो हामीलाई । त्यो देखेर सबै बसका यात्रु हाँसे ।
हामी बेलुकी सांगे पुग्यौ, र त्यहीँ बास बस्यौँ । हामीले भोलिपल्ट बिहान सँगै लैजानको लागि भरियाको खोजी गर्यौ । भरियाको लागि राम्रो मोलमोलाई हुँदो रहेछ, त्यहाँ । भरिया चाहियो भन्ने बित्तिकै त्यहाँका पसले साहुजीहरूले आ-आफ्ना सम्पर्कमा भएका वारिपारिका गाऊँमा बस्नेहरूलाई फोन गर्ने चलन रहेछ । फोनबाटै पैसाको कुरो मिलेपछि उनीहरू आउने रहेछन् । त हामीले पनि भरियाका लागि सोध्याँै तर पैसा महँगो मागियो । हामीलाई भरिया चाहिएको छ भन्ने कुरा सिमेन्ट बोक्दै गरेका एकजना स्कुले विद्यार्थीले थाहा पाएछन् । उनी हामीछेऊ आएर म जान्छु भने । हाम्रो नयाँ ठाऊँको यात्रा र अनुभवी भरिया पाएमा सजिलो हुने अनुमान थियो । तर ती भाइ कहिल्यै नगएका रहेछन् । तर पनि हामीमा उनको सोझोपन र पढ्नका लागि खर्च जुटाउन सिमेन्टको भारी बोकेको उनीबाट सुन्दा मन गह्रुंगो भो र उनैलाई लैजाने निधो गर्यौं र दैनिक १हजार एक सय रूपैयाँ दिने गरेर उनलाई करिब २० किलो जतिको झोला बोकायौँ । एकातर्फ हामीले दश कक्षा पढ्दै गरेका विद्यार्थीलाई झोला बोकाउँदा असहज ठानिरहेका थियाँै भने अर्कोतर्फ ८/१० दिनमा उसलाई १२/१५हजार कमाउने अवसर दिएकोमा आत्मरति पनि हामीले लिइरहेका थियौँ । फेरि पनि एकपटक हाम्रो देश, सरकार, शिक्षा नीति, गुणस्तरीय शिक्षा अनि हाम्रा विद्यार्थी अनि हाम्रो देशको भविष्य बारे अनेक ढंगले मनमा कुरा खेलिरहेको थियो ।
हामीले यात्र अघि बढायाँै । झरनाले सजिएका पहाडहरू मानौ हाम्रै स्वागतले उभिएझैं उभिएको देख्दा मन खुसीले गदगद हुन थाल्यो । अब देश र जनताको बारेमा भद्र कुरा होइन झरना, नदी पहाडको सुन्दरता हेर्नमा मन रमाउन थाल्यो । हामी सुसाइरहेको मस्र्याङदीको सुस्केराको साथ लागेर मनाङको ताल भन्ने ठाऊँमा बेलुकी बास बस्न पुग्यौँ । काठैकाठले बनाएको आधुनिक पाराका होटल अनि विदेशीहरूको घुइँचो देख्दा हामीमा आफू अल्पसंख्यकको रूपमा अनुभूति हँुदै थियो । भोलिपल्ट बिहानै हामी तालबाट हिँड्यौ । बाटोमा प्रसस्त मालवाहक वाहनहरू भेटिन्थे अर्थात् खच्चड । अधिकांश सामानहरूको ढुवानी त्यही खच्चडबाट हुने रहेछ । मनाङ जोड्ने मोटर बाटो खन्दै गरेको सुनियो । बाटो सेनाले खनेको भनेर थाहा पाइयो तर अफ्ठयारो पहरा फार्दै थिए सर्वसाधरण जनता । हामीले खै त सेना भनेर सोध्याँै तर उनीहरूको जवाफ ‘छैन सेना’ भन्ने आयो । बाटो हिँड्दा हामीलाई निकै गारो भो । काठमाडौंको बसाइले हामीलाई सुविधाभोगी बनाएको थियो । फेरि यात्रामा हामीलाई के विश्वास थियो भने विदेशी भन्दा त हामी हिँड्न सजिलै सक्छौँ । तर त्यो झुठो सावित भो, अर्थात् हामीलाई हिँडाइमा विदेशीले सजिलै जित्ने रहेछन् । हामीले त्यसलाई, हाँसोको रूपमा ‘एउटै विदेशी हामीसँग टिकेनन्, सब अघि भागे’ भनेर आफैप्रति व्यंग्य गरेर हाँस्ने गर्यौ ।
तेस्रो रात हामी भ्राताङमा राजु होटलमा बास बस्यौँ र भोलिपल्ट लोअर पिसाङ हुँदै होग्देमा पुगेर बास बस्यौँ । हिँडाइले खुट्टा पूरै दुखेको थियो । राताम्ये स्याऊका बोटहरू नियाल्दै हामी हवाइजहाज देख्ने ठाऊँ पुगेछौँ । हवाइजहाज देखेपछि हामीलाई थाकेको शरीर दुःखेका खुट्टाको भावना बुझ्दै यहाँसम्म हवाइजहाजमा आउन पाएको भए हुने रहेछ भन्ने पनि लाग्यो । तर झरना, नदी, पहाड अनि त्यो मनमोहक दृश्य हेर्दै आएको आखाँले भने जे गरियो सही गरियो भन्दै थियो । हामी बिहान उठने ब्िित्तकै अन्नपूर्ण हिमाल पछाडिको बाटो हँुदै मनाङतिर लाग्यौँ । करिब १२ बजे हामी मनाङ पुग्यौं ।  मनाङमा एक होटलमा नास्ताको लागि बसियो । एप्पल पाई पाइने रहेछ । तातो पाइ खाऊँ भनेर खाइयो, तर त्यसले भातको भोक नै टार्यो । खाना नखाई हामी घुनसाङ बस्ने योजनाम गयौं । तर घुनसाङमा दुईवटा होटल रहेछन् । ती सबै मनाङ जाने तरखरमा भएकाले बस्न पाइएन । हामी पुन ४ बजे त्यहाँबाट नजिकको होटल भेट्न याक खर्कका लागि हिँड्यौ । थकाई धेरै नै थियो ।  तर सिरसिरे बतासलाई सहन गर्दै चौंरीको भर्खरका बच्चाहरू खेलेको दृश्य हेर्दै हामी बल्लतल्ल याकखर्क पुग्यौँ । सुत्नका लागि कोठा पायौँ र होटलमा विदेशीको घुइँचो थियो । कुर्ची कम भएर सबै कुर्चीमा बस्न पाएका थिएनन् । तीन हजार आठ सय मिटरको उचाइबाट एकैचोटि चार हजार दुईसय मिरटरको उचाइमा पुगेको भएर होला बिस्तारै टाउको दुःख्न सुरु भएको थियो । हामी खाना खाएर सुत्यौ र भोलि पल्टदेखि बिस्तारै लेक लाग्न सुरु भएको महशुस भयो । हामी बिस्तारै बिस्तारै लोअर बेशक्याम्पतिर लाग्याँै । बेलुकी लोअर वेशक्याम्प पुगेर बास बस्यौँ तर भोलिपल्ट अपर बेशक्याम्प जान सक्ने स्थितिमा थिएनौँ । भोलिपल्ट एक दिन त्यहीँ आराम गर्ने योजना बनायौँ र पर्सिपल्ट मात्रै हामी अपर बेस क्याम्प लाग्यौँ । करिव बिहान तीन बजे उठेर हामी उचाइ चढ्यौँ । ४५ सय मिटरको उचाइबाट हामी करिब डेढ घण्टामा ४८ सय मिटरको उपल्लो बेशक्याम्प पुगेका थियाँै । उक्लन निकै अफ्ठ्यारो महशुस भइरहेको थियो । त्यसपश्चात् हामी बिस्तारै बिस्तारै पाँच हजार चार सय मिटरको उर्चा थोराङलापास पुग्याँै । निकै गारो गरी त्यहाँ पुगेपछि हिउ“m टेक्न पाउँदा हाम्रा सबै दुःखहरू गयो र सबै खुसी बनेर फर्किए । हामीले त्यहाँ फोटो खिचायौँ र मुस्ताङतर्फ ओरालो लाग्यौँ । करिब ६ घण्टाको ठाडो ओरालो झरेपछि मुक्तिनाथ पुगियो । मुक्तिनाथबाट मोटर चढेर जोमसोम पुगियो । जोमसोम पुगेर थाकेका खुट्टालाई स्याहार सुसार गर्दै हामी भोलिपल्ट बेनी हँुदै पोखरा आइपुग्यौ ।
आफ्नत्वले भरिएको राजु होटल
हामीले विगतका कतिपय हिमाली यात्रामा नेपालीहरूलाई होटलवालाले पर्यटकको रूपमा नस्वीकारेका कारण हाम्रा केही यात्रा, दुःख अनुभूति सहितका यात्राहरू बने । कोठा खाली भए पनि ‘नेपाली हो’ भनेपछि ‘छैन’ भन्ने प्रसस्तै भेटिन्थ्ये तर बेशिसहर थोराङलापास यात्रामा भने होटलवालाहरूले निकै माया दिएको हामीले अनुभूत गर्यौँ । त्यसमा पनि ब्रातांको राजुहोटलले भने नेपाली भएकै नाताले दिएको सम्मान भने सारै उच्च थियो । स्याऊ घारीको बीचमा रहेको त्यो होटलमा हामी जाने बित्तिकै कफी पनि उनीहरूले स्वागत स्वरूप खुवाएका थिए । हामी खुसीले गद्गद् भयाँै । कुरा पैसा नलिएर होइन, मुख्य कुरा नेपाली पर्यटकप्रति होटलवालाले दिएको आफ्नत्वले हामीलाई सारै लोभ्यायो । होटलमा बस्दा ट्वाइलेटको झ्यालबाट देखिएको राताम्य स्याऊले नयाँ अनुभूति दियो । पूरै बाटो भरि नै होटलवालाहरूले गरेको व्यवहार सराहनीय लाग्यो । केही बर्ष पहिलेको अन्यत्रको हिमाली यात्रामा हामीलाई होटलवालाहरूले आफूकहाँ बास बसीदिओस् भनेर झुटो जानकारी पनि दिएका थिए । बास बस्न पुगिने ठाऊँलाई पनि पुगिदैन भन्दै आफूकहाँ राख्ने र आफूलाई राख्न मन लागेन भने नजिकै छ भनेर रातको समयमा पनि टाढाको बाटो हिँडाउने घटना हामीले भोगेका थियौँ । तर थोराङ्लापास बाटो क्षेत्रमा हामीलाई होटलव्यवसायीहरूले मायाले स्वागत गरे । आफ्नत्वको खाना खुवाए र हामी हाँसी हाँसी पाहुनाको रूपमा यात्रा गर्न सफल भयौँ ।
विकाससँगै विकृति
धरै पर्यटक आउनुले हामीलाई आर्थिक आधार मिलेको छ । दुर्गम ती ठाऊँहरूमा बिजुली, आधुनिक सुविधाहरू दिन पनि सहज बनेको छ । तर त्यसले सकार मात्रै होइन नकार पनि ल्याएको छ । हामीले यात्राको क्रममा साना साना बच्चाहरू बाटोमा चरेस जम्मा गर्दै गरेको पायौँ । उनीहरूलाई सोधपुछ गर्दा, कतिपय विदेशीलाई महँगोमा बेचेर पैसा कमाउने योजनामा रहेछन्, उनिहरू । कलम कापी लिएर पढ्न जानुपर्ने हातहरू चरेस माडिरहेको देख्दा हाम्रो मन नराम्रोसँग कुँडियो । यसप्रति सम्बन्धित निकायको चासो बढाउनुपर्ने देखिन्छ ।
सबैथोक चढ्नु तर दशैंको बेला मुक्तिनाथ-बेनी बसमा नचढ्नु
दशैंमा बेनी-जोमसोम गाडी चाढियो भने जान्नुस् निश्चित फसियो । यो एक पटक देखेर मात्रै वा सुनेको कुराबाट यसो भनिएको होइन । पटक पटकको हाम्रो अनुभवबाट के भोगियो भने बेनी-जोमसोम मोटर मालिकहरू दशैंको बेला लुट्न बसेका लुटेरालेझंै यात्रुहरूको शोषण गर्दा रहेछन् । यसपालीको यात्रा कतिसम्म गरियो भने यात्रुसँग भाडा लिएर बेनीतर्फ आएको मोटर धेरै भाडा पाउने विदेशी यात्रु भेटेपछि नेपाली यात्रुलाई अलपत्र बीच बाटोमा छाडेर धेरै पैसा आउनेलाई लिएर बेनी गयो । कसैको नियन्त्रणमा रहेनछन्, बस र तिनका ड्राइभरहरू । सामान्य भाडाको दोब्बर भाडा त न्यूनतम तिर्नुपर्ने र त्यसमा पनि बार्गेनिंग चल्दो रहेछ । तिर्थालु साथै पर्यटकहरूको घुइँचो देखेपछि बसवालाहरूले नाटकीय रूपमा बसको अभावको व्याख्या गर्ने, डाइभर लुकेर बस्ने र ‘खोइ डाइभर छैन, जान नि सक्छ नजान नि सक्छ’ भनेर यात्रुहरूलाई आतंकित बनाउने । त्यसपश्चात् न बस्ने ठाऊँ छ न हिँडेर पुगिन्छ, यो सम्भिmएर जब यात्रु आत्तिन्छन् तब अनि ल यति भाडा पाए जान्छु भनेर यात्रुसँग बार्गेनिङ गर्दा रहेछन् । हामी पनि त्यही बार्गेनिङमा परियो । र दुई सय पर्ने बाटोको भाडा ५ सय बुझाइयो ।  (साभार: nepaleverestnews.com)

घान्द्रुक हुँदै अन्नपूर्ण बेस क्याप

घुम्ने मन सबैलाई हुन्छ । मन मात्रै भएर घुम्ने रहर कहाँ पुग्छ र, धन पनि चाहिन्छ । बास्तवमा मन र धन दुबै भयो भने घुमघाम सम्भव हुन्छ । अझै हाम्रो देशको हिमाली यात्रा गर्न आर्थिक हिसाबले महँगो छ । हुनत, हिमाली क्षेत्रमा जाँदा प्राकृतिक सौन्दर्य देख्न पाएर मन जति प्रसन्न हुन्छ त्यसको अनुपातमा आर्थिक महँगाई भने अत्यन्तै न्यून भएको अनुभूति हुन्छ । र पनि हाम्रो समाजमा अझै घुमघाम गर्नुलाई आर्थिक फुर्मासको रूपमा लिने गरिन्छ । हाम्रो देश प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ भनेर पढ्ने धेरै नेपालीहरू छन् तर साँच्चै देशको प्राकृतिक सौन्दर्य देख्ने वा हेर्न पाउनेहरू भने कम छन् । विश्वभरका मान्छे नेपाल घुम्नका लागि आउँछन्, तर नेपाली आफैंभने नजिकको तिर्थ हेला भनेझैं गरी नेपाल घुम्नमा त्यति धेरै ध्यान दिएको पाइँदैन । अधिकांश नेपाली मनहरूलाई पश्चिमा देशले नै बढी आर्कषित गरेको छ । पैसा कमाएर ठूलो घर बनाउनु अनि मीठो खाएर कोठाभित्र बस्नुलाई सफलताको परिभाषा मिल्दछ । तर हामीमा नयाँ ठाउँ देख्न र घुम्नका लागि पैसा कमाउने संस्कृति बनिसकेको छैन । र पनि धरै नेपालीहरू अब घुमघाममा रमाउन थालेका छन् । त्यसैक्रममा नेपालका विभिन्न पर्यटकीय स्थलहरूमा नेपालीहरूको पनि घुइँचो लाग्न थालेको छ । त्यसैमध्येको एक हो- अन्नपूर्ण बेश क्याप । अन्नपूर्ण बेस क्याम्प पुगेर र्फकन काठमाडौंबाट १० दिनको यात्रा गर्नुपर्दछ ।
काठमाडौंबाट निस्कँदा-
खाना खाएर काठमाडौंबाट हामी तीन जना निस्कियौं । बेलुकी छ बजे पोखरा पुगियो । त्यस दिन पोखरामै बास बस्यौं । बेलुकीको समय लेक साइड घुम्न ज्यादै मनमोहक थियो । त्यहाँको रेस्टुरेन्ट होटलहरूमा रोदी र नेपाली लोकभाकामा नाचगान घन्किरहेका थिए । विदेशीहरू भने त्यो नाचगान हेरेर रमाइरहेका देखिन्थे । हामी हिमाली क्षेत्रको पहिलो यात्रा गर्दै भएकाले टे्रकिङको लागि आवश्यक सामग्रीहरू किन्न पसलतर्फ लाग्यौं । हामीले खासै तयारी केही गरेका थिएनौ । सबै जानकारी पसलेसँग माग्यौं । उसले कालो चस्मा, लौरो, लाइट, स्लिपिङ ब्याग, तुमलेट आदि समानको आवश्यकता वर्णन गर्‍यो । हामीले किन्यांै र भोलिपल्ट बिहान छ बजे नै बाग्लुङ बसपार्कमा गएर नयाँपुलसम्म जाने बस चढ्यौं । नयाँपुल जानको लागि ट्यक्सीको हानथाप बसपार्कमा हुने रहेछ । हामीलाई सस्तो यात्रा गर्नुथियो, ठूलो यात्रुवाहक बसको छतमा चढ्यांै र पोखराबाट देखिने माछापुच्छ्रेको मनमोहक दृश्य हेर्दै नयाँपुल पुग्यौं ।
नयाँपुल झरेपछि हामीले खाना खायौं । बाटोमा लीको व्यापार हुने रहेछ । हामीले पोखरामा नै आधुनिक ली किनिसकेका थियौ, त्यसैले ली व्यापारीहरू हामीसँग त्यति रमाएनन् । हामी खाना खाएर मोदीखोलाको पुल तरेर विरेठार्टी हुँदै घान्द्रुकतर्फ लाग्यौं । खोलाको किनारै किनार हिँड्दा गर्मीले केही सतायो । बाटोमा भैंसी पालेर दूध, मोही, दही, घ्यू बेच्ने घरहरू पनि हुँदा रहेछन् । हामीले एकजना घिमिरे थरका बृद्धको घरमा दही किनेर खायौं । दहीको शीतलताले हाम्रो यात्रा केही सहज बनायो । हामी दिनभरको हिँडाइमा बेलुकी ७ बजेतिर घान्द्रुक पुग्यौ । बाटोमा सुत्ने होटल पाइँदैन भन्ने हल्लाले हाम्रो चिन्ता थपिरहेको थियो । घान्द्रुक पुग्नेबित्तिकै होटलको खोजीमा गयौं । सजिलै पाइयो, बेडको जम्मा दुईसयसम्म पर्ने रहेछ । बेलुकीको खाना खाएर सुत्यौं । बिहानै उठने बित्तिकै घान्द्रुकको गुरुङ बस्तीको मौलिकता र हिमाली दृश्यले हाम्रो मन लोभ्यायो । हामी घान्द्रुक हेर्दै र रमाउदै चोमरोङतिर लाग्यौ । दिनभरको यात्रामा बेलुकी ४ बजे हामी चोमरोङ पुग्यौं । थकाई धेरै थियो, पसिनाले लुगा भिजेको थियो । बाथरूम जाँदा तातोपानी र चिसोपानी भएको जानकारीले अचम्मित बनायो । काठमाडौंमा काकाकुल दैनिकी बिताएका हामीलाई चोमरुङकेा चिसोमा तातोपानी पाउँदा ज्यादै खुसी लाग्यो । थकाईले सुत्नमा हतारो ल्यायो । बिहान उठ्नेबित्तिकै नजिकै देखिएको हिमालको दृश्यले साँच्चै मन लोभ्यायो । बिहानको नास्ता खाएर हामी बम्वो गएर रात बस्यौ ।
एककप तातोपानीको ३० रूपैयाँ
दिनभर हिँड्दा गर्मी अनि बेलुकी बास बस्दा अत्यन्तै चिसो । तातो पानी एक कपको ३० रूपैयाँ पर्ने रहेछ । खाना त्यत्तिनै महँगो पर्दो रहेछ । हामीले विदेशीहरूको घुइँचो देख्यौं । नेपालीहरू भने फाट्ट फुट्ट देखिन्थ्यो । नेपाली अनुहार प्राय भारी बोक्ने भरियाको रूपमा आएको भेटिन्थ्यो । हामी बम्वोबाट देउराली हुँदै माछापुच्छ्रे बेसक्याम्प पुग्यौं । चारैतिर हुस्सु लागेको, दुबैतिर अग्ला अग्ला पहाड । खोलै खोलाको असजिलो बाटो । हाम्रो शरीरको थकाइ उत्कर्षमा पुगेको थियो । हामीलाई पोखरामा किनेका बिस्कुट, चकलेट जस्ता खानेकुराहरूले वाक्क जस्तो बनाइसकेको थियो । मनले अमिलो पिरो खाने मन गरिरहेको थियो । तर त्यहाँ भनेअनुसारको खाना मिलिरहेको थिएन । दशैंको बेला भएकाले हामीलाई मासुको चौटाको झलझली याद आइरहेको थियो । कताकता दशैंमा घरमा नभएकोमा न्यास्रो पनि लागिरहेको थियो । पैसाको खर्च त्यस्तै, बाटोमा पानीले भिजाएको त्यस्तै, शरीर थाकेको अनि फेरी माछापुच्छ्रे बेसक्याम्प पुग्ने बेलाको ठाडो उकालो काट्दै गर्दा व्यर्थ आइएछ भन्ने लागेको थियो । माछापुच्छ्रे बेसक्याम पुगेपछि जिउले आराम खोजिरहेको थियो । पेटले खाना, तर भात खाने मन मरेको थियो । लेकको भात अनि विदेशी तरिकाको पकाइले नेपाली स्वाद थिएन । त्यसैले हामीले आलु प|mाई खाने योजना बनायौं र त्यही अडर गर्‍यौं । तर खाने बेलामा त उसुनेको आलुपो आयो । पुनः हामीले प|mाई आलु अडर गर्‍यौं र दुई प्लेट प|mाई आलु र एक एक कप कफी खाइयो । भोलि बिहानको चिया खाइयो र बिल तिर्नको लागि काउन्टरमा जाँदा २८ सय भएछ । अचम्म लाग्यो, पुनः सोध्यौं साहूजीलाई, जवाफ आयो २८ सय हो, के गर्ने ग्याँस बोकाएर ल्याउनुपर्छ । हामीले तिर्‍यौं र बाहिर निस्क्यौं तर हामी त हिमालै हिमालको बीचमा पुगेका रहेछौं । माछापुच्छ्रे बेस क्याम्पमा रहेको होटलको आँगनमा पुगेर बल्ल थाहा पायौं जीवनकै सुन्दर ठाउँमा आईपुगिसकेछौं । अघिल्लो दिन बेलुकी हुस्सुले केही देखिएको थिएन । तर बिहानको झुल्के घामसँगै पारी पाखामा भेडाको बथान अनि चारैतिर हिमाल, हामीलाई साँच्चै गर्व महसुस भयो यात्राको । खुसी भयौं, फोटो खिच्यौं अनि भिडियो क्यामेरामा दृश्य कैद गर्‍यौ । हामीलाई तातोपानीको कपको ३० रूपैयाँ सस्तो लाग्यो । बाटोमा हिँडदा भएको गर्मी र थकान बिर्सियौं । दुःख गरेपछि सुःख आउँछ भन्ने कुराको गहिरो अनुभूति भयो । हामी सुखी बन्यौं । दुःखहरूको अनुभूति सकिए । दशैंको लहर छायो । साँच्चै मेरो नेपाल कति प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ याद भयो । हामीले आफैंले आफैंलाई गर्व गर्‍यौं । हामीले हाम्रो भ्रमणलाई सार्थक मान्यौं र भेडीहरूको बथान छिचोल्दै अन्नपूर्ण बेस क्याम्पतिर लाग्यौं । सूर्य उदयको बिहानी किरण माछापुच्छ्रेको सिरमा बिस्तारै छिप्पिंदै थियो । चारैतिर हिमालका चुचुरोले हाम्रो स्वागतमा बत्ती बालेर स्वागत गरेझैं झलमल्ल टल्किएका थिए । हामी मनमोहक दृश्यसँगै रमाउँदै अन्नपूर्ण बेस क्याम्पतिर लाग्यौं । अन्नपूर्ण बेसक्यामतिर नजिकिंदै गर्दा हामीले हिउँका लप्काहरूलाई स्पर्श गर्दै थियौ । हामी जब एबीसी-अन्नपुर्ण वेशक्याम्प) पुग्यौ तब एमवीसीमा-माछापुच्छ्रे बेस क्याम)मा पाएको सुःखको दोब्बर अनुभूति गर्न पुग्यौं । वरिपरि हिमालले काखमा राखेको अनुभूति महसुस गर्दै थियौ । मनमा खुसीको लाभा उठेको थियो । चारैतिर हिमपहिरोको आवाजले गर्दा मानौं हामी ठूलो हर्षबढाइँमा छौ भन्ने अनुभूति भईरहेको थियो । हामी रमायौं र फोटो खिच्यांै । करिब दुई घण्टाको बसाइपछि बिस्तारै कुहिरोले हिमाल ढाक्न थाल्यो । बिस्तारै हावा चल्न थाल्यो । हामी पुनः माछापुच्छ्रे बेस क्याम्पतिर र्झन थाल्यौं । मनमा खुसी साथसाथै त्यो रमणीय भूमि छाड्नुपर्दा पीडा बोध हुँदै हामी ओरालो लाग्यौं । बाटोमा च्याङ्ग्रा र भेडाको बथान भेट्यौ । भेडाको सुरक्षा र रेखदेखमा ठुला ठुला कुकुरहरू खटिएका थिए । बिस्तारै हाम्रा पाइला ओरालो झर्दै गयो । हामी देउरालीमा आएर बास बस्यौं । कोठा छ भनेर सोध्दा जवाफमा गेस्ट कति जना छ भनेर प्रश्न आयो । हामीले पहिले त बुझेनौं । पछि थाहा भयो हामीलाई उनीहरूले भरिया सम्भिmएका रहेछन् । किनकि नेपालीहरू घुम्न होइन विदेशी लिएर मात्र जान्छन् भन्ने मनोविज्ञान होटल मालिकहरूसँग रहेछ । हामीले आफै गेस्ट हो भन्दा कतिपयलाई असहजिलो अनुभूति गर्दै कोठा दिए । हामी भोलिपल्ट पुनः त्यहाँबाट फर्कियौं र चोमरोङ आएर मकै र काक्रो नेपाली स्वादमा बेस्सरी खायौं । अनि खुमी आएर बास बस्यौं । खुमीमा केही तितो अनुभूति रह्यो । अर्थात् त्यहाँ एउटा होटलले हामी नेपाली भएकै नाताले कोठा दिएन । हामी अर्को होटलमा आयौं र त्यो कुरा राख्यौं । तर त्यहाँ भने कोठा पायौं । त्यसपछि हामी भोलिपल्ट सबेरै खुमीका भित्ताहरूमा रहेका भिरमौरीहरूको चाका हेर्दै नयाँ पुल आएर पोखरा जाने गाडी चढ्यौं र पोखरा साँझ आइपुग्यौं ।
थकाइ थियो, तर खुसीको सन्देश हामीसँग थियो । होटलमा आराम गर्‍यौं र भोलिपल्ट फेवाको आनन्द लिन बोटिङ गर्न गयौं । मेरा लागि त्यो पल ज्यादै आनन्दको थियो । कारण फेवाताल गएर माछापुच्छ्रे हेरेको त धेरै पटक थियो तर माछापुच्छ्रेलाई नघेर अन्नपूर्णको आँगनमा रमाएर फेवामा तैरीएको भने पहिलो अनुभूति थियो । सधैं अग्लो लाग्ने माछापुच्छ्रे त्यो दिन हामी आफ्नै आँगन लागिरहेको थियो । भोलिपल्ट पोखराको न्यानोलाई छाडी हामी काठमाडौं फर्कियौं । र आजसम्म अन्नपूर्णको त्यो मनमोहक दृश्यले काठमाडौंको भिडभाड अनि प्रदूषणको पीडालाई धुन खर्चिरहेका छौं । साँच्चै मेरो राष्ट्र, मेरो अन्नपूर्ण, मेरो माछापुच्छ्रे, मेरा मुटु हुन् जसले यो राष्ट्रको समृद्धिमा ठूलो भूमिका खेल्न सक्छ भन्ने अनुभूति हामीमा आयो । साच्चै विदेशी किन आउँछन् नेपाल, हामीले बुझ्यौं र एक पटक भन्न मन लागिरहेछ, बरु दिनहुँ भात नखाऊ तर सातु लिएर पनि एबीसी घुम्नलाई जसरी जाँऊ ।     (साभार: nepaleverestnews.com)

जनताको अदालत नै सर्वोपरि हो – प्रचण्ड

के अब माओवादी पार्टी फुट्ने चरणमा पुगेको हो ?

होइन, पार्टी फुट्दैन । कतिपय सन्दर्भमा बहस अस्वाभाविक देखिएको छ, तर पार्टी फुट्दैन ।
तपाईंहरूको मोहन वैद्य पक्षसँग आधारभूत विषयमै कुरा नमिलेको देखिन्छ, यस्तो अवस्थामा पार्टी कसरी एक रहन्छ ?
शान्ति र संविधानमा बढी जोड दिएर जाने कि अरू नै विषयमा जोड दिने भन्ने बहस -हामीबीच) छ । तात्कालिक विषयमा छलफल गर्दै जाँदा सिद्धान्त, रणनीतिका विषय पनि आकषिर्त भएका छन् । त्यति मात्रै हो । आधारभूत रूपमै फरक परिसक्यो भन्ने होइन ।

यतिबेला माओवादीभित्र दुई पार्टीको जस्तो अवस्था छ नि ?

तात्कालिक कार्यनीतिमा बहस हुँदै जाँदा केही अस्वाभाविक रूपमा बहस तन्किएको छ । तर नेपाली क्रान्तिको आधारभूत विषयमा अन्तर भएको म ठान्दिनँ । बाहिरबाट हेर्दाखेरि समानान्तर प्रस्ताव, समानान्तर गतिविधि देखिएको छ, त्यसलाई अहिलेकै केन्द्रीय समिति बैठकबाट समाधान गर्ने गरी छलफल भइरहेको छ । अहिलेसम्म हेर्दा केन्द्रीय समिति बैठकको उल्लंघन मुख्य नेतृत्वले गर्‍यो भन्ने आधारमा किरणहरूले तर्क अगाडि सार्नुभएको छ । अब त केन्द्रीय समिति बैठक नै बसेको छ, यसको निर्णय सबैले पालना गर्नुपर्ने हुन्छ किनकि किरण -मोहन वैद्य) जीले पनि, मैले पनि -राजनीतिक प्रतिवेदनमा) लेखेको के हो भने अभिव्यक्तिमा स्वतन्त्रता र कामकारबाहीमा एकरूपता हो । जनवादी केन्द्रीयताको आधारभूत मान्यता यही हो, यसलाई नमान्ने भन्ने हामी कसैको छैन । यो बैठकले निर्णय गरेपछि त्यो कडाइका साथ लागू भएर जान्छ ।

तर बैठकमै दुइटा समानान्तर प्रस्ताव आएपछि यसबारे कुन विधिबाट निर्णय हुन्छ ?

जनवादी केन्द्रीयताको विधि भनेको बहुमतको निर्णय अल्पमतले कार्यान्वयन गरेर जाने भन्ने हो । अहिले स्थिति अलि जटिल भएको हुनाले त्यो विधि सहज ढंगले लागू हुने स्थिति छैन । त्यसकारण हामीले के भनेका छौं भने तुरुन्तै भिन्न मतको स्थिति पनि तलसम्म लैजानुपर्छ । कमिटीहरूमा ‘फोरम’ सुरु गरिदिने, त्यसो गर्दा फरक विचार त सुरक्षित रह्यो नि । तर बाहिर काम गर्दा पार्टीको जे निर्णय हुन्छ, त्यसलाई कार्यान्वयन गरेर जानुपर्ने हुन्छ । कामकारबाहीमा एकरूपता गरेर जाने प्रतिबद्धता भयो भने केही विषयबारे बाहिर पनि सैद्धान्तिक बहस गर्न सकिन्छ । केही खास-खास बहस बाहिर गर्दा पनि बिगि्रँदैन । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा लेनिनकै पालादेखि कयौं विषयमा बाहिर बहस भएका छन् ।

यदि अहिले जारी केन्द्रीय समिति बैठकको निर्णय नमान्ने कुरा आयो भने ?

यदि त्यस्तो भयो भने पार्टीमा एकै ठाउँमा रहने आधार सकिन्छ । त्यसबेला भिन्न मतले या त विद्रोह गर्ने कुरा आउँछ या बहुमतवालाले कारबाही गर्ने कुरा आउँछ । तर अहिले हाम्रो पार्टीको स्थिति त्यो छैन । पार्टी टुट्दैन । कमसेकम केही समय यो पार्टी एकताबद्ध रहन्छ । मलाई के विश्वास छ भने केन्द्रीय समितिको विधि र प्रक्रियामा हामी एकमत हुन्छौं ।

तपाईंले केन्द्रीय समितिमा पेस गरेको राजनीतिक प्रस्तावविरुद्ध वैद्यले जवाफी प्रस्ताव ल्याउनुभयो । दुवै प्रस्ताव हेर्दा मिलनबिन्दु भेट्न त गाह्रो देखिन्छ नि ?

हो, दुइटा प्रस्ताव बैठकमा आएका छन् । दुवै प्रस्तावले आफ्ना धारणाको व्याख्या दुईतिर गरेका छन् । तर फेरि पनि तत्काल के गर्नुपर्छ भन्नेमा हाम्रो एउटै प्रस्ताव छ । अहिले गर्ने काम, प्रशिक्षण, भेलालगायतमा दुवैको प्रस्ताव एउटै छ । सिद्धान्त र भोलि के हुनुपर्छ भन्ने हेर्दा ‘ओहो, यिनीहरू कसरी सँगै बस्लान्’ भन्ने देखिन्छ । तर अहिले गर्ने काम के हो भनेर हेर्दा एउटै छ । किरणजीहरूले पनि शान्ति र संविधानको विरोध गर्नुभएको छैन । शान्ति र संविधान अघि बढाउँदा बढी छाडियो भन्नेमा उहाँहरूको चासो छ । त्यसकारण बाहिरबाट हेर्दा स्थिति गम्भीर लाग्छ, तर छलफल हेर्दा सँगै जाने आधार छ ।

वैद्यहरूले संविधानसभाको औचित्य समाप्त भइसकेको, तपाईंहरू ‘दक्षिणपन्थी अवसरवादी’ बन्नुभएको बताइरहँदा कुरा कसरी मिल्ला ?

उहाँहरूले ‘अब संविधानसभा छाड्छौं, काम छैन’ भन्दै संविधानसभाको औचित्य साँच्चै सकियो भन्ने हो भने संविधानसभा छोड्नुपर्‍यो । आजैबाट संविधानसभा छाडिदिने, शान्ति प्रक्रियाबाट अलग्गिने, यसरी प्रतिरोध कार्यक्रममा जाने भनेको भए त एउटा पार्टीमा दुइटा आचरण भयो भन्ने हुन्थ्यो । बस्ने ठाउँ छैन भन्न सकिन्थ्यो । उहाँहरूले शान्ति र संविधानसभा छोड्ने कुरा गर्नुभएको छैन, प्रतिवेदनमा त्यहाँ जेसुकै लेखे पनि ।

तपाईं र वैद्यबीचको व्यक्तिगत तुसले पनि विवाद बढाएको हो ?

मुख्य त्यो होइन । किरणजीसँग ३० वर्षदेखि सँगै छु । म पार्टीको प्रमुख पदमा आएको पनि २३ वर्ष भयो । किरणजीसँग खुलेरै छलफल हुन्छ । अहिलेको परिस्थितिलाई कसरी बुझ्ने भन्ने विषयमा हामीबीच दृष्टिकोणमा अन्तर आएको हो । क्रान्तिलाई कसरी अगाडि लैजाने भन्ने सोचाइमा फरक परेको हो । मैले उहाँलाई वा उहाँले मलाई महत्त्व नदिएको विवाद होइन । त्यो कतै मनको कुनामा हुन पनि सक्छ । तर त्यसको निर्णायक भूमिका छैन । यो फरक अहिले मात्र आएको होइन । जनयुद्ध सुरु हुनुअघि र बीचमा पनि यस्ता बहस हुन्थे ।

हाल वैद्यजीसँग नजिक हुनुभएका महासचिव रामबहादुर थापाका टिप्पणी हेर्दा व्यक्तिगत कटुता बढ्दै गएको देखिन्छ नि ?

बादल वा किरणजीसँग विगतका कतिपय बहस योभन्दा चर्को कटुतामा पनि पुगेका थिए । एक, दुई दिन होइन, वर्षौं त्यस्तो अवस्थाबाट गुज्रेका पनि छौं । पहिले पार्टी भूमिगत र सानो हुन्थ्यो । त्यसबेला बाहिरी दुनियाँलाई मतलब हुँदैनथ्यो । अहिले -माओवादी) देशकै सबभन्दा ठूलो पार्टी भयो । अहिले संसारको ठूलो ध्यान भएको हुनाले किरण, बादल, मैले के खान्छु भन्ने पनि थाहा हुन्छ । मेरा लागि अन्तरसंघर्ष दूधभातजस्तो भइसकेको छ ।

अर्को पाटो के हो भने पहिले रातोपिरो भएर बहस गर्दा पनि बाहिरको शक्तिले चलखेल गर्ने ठाउँ पाउँदैनथ्यो । पार्टीभित्र ‘प्ले’ गर्ने उनीहरूको सम्भावना सीमित हुन्थ्यो । हामी अन्ततः मिलाइहाल्थ्यौं । अहिले फरक के भएको छ भने पूरै संसार माओवादीमा लागेको छ । अमेरिका, भारत, चीनलगायत सबै देशका राजदूतले भेट्नासाथ पार्टीमा के हुन्छ भनेर सोध्छन् । यो उनीहरूको धर्मभित्र पर्छ । देशभित्र कांग्रेस, एमाले र राजावादीहरूले हामीभित्र विग्रह पैदा गर्न सक्दा आफ्नो स्वार्थ पूरा हुन्छ भन्ने ठानेका छन् । माओवादीलाई कुनै तरिकाले फुटाउन सके गुमेको स्वर्ग फिर्ता गर्न सकिन्छ भन्ने एकथरीलाई लागेको होला । त्यसैले यही बेला खेलेका छन् ।

पहिले हामी आफैं विवाद मिलाउन सक्थ्यांै । अहिले पार्टीमा -बाहिरियाले) खेलेका हुनाले स्वनिर्णयको अधिकार कम हुँदै गएजस्तो लाग्छ । अहिले सूचना साम्राज्यले पनि गर्नु गरेको छ । पत्रपत्रिकामा बिल्कुल झूटो खबर आयो भने पनि भयो होला भन्ने लाग्छ । अस्ति भर्खरै मैले बादलजीलाई प्रधानमन्त्रीको प्रस्ताव गरें भन्न्ने आयो । पार्टीभित्र त्यसले ठूलो तरंग ल्यायो । जब कि यो प्रसंग अहिले चलेको होइन । बादलजीमा पनि त्यो चाहना छैन जस्तो लाग्छ । त्यस्ता समाचार कसरी बन्छन्, कसले बनाउँछ, किन बनाउँछ भन्ने बुझ्नुपर्दोरहेछ । हामी बिस्तारै सिक्दै छौं । सबै नेतालाई ‘प्ले’ भइरहेका छौं भन्ने महसुस हुन थालेको छ ।

म २३ वर्ष पार्टीको नेतृत्वमा छँदा अहिलेको भन्दा चर्का संघर्ष भएका छन् । हामीले नेताहरूलाई कारबाही पनि गरेका छौं र हामी मिलेका पनि छौं ।

अहिले संस्थापन पक्ष कारबाही गर्न नसक्ने, वैद्यजीहरूले कारबाही भए हुन्थ्यो भन्ने चाहेजस्तो देखिन्छ, त्यस्तै हो ?

त्यस्तो मात्रै होइन । उहाँहरू पनि पार्टी छोड्न चाहनुहुन्न, हामी पनि फुटोस् भन्ने चाहँदैनौं । जनवादी केन्द्रीयताको सिद्धान्तभन्दा हामी बाहिर गएका छौं । जनवादी केन्द्रीयताको सिद्धान्त विचारमा फरक भए पनि काममा एकरूपता हुनुपथ्र्यो । काममा एक नहुनेलाई कारबाही नगर्नु पनि जनवादी केन्द्रीयता पालना नगर्नु हो । संस्थापन पक्षले काममा एकरूप नहुने, आफूलाई जे मन लाग्यो त्यही गर्नेलाई कारबाही गर्नुपर्ने हो नि । होइन, विचार, लाइन र नेतृत्व पनि मन पर्दैन भने, अध्यक्ष नै दलाल भइसक्यो भन्ने हो भने त सँगै बैठक बस्न पनि हुँदैन । दलाल, आत्मसमर्पण गरिसकेकासँग सँगै बस्न हुन्छ त ? उहाँहरूले जनवादी केन्द्रीयताको झनै पालना गर्नुभएन । उहाँहरूले विद्रोह गर्न नसक्ने, संस्थापन पक्षले कारबाही गर्न नसक्ने भए पनि यहीं कतै मिलनबिन्दु छ ।

उपाध्यक्ष वैद्यले संविधान निर्माणका विवादित विषय सुल्झाउन तपाईंको नेतृत्वमा रहेको उपसिमितिले गरेका सहमति उल्ट्याउने बताउनुभएको छ नि ?

किरणजीले कुन भावमा भन्नुभयो, मैले आफैंले सुनेको छैन । विवाद समाधन उपसमितिले टुंग्याएका विषय सहमतिकै रूपमा संवैधानिक समितिमा प्रस्तुत भइसकेका छन् । अस्ति मैले उपसमितिको संयोजकका हैसियतले अन्तिम प्रतिवेदन प्रस्तुत गरें । सहमति भएका विषय सहमतिका रूपमा, नजिक पुगेका विषय त्यही रूपमा र सहमति हुन नसकेका विषय पनि त्यसै रूपमा पेशस भइसकेका छन् । मेरो दृष्टिमा किरणजीलाई सूचनाको कमी भएको छ । उहाँलाई अध्यक्षले सबै छाड्यो भनेर भनिएको छ । अहिले केन्द्रीय समिति बैठकमा पनि कुरा भइरहेको छ ।

राज्य पुनःसंरचना आयोग बनेको छ, त्यसको प्रतिवेदन नआई त्यसमा प्रवेश गरेका छैनौं । शासकीय स्वरूप टुंगिएको छैन । आज मैले पत्रिकामा पढें- सहमति भइसक्यो, त्यो गलत कुरा हो । सहमति भइसकेको छैन । उपसमितिमा कार्यदलले रिपोर्ट पेस गरेको छ, त्यसले राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार यस्तो हुनुपर्छ भन्ने सुझावचाहिं प्रस्तुत गरेको छ । त्यसमा राष्ट्रपतिलाई ‘सेरेमोनियल’ बनाइएको छ । त्यसमा राष्ट्रपति प्रत्यक्ष चुनिनुपर्ने भनिएको छ । संसद्बाट चुनिएकालाई बढी र जनताबाट चुनिएको राष्ट्रपतिलाई कम अधिकार दिने प्रजातान्त्रिक मूल्यमान्यताअनुसार मिल्दैन । जनताबाट चुनिएको व्यक्ति कार्यकारी हुनुपर्‍यो, संसद्बाट चुनिएकोलाई निश्चित अधिकार दिनुपर्‍यो- त्यसरी मात्र सहमति हुने देख्छु ।

किरणजीले विवाद समाधान उपसमितिमा भएका सहमति उल्ट्याइन्छ भन्ने कुरा गरेर संघर्षको रूपमा दबाब दिन खोज्नुभएको होला । केन्द्रीय समितिमा छलफल गर्दै गएपछि सहमतिमा पुग्छौं । हामीले गरेको सहमतिमा उहाँ पनि सहमत हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।

प्रत्यक्ष चुनिने राष्ट्रपतिलाई केके अधिकार चाहिन्छ भन्ने लागेको छ ?

प्रथमतः, राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्‍यो । देशभित्र र विदेश नीतिसम्बन्धी कामकाजबारे अन्तिम निर्णय गर्ने अधिकार राष्ट्रपतिमा हुनुपर्‍यो । दैनिक प्रशासनिक काम गर्ने अधिकार प्रधानमन्त्रीलाई हुनुपर्‍यो । अहिले पनि त राष्ट्रपतिलाई धेरै अधिकार छ नि सेनाको परमाधिपतिलगायत । त्यही कुरा जनताबाट प्रत्यक्ष चुनिएको राष्ट्रपतिलाई हुनु हुँदैन ?

यी विषयमा कहिले सहमति हुन्छ ?

राष्ट्रपति र प्रधानमन्त्री दुवै राख्ने सहमति भइसकेको छ । तर, अधिकारको बाँडफाँडमा सन्तुलन मिलेको छैन । छलफल भएपछि मिल्न नसक्ने मैले देखेको छैन ।

मिश्रित निर्वाचन प्रणालीमा जाने सहमतिचाहिं भएको हो ?

निर्वाचन प्रणाली समानुपातिक र प्रत्यक्ष हुने तर प्रत्यक्ष र समानुपातिकमा पनि समानुपातिक र समावेशी सिद्धान्त अपनाउने सहमति भएको छ । बाँकी कति प्रतिशत समानुपातिक र प्रत्यक्ष भन्ने र मजदुर, किसानको प्रतिनिधित्व कसरी गराउने, जातीय प्रतिनिधित्व कति गराउने भन्ने विषयमा सहमति हुन बाँकी छ ।

जेठ १४ भित्र संविधान निर्माण होला ?

त्यो अवधिमा संविधान निर्माण गर्नैपर्ने अवस्था छ । नेपालको अहिलेको राजनीतिक अवस्था हेर्दा, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा जे कुरा चलेको छ र जनतामा पनि जुन धारणा छ, त्यसलाई हेर्दा कुनै पनि हालतमा पाँच महिनाभित्र संविधान निर्माण गर्नुपर्छ ।

सर्वोच्च अदालतले संविधानसभाको म्यादबारे गरेको निर्णयलाई कसरी लिनुभएको छ ?

मैले सुरुमा पनि भनेको थिएँ- सर्वोच्चले के भन्यो, के भनेन त्यो त्यति सरोकारको विषय अहिले होइन । त्यतापट्टि दिमाग खराब गर्नुभन्दा जनताको फैसला के छ भनेर हेर्नु ठीक हुन्छ । जनता अधैर्य हुने अवस्थातर्फ हामीले ध्यान दिनुपर्छ । जनताको अदालत नै सर्वोपरि हो । अरू अदालतका कुरा आफ्नो ठाउँमा हुँदै गर्छन् । हामीले ‘सर्वोच्चले भनेको छ, त्यसकारण गर्नुपर्छ’ भन्नुभन्दा ‘जनताले भनेका छन् त्यसकारण गर्नुपर्छ’ भनेर काम टुंग्याउनुपर्छ ।

संघीयतालगायतका विषयमा पनि यही अवधिमा सहमति होला ?

राज्य पुनःसंरचना आयोगले दुई महिनाभित्र सुझाव दियो भने समझदारी हुने सम्भावना छ । दृढइच्छाशक्तिका साथ अघि बढ्दा टुंगिँदैन भन्ने मलाई लाग्दैन । संघीयता हामीले मानेकै छौं । ‘मोडालिटी’ को विवादबारे आयोगको प्रतिवेदन आएपछि सुल्झाउन पक्कै पनि मद्दत गर्छ । पाँच महिनाभित्र संविधान बनाउन किन जरुरी छ भने कतिपय विषय हामीले पछिलाई पनि थाती राख्न सक्छौं । त्यसरी पनि संविधान घोषणा हुन सक्छ । केही जटिल विषय रहे जनताबाट फैसला लिन पनि सकिन्छ, फेरि चुनावबाट, निर्वाचित प्रतिनिधिसभाबाट टुंग्याउन पनि सकिन्छ । राज्य पुनःसंरचनासँग सम्बन्धित या अरू न्याय प्रणालीसँग सम्बन्धित, संघीय अदालतलगायतका विषय नमिले टुंग्याउन सकिन्छ ।

नमिलेका विषयलाई जनमत संग्रहमा लैजाने भन्ने विषयमा छलफल भएको हो ?

राजनीतिक दलहरूबीच त्यस्तो छलफल भएको छैन । अनौपचारिक रूपमा बाहिर भने छलफल भएका छन् । राज्य पुनःसंरचनालाई पछाडि लैजान अहिले सोच्नु हुँदैन । पुनःसंरचना आयोगको प्रतिवेदन आएपछि -त्यसलाई) टुंग्याउन सकिन्छ भन्ने लागेको छ ।

कांग्रेस र एमालेसँग तपाईंहरूको आधारभूत रूपमा केके विषयमा मतभेद हो र त्यो कसरी मिल्छ जस्तो लाग्छ ?

राज्य पुनःसंरचनाका लागि संघीयताको आधार केलाई मान्ने ? सामथ्र्य र पहिचानका आधारमा हुनुपर्छ भनिएको छ । पहिचानलाई मुख्य भनिएको छ । हाम्रो बुझाइ के छ भने जातीय, भाषिक, क्षेत्रीय उत्पीडनलाई अन्त्य गर्ने हिसाबले जानुपर्छ । कांग्रेस, एमाले संस्थापन पक्षको सोचाइ भने जातीय उत्पीडन अन्त्य गर्ने वा आत्मनिर्णयको अधिकार दिनु हुँदैन भन्ने छ । हामी आत्मनिर्णयको अधिकार स्वीकार गर्नुपर्छ भन्नेमा छांै । जातीय र क्षेत्रीय उत्पीडन अन्त्य गर्ने गरी जानुपर्छ भन्नेमा हामी दृढ छौं । यसमा सम्झौता गर्ने पक्षमा हामी छैनौं । एउटा जटिलता त्यहाँ छ । कांग्रेस, एमालेले के बुझ्न जरुरी छ भने सयौं वर्षदेखि नेपालमा उत्पीडन, जाति, क्षेत्र र लिंगलाई भेदभाव भयो, त्यसको अन्त्य गरे मात्र नयाँ नेपाल बन्न सक्छ ।

अर्को, शासकीय स्वरूपमा पनि छलफल भइरहेको छ । राष्ट्रपतिलाई कार्यकारी प्रमुख बनाउनु भनेको संसदीय प्रणालीलाई नमानेको हुन्छ । यो गर्दा हामी ‘वेस्ट मिन्स्टेरियल सिस्टम’ भन्दा अगाडि जान्छौं । नेपालमा स्थिरता होस्, एकपटक निर्वाचन भएपछि पाँच वर्ष विकास निर्माणको काम अगाडि बढ्न सकोस् भन्न पनि राष्ट्रपतीय पद्धति आवश्यक छ । अहिले प्रधानमन्त्रीलाई शक्तिशाली बनाउने भनेको वेस्ट मिन्स्टेरियल प्रणालीलाई घुमाइफिराई ल्याउने भन्ने आशय छ । यो पनि गम्भीर मुद्दा हो । हामी ऐतिहासिक प्रक्रियाबाट आएका हौं, यो परिवर्तनलाई कांग्रेस र एमालेले स्वीकार गर्नुपर्छ । जनताको चाहना पुरानो -व्यवस्था) दोहोर्‍याउने भन्ने होइन । यसैगरी मजदुर, गरिब, किसानको प्रतिनिधित्व कसरी गराउने भन्ने विषय पनि गम्भीर छ । कांग्रेस, एमालेले अस्वीकार गरे, परिस्थिति अप्ठ्यारो हुन सक्छ ।

मिल्ने तरिका पनि त होलान् नि ?

राष्ट्रपति र प्रधानमन्त्री दुवै राखौं भन्ने सहमति भयो । अधिकारबारे छलफल भइरहेको छ । यो मिल्ने तरिका हो । छलफल गर्दै जाँदा राज्य पुनःसंचरनामा पनि सहमति हुन्छ भन्ने लागेको छ ।

शान्ति प्रक्रिया कसरी अघि बढ्छ ?

भर्खरै प्रधानमन्त्री, विशेष समिति सदस्य वर्षमान पुन, नन्दकिशोर पुन, जनार्दन शर्मासँग सल्लाह भयो । स्वैच्छिक अवकाशमा जानेहरूका लागि कार्ययोजना अन्तिम रूप दिएर जाऔं, केन्द्रीय समिति बैठक टुंग्याएर शान्ति प्रक्रिया अघि बढाऔं भन्ने लागेको छ ।

समायोजनमा जाने लडाकुको संख्या कसरी मिलाउनुहुन्छ ?

६ हजार ५ सयलाई समायोजन गर्ने हाम्रो सहमति भइसकेको छ । यसलाई उल्ट्याउने मेरो भनाइ छैन । संख्या समाधान गर्न पार्टीहरू सहमत हुँदा एकाध हजार थप्न सकिन्छ । त्यसमा पनि सहमति भएन भने मेरो बढाउने जोड छैन । साथीहरूलाई स्वैच्छिक अवकाश र पुनःस्थापनामा जान सम्झाउन सकिन्छ ।

पार्टी विवादले शान्ति प्रक्रिया रोकिएजस्तो तपाईंलाई लाग्दैन ?

त्यही कारणले रोकिएको होइन । सात बुँदेपछि लडाकुको पुनःवर्गीकरण भयो, संविधान निर्माण काम अघि बढेको छ । त्यतिबेला किरणजीको विरोधका बाबजुद प्रक्रिया अगाडि बढ्यो । अब पनि यो प्रक्रिया अगाडि बढ्छ, रोकिँदैन । स्वैच्छिक अवकाशमा जाने जनसेनाको काम १२ दिनमा सक्ने कार्ययोजनामा सहमति भइसक्या छ । यो दुई, चार दिनमा अघि बढ्छ ।

समायोजनमा जानेहरूको दुई, चारवटा कुरा टुंगिएका छैनन् । खासगरी कुन दर्जामा जनसेनाका कमान्डर हुने हो, कुरा टुंगिएको छैन । हामीले सिद्धान्ततः दुवै सेनाको मान्यता एउटै बनाएर जाने भन्यांै साथसाथै ६ हजार ५ सय जना समायोजनमा जाने भइसकेपछि त्यसको अनुगमन गर्न संयन्त्र आवश्यक पर्छ । यसमा छलफल बाँकी छ ।

जनमुक्ति सेनाको शिक्षाबारे पनि कुरा मिलेको छैन । शान्ति सम्झौता हुँदा जनमुक्ति सेनाको एउटा अवस्था थियो, शिविरमा बस्दाबस्दै धेरैले एसएलसी पास गरे, आइए र बीए गरे । भर्ती हुँदाको शिक्षालाई मान्यता दिने कि अहिलेकोलाई भन्नेमा विवाद छ ।

अर्को समायोजनमा जानेलाई कस्तो बि्रज कोर्स दिने भन्ने विषयमा टुंगो लागेको छैन । बि्रज कोर्स भनेको भर्ती भएकालाई जस्तो तालिम दिने होइन । समायोजनको तालिम छोटो हुनुपर्छ भन्नेमा छलफल छ  । जनमुक्ति सेनाका साथीहरूको भनाइ के छ भने महानिर्देशनालय हुने भएपछि त्यसको मुख्यालयमा हाम्रो पनि प्रतिनिधित्व हुनुपर्‍यो भन्ने छ । त्यसो भएन भने हाम्रो समायोजन भएको हो कि भर्ती भन्ने कुरा साथीहरूले गरे । मलाई अप्ठ्यारो परेको कहाँ हो भने त्यसो नभए हामी सबै स्वैच्छिक अवकाशमा गइदिन्छौं भन्नुहुन्छ कमान्डरहरू ।

अर्को एउटा कुरा पनि टुंग्याउन बाँकी छ । महानिर्देशनालयको कुरा टुग्याउँदाखेरि नेपाली सेनाले सुझाबका रूपमा दिएको प्रस्तावमा ३५-३५ प्रतिशत नेपाली सेना र जनमुक्ति सेनाबाट, ३० प्रतिशत प्रहरीबाट ल्याउने भनिएको छ । हामीले त्यसलाई स्वीकार गरेको हो । त्यसमध्ये प्रहरीबाट ३० प्रतिशत आउने कुरा टुंग्याउन बाँकी छ । यी कुराले शान्ति प्रक्रिया रोकिएको हो । हाम्रो पार्टीमा जतिसुकै मतभेद भए पनि किरणजीले -यो प्रक्रिया) अवरुद्ध गर्नुहुन्न जस्तो लाग्छ ।

शान्ति र संविधान मुख्य कार्यदिशा भएको तपाईंको दस्तावेज केन्द्रीय समितिबाट कसरी पारित हुन्छ ?

एउटा सम्भावना, विवादित नमिलेका कुरा झिकेर मिलेका विषयको एउटै दस्तावेज बनाउन सकिन्छ । विवाद फोरममा लैजाने हुन सक्छ । समाजवाद, साम्यवाद, माओवादजस्ता कुरामा विवाद छैन । कार्यक्रमहरूमा एकरूपता नै छ । अर्को, बहुमतबाट पारित गरेर अर्कोलाई भिन्न मतको प्रस्ताव बनाउन सकिन्छ । अहिले त्यो विषयमा केही नगरी दुवै विषय थाती राखेर कार्यक्रम मात्र लिएर जाने पनि हुन सक्छ । विविध सम्भावना छन् । केन्द्रीय सदस्यले बोलेपछि के छ, स्थिति थाहा भइहाल्छ । सबै स्थिति हेरेपछि केन्द्रीय कार्यालयको बैठक बसेर टुंग्याउँछौं ।

अब राष्ट्रिय सरकार कहिले र कसको नेतृत्वमा बन्छ ?

राष्ट्रिय सहमतिको सरकार अविलम्ब बनाउने हामो सहमति भएको हो । हाम्रो भनाइ यही माओवादी नेतृत्वको सरकारमा अहिले नै सबै आउने र राष्ट्रिय सहमतिको सरकार बनाउने भन्ने छ । कांग्रेस यही सरकारमा आउन चाहँदैन भन्ने पनि छैन । शान्ति प्रक्रिया अलि अगाडि बढ्यो भने हामी बाबुरामजीको नेतृत्वको सरकारमा सामेल हुन्छौं भन्ने कांग्रेसको भनाइ छ । शान्ति प्रक्रिया रोकियो भने तत्काल सरकारमा नआउने र एकाध महिना बाबुरामजीकै नेतृत्वमा शान्ति र संविधान अघि बढोस् भन्ने उसको चाहना छ । एमालेको चाहना तुरुन्तै बाबुरामजीको सरकार हटाउनुपर्‍यो भन्ने छ । हाम्रै कतिपय कमरेडहरूको सरकारबाट फिर्ता आउनुपर्‍यो वा राजीनामा दिनुपर्‍यो भन्ने छ । यो स्थितिमा बाबुरामजीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने सम्भावना बढी देख्छु । जताबाट नाप्दा पनि बाबुरामजी हटेर राष्ट्रिय सरकार सम्भव देख्दिनँ ।

बाबुरामजीकै नेतृत्वको सरकारमा कांग्रेस, एमाले आउनुपर्छ भन्ने मेरो धारणा छ । तर अर्को कुनैको नेतृत्वमा सहमति हुन्छ भने सहमतिको बाधक हुन माओवादी चाहँदैन । सबैको सहमति भयो भने बाबुरामजी पनि टाँसिइरहन चाहनुहुन्न । तर, शान्ति प्रक्रिया अघि बढेपछि कांग्रेस, एमाले सरकारमा आउने, माओवादीकै नेतृत्वमा शान्ति र संविधान टुंग्याउने त्यसपछि आलोपालोअनुसार कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने सम्भावना नै अहिले छ । मेरो विचारमा यही नै सही छ ।

‘जनविद्रोह’ बारे दाहाल

अब तपाईं जनविद्रोहको कार्यदिशामा र्फकने सम्भावना छैन ?

यदि प्रतिक्रियावादी, प्रतिक्रान्तिकारीले षड्यन्त्र गरे, जनताका उपलब्धिको अपहरण हुने अवस्था आयो भने जनविद्रोहको विकल्प रहँदैन । म जनविद्रोहको विरोधी भएँ भन्ने कुरा होइन, बाबुरामजी पनि जनविद्रोहको विरोधी हुनुभयो भन्ने कुरा होइन । अहिले मुख्य कुरा के हो भन्नेमा फरक परेको हो । अहिले चाहिं शान्ति र सविधान टुंग्याउन लाग्नुपर्छ, संघर्ष त्यतातिर केन्दि्रत हुनुपर्छ भन्ने हो । प्राप्त उपलब्धिलाई संस्थागत गरेपछि त्यहाँ टेकेर अघि जानु ठिक हो कि यो परिवर्तन नै ठूलो कुरा होइन भन्ने विवाद हो ।

संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता प्राप्त हुनुमा जनयुद्धको महत्त्वपूर्ण भूमिका छ, यसलाई दह्रो पार्ने जिम्मेवारी माओवादीकै हो भन्ने एउटा पक्ष छ । अर्को, यो प्रतिक्रियावादी व्यवस्थामा अलिकति सुधार भएको हो, यसलाई ध्वंस गर्न लाग्नुपर्छ भन्ने प्रवृत्ति छ । मैले प्रस्तावमा के भनेको छु भने गत वैशाखअघिसम्म विभिन्न षड्यन्त्र भए, त्यसैले संविधानसभा नहुने हो भने विद्रोहको तयारी गर्नुपर्छ भन्ने मेरो धारणा थियो । त्यसपछि शान्ति र संविधान टुंग्याउन केन्दि्रत हुनुपर्छ भन्ने छ । अब शान्ति र संविधानमै केन्दि्रत हुनुपर्छ भन्ने हो ।

माओवादीले आफ्नो कुरा नछाडीकन बाहिरको विशाल जनताको अपेक्षालाई पनि सम्बोधन गर्नैपर्छ । त्यो ऐतिहासिक जिम्मेवारीमा हामी छौं । लाखौं जनताले माओवादीले नै शान्ति र संविधान टुंग्याओस् भन्ने चाहेका छन् । म आफैं प्रचण्ड पनि शान्ति सम्झौताको दोस्रो हस्ताक्षरकर्ता हुँ, यतिबेला अर्का हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला हुनुहुन्न । यो शान्ति प्रक्रिया लावारिस हुने त होइन ? देश अराजकतामा जाने चिन्ता सर्वत्र छ । यो चिन्ता कसले सम्बोधन गर्ने त ? पार्टीका हिसाबले माओवादीले गर्नुपर्छ, नेतृत्वका हिसाबले प्रचण्डले गर्नुपर्छ भन्ने गहिरो बोध छ । त्यसो गरिएन भने जुन ऐतिहासिक अवसर छ, नेपाल बनाउने अवसरबाट हामी चुक्छौं । जनवादी क्रान्ति, समाजवाद र साम्यवादतर्फ जानेमा मेरो द्विविधा छैन, तर शान्ति र संविधान निर्माण प्रक्रिया पूरा गरेर मात्र अगाडि जान सकिन्छ ।

कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय आन्दोलन हो । विश्वमा कम्युनिस्ट आन्दोलनको अवस्था के छ भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ । सीधा-सीधा क्रान्ति गर्छ भन्दा के भयो ? बर्मा, मलाया, टर्की, पेरुमा के भयो ? दुनियाँमा के भयो भन्ने थाहा छ । विश्व शक्तिसन्तुलन कहाँ छ भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ । अलिकति वस्तुवादी हुन सकेनांै, मनोगत आकांक्षाले क्रान्तिकारी हुन खोज्यौं भने स्थिति दर्दनाक हुन्छ । त्यो माक्र्सवाद होइन । कहिले धेरै पछि हट्नुपर्ने अवस्था आउन सक्छ । त्यो पनि माक्र्सवाद हो । आजको राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा हामीले त्यत्रो त्याग र बलिदान गरेर ल्याएको शान्ति, संविधानसभा हो । यसलाई सफल पार्न अन्तिम समयसम्म जानुपर्छ । त्यसको अर्थ हामीले आत्मसमर्पण गर्नुपर्छ, कसैको दलाली गर्नुपर्छ भन्ने बिल्कुल होइन ।

तर माओवादीले जोड गर्दैमा सबै कुरा भइहाल्छ भन्ने छैन । माओवादीको जिम्मेवारी ठूलो छ, अध्यक्षका हैसियतले मेरो पनि जिम्मेवारी छ । आफ्नो हिस्साअनुसार सबै जिम्मेवार हुनुपर्छ । ‘प्रचण्डले मात्र गर्नुपर्छ, उसकै टाउकामा जिम्मा छ’ भन्दा मलाई कहिलेकाहीं बढी भयो भन्ने लाग्छ । सबैतिर प्रचण्डले गरे हुन्छ, अरूले गरेर हुँदैन भनेर जनतामा प्रचार गरिदिने अनि गर्न पनि नदिने भयो भने भोलि प्रचण्डले गर्दा भएन भन्ने र प्रचण्डलाई सदा इतिहासबाट फाल्दिने त होइन भन्ने मनमा प्रश्न आउँछ । प्रचण्डप्रति जनताको यति धेरै अपेक्षा बढाइयो कि अपेक्षा पूरा भएन भने घृणा जाग्न सक्छ ।

तपाईंले जनविद्रोह गर्न सकिएन भन्नुभएको छ, किन होला ?

हाम्रा आफ्नै कतिपय कमजोरीका कारण त्यसलाई अगाडि बढाउन सकिएन । अर्काेतर्फ, जनताले माओवादीले शान्ति र संविधान अघि बढाइदेओस् भन्ने चाहेको देखियो । माओवादी जननीतिमा चल्छ । हामीले जनविद्रोह गर्न खोजेर पनि त सकिएन नि । पहिलो कुरा, पार्टीलाई एकढिक्का बनाउन सकेनौं । अहिले मात्र होइन, खरिपाटी बैठकदेखि पार्टीमा गुटबन्दी, अराजकता, अविश्वास, आशंका एकअर्काप्रति देखियो । ठूलो ऐतिहासिक कर्म गर्न नेतृत्व एक हुनैपर्छ । हामी एक हुन सकेनौं । जनयुद्धका बेला लाखौं कार्यकर्ता ‘होलटाइमर’ भए । शान्ति प्रक्रियापछि हजारौं कार्यकर्तालाई सन्तुष्ट राख्न सकेनौं, योजनामा ढालेर । सबैलाई समेट्ने कार्यक्रम बनाउन सकेनौं । वस्तुगत र आत्मगत रूपले नै हामीले धेरै मिहिनेत गरी शान्ति र संविधानको नेतृत्व माओवादीले गरोस् भन्ने बनाएका हौं । जिम्मेवारी दिएका बेला अन्त जान मिल्दोरहेनछ ।

(कान्तिपुर दैनिकबाट साभार )

एमाओबादी अध्यक्ष प्रचण्डद्धारा शनिबार केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिबेदनको पूर्ण पाठ

‘पार्टीमा विकसित संकट तीनको समाधान र आगामी कार्यक्रमबारे राजनीतिक प्रस्ताव

आज हाम्रो महान तथा गौरवशाली पार्टीभित्रको अन्तरविरोध विकसित भएर गम्भीर मोडमा पुगेको छ । यो गम्भीर परिस्थितिले नेपाली र अन्तर्राष्ट्रिय सर्वहारावर्ग एवं आमजनसमुदायलाई अत्यन्त चिन्तित बनाएको छ भने देशभित्र र बाहिरका प्रतिक्रियावादी एवं अवसरवादीहरूलाई उत्साहित पारेको छ । संकटकालीन उपचारद्वारा तत्काल क्षति नियन्त्रणका उपाय अपनाउन सकिएन भने आसन्न दुर्घटना टार्न असम्भव भएर जाने कुरा निश्चित छ । अतः आज केन्द्रीय समितिका सामु अन्तरविरोधको समाधान गर्ने नयाँ नीति र विधिको विकासद्वारा पार्टी एकतालाई बचाएर क्रान्ति प्रक्रियालाई नयाँ ढंगले अगाडि बढाउने निकै ठूलो चुनौती रहेको छ । सर्वहारावर्ग, श्रमजीवी जनसमुदाय, महान जनयुद्ध र आन्दोलनका अमर सहिदरहरू, बेपत्ता योद्धाहरूका सपना आकांक्षा र आधारभूत हितप्रति इमानदार रही आफैंप्रति निर्मम हुँदै स्वनिर्णयको अधिकार प्रयोग गरी अगाडि बढ्ने संकल्प आजको ऐतिहासिक आवश्यकता बन्न गएको छ ।

आज हाम्रो पार्टीमा विकसित भइरहेका अन्तरविरोधहरू एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र स्वयं नेपाली कम्युनिस्ट आन्दोलनसमेत अनुभवबाट शिक्षा लिई आजको परिस्थितिमा क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने सन्दर्भका नितान्त स्वाभाविक वैचारिक संघर्षका परिणाम हुन भने अर्कातिर यो अन्तरविरोध अस्वस्थ, अस्वाभाविक र विस्फोटक बन्दै जानुमा हाम्रा आपmनै कमजोरीहरू र तिनमा देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूको स्वाभाविक भइरहेका बहुआयामिक हस्तक्षेपको गहिराइलाई बुझेर त्यसकाविरुद्ध जान आफ्नै कमजोरीका विरुद्ध लड्ने तथा स्वस्थ वैचारिक संघर्षद्वारा आफैंभित्र नयाँ वैचारिक स्पष्टता र भावनात्मक एकता पैदा नगर्नुबाहेक विजयका लागि सर्वहारा वर्गसँग अर्को कुनै विकल्प छैन । अन्तरविरोधको विकासमा अन्ततः आन्तरिक पक्षको नै प्रधान भूमिका हुने वैज्ञानिक निष्कर्षलाई समातेर आपmनै आन्तरिक कमजोरीप्रति ध्यान केन्दि्रत गरेरमात्र हामीले प्रतिक्रियावादी हस्तक्षेपका विरुद्ध एकता र विजय हाँसिल गर्न सक्दछौं ।

निश्चित देश, काल परिस्थितिमा सर्वहारावर्गको हितको प्रतिनिधित्व गर्ने निश्चित विचारधारात्मक र राजनीतिक कार्यदिशा, रणनीति, कार्यनीति र सांस्कृतिक आचरण नै पार्टी र पार्टी एकताका आधार हुन् । त्यस प्रकारको कार्यदिशा र चारणको विकास समाजमा विद्यमान विजातीय पुँजीवादी र निम्न पँुजीवादी विचार प्रवृत्तिको पार्टीभित्र हुने अनिवार्य प्रतिविम्बनका विरुद्ध निरन्तर संघर्षको सापेक्षतामा नै हुने भएकाले पार्टीभित्रको संघर्षमा पनि कहिले दुस्मनवर्गको विचारलाई मित्रवर्गको ठान्ने र कहिले मित्रवर्गको विचारलाई दुस्मन वर्गको विचार ठान्ने प्रवृत्ति र कहिले दुवैका बीचमा ढुलमूलाइरहने प्रवृत्तिहरूसँग वैचारिक संघर्ष परिरहन्छ । आज हाम्रो पार्टीभित्रको संघर्ष पनि वस्तुतः र अन्ततः आजको देश, काल र परिस्थितिमा सर्वहारावर्गको कार्यदिशा, रणनीति, कार्यनीति र आचरणलाई मूर्तीकरण गर्ने अपरिहार्य संघर्षसँग जोडिएको छ । जुन माथि उल्लेखित प्रवृत्तिहरूको विरुद्ध ठोस रूपमा चलिरहेको हुन्छ । अतः पार्टी एकताको आधारलाई व्यक्तिगत, गुटगत टिकाटिप्पणीमा होइन मुख्यरूपमा वैचारिक राजनीतिक कार्यदिशा, रणनीति, कार्यनीतिमा नै खोज्नु पर्दछ । यो नै सही माक्र्सवादी पद्धति हो ।

मालेमा/विचारलाई क्रान्तिको निर्देशक सिद्धान्त मान्ने तथा तिनका आधारभूत प्रस्थापनाहरूको रक्षा, प्रयोग र विकास गर्ने, समाजवाद र साम्यवादलाई पार्टीको अन्तिम लक्ष्य र अधिकतम कार्यक्रम तथा नयाँ जनवादलाई पार्टीको रणनीति र त्यसको कार्यक्रमलाई न्यूनतम कार्यक्रम मान्ने कुरादेखि आजको नेपालको ठोस अवस्थामा जनताको संघीय गणतन्त्रमा जोड दिँदै जनविद्रोहमा जाने कुरामा समेत पार्टीमा कुनै औपचारिक विवाद छैन । तर उपरोक्त समग्र सिद्धान्तलाई नै आकषिर्त र प्रभावित गर्ने गरी अन्तरविरोधहरू चल्ने गरेका छन् । अतः हामीले समस्या समाधानका लागि सिद्धान्तका अमूर्त र रणनीतिक कुरामा भन्दा कार्यनीति र आचरणका तत्कालीन मूर्त विषयमा ध्यान केन्दि्रत गर्नुपर्दछ । निश्चय नै तत्कालीन कार्यनीति र आचरणको सम्बन्ध निश्चित रणनीतिसँग जोडिएकै हुन्छ । र, हामीले कार्यनीतिको सम्बन्ध क्रान्तिकारी रणनीतिसँग जोडिएको छ भन्ने कुरा सुनिश्चित गर्नै पर्दछ । आज हाम्रो पार्टीभित्र चलिरहेको अन्तरसंघर्षको केन्द्र विन्दुमा मूलतः शान्ति, संविधान र सरकारका विषयमा पार्टीले लिएका कार्यनीति आचरण रहेका छन् । यी विषयहरूसँग जोडिएर नै क्रान्तिका सिद्धान्त र रणनीतिहरू समेत वैचारिक संघर्षमा तानिएका छन् । लोकतान्त्रिक गणतन्त्रको कार्यनीति, १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभाको निर्वाचन, संघीय गणतन्त्रको घोषणा, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी सिद्धान्तको स्थापनासम्मको राजनीतिक उपलब्धिहरूलाई पुँजीवादी जनवादी क्रान्तिकै कार्यभारको आंशिक प्राप्तिका रूपमा लिएर यी उपलब्धिहरूलाई संस्थागत गरी तिनमा टेकेर नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न अगाडि बढ्ने वा यिनलाई प्रतिक्रियावादी व्यवस्थामा भएको आंशिक सुधारका रूपमा लिएर त्यसको ध्वंसका निमित्त तत्काल अगाडि बढ्ने भन्ने प्रश्न पनि अब क्रमशः बहसमा आकषिर्त हुँदैछ । यो प्रश्न हाम्रो मनोगत चाहानाद्वारा होइन आजको विश्व परिस्थिति एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको वस्तुगत आंकलनद्वारा निर्धारित हुने कुरा हो भन्ने तथ्य स्पष्ट नै छ । पार्टीको सचेत पहलका दृष्टिले संविधानसभाको निर्वाचनपश्चात् मुख्यतः हाम्रो नेतृत्वको सरकारले राजीनामा दिएपछि गहिरिँदै गएको राजनीतिक संकटलाई क्रान्तिकारी संकटमा बदल्ने तथा जनविद्रोहद्वारा सत्ता लिने प्रयत्न नगरिएको होइन । तर, हाम्रो पटकपटकको सचेत प्रयत्नका बाबजुद तत्काल जनविद्रोह सफल हुन सकेन । यसमा हाम्रा आफ्ना तमाम सीमा कमजोरी एवं प्रतिक्रियावादी षड्यन्त्रका समग्र पक्षमा माओवादीले लिओस् भन्ने जनचाहना रहेको तथ्यलाई पनि अवमूल्यन गर्नै सकिँदैन । जनताको यो चाहना निराधार र मनोगत कदापि होइन बरु हामीले नै १० वर्षे महान जनयुद्ध र १९ दिने जनआन्दोलनमार्फत संविधानसभा र शान्तिप्रति गरिएको प्रतिबद्धताद्वारा विकसित वस्तुगत चेतनाको परिणाम हो ।

ठीक यही पृष्ठभूमिमा नै पार्टीले जनचाहनाअनुसार जननीतिमा आधारित भएर शान्ति र संविधान निर्माण प्रक्रियाको नेतृत्व लिने कुरामा गत वैशाखदेखि विशेष ध्यान र जोड दिन थालेको हो । धेरै उतारचढाव हुँदै गतश्रावणमा सम्पन्न केन्द्रीय समितिको पछिल्लो बैठकले शान्ति प्रक्रिया र संविधान निर्माणबारे ठोस कार्ययोजना प्रस्तुत गर्दै पार्टीकै उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा सरकार बनाउन पहल गर्नेसमेत निर्णय एकमतद्वारा गरियो । केन्द्रीय समितिको यही निर्देशनअनुसार भदौ ७ गते सम्पन्न स्थायी समितिको बैठकले शान्ति प्रक्रिया, संविधानसभा र सरकाबारे सहमतिका आधारहरू -जसमा माओवादी नेतृत्वमा सरकार गठनलगतै क्यान्टोन्मेन्टमा रहेका लडाकु, हतियार र कन्टेनर विशेष समितिलाई हस्तान्तरण गर्ने कुरासमेत पर्दछ) पनि एकमतद्वारा नै पारित गरियो ।

शान्ति र संविधान निर्माण प्रक्रियाको नेतृत्व लिने पार्टीका उपरोक्त निर्णयहरूका निर्देशनमा नै सरकार निर्माणका लागि मेधसी मोर्चासँग चारबुँदे सहमति भएको र सो सहमति पार्टी केन्द्रीय कार्यालय र संविधानसभा दलमा समेत एकमतद्वारा अनुमोदन गरिएको तथ्य सर्वविदितै छ । यहाँ कुन कुरामा पार्टी विशेष रूपले स्पष्ट हुन जरुरी छ भने शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सेना समायोजन र पुनःस्थापना गर्नु तथा संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु क्रान्तिको विसर्जन आत्मसमर्पण र वर्गसमन्वय होइन बरु विश्व कम्युनिस्ट आन्दोलनका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरूबाट शिक्षा लिँदै नेपाली परिस्थितिमा क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्दै नयाँ ढंगले चार आधार निर्माण गरी क्रान्तिलाई निरन्तर अगाडि बढाउने नयाँ पहल हो । निश्चय नै यो नयाँ पहलमा दक्षिणपन्थी संशोधनवादको खतरा छ । तर यो खतराको सामना नगरी क्रान्तिलाई निरन्तर अगाडि बढाएर विजयसम्म लैजान पनि त्यतिकै असम्भव छ । यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवबाट शिक्षा लिन इन्कार गर्ने वर्ग शक्ति सन्तुलनको वस्तुगत आंकलन नगरी मनोगतरूपले क्रान्तिकारिताको प्रदर्शन गर्ने तथा जनभावना, चाहना र राजनीतिका विरुद्ध खडा हुने यान्त्रिक, संकीर्ण सोचले क्रान्तिलाई होइन अन्ततः प्रतिक्रान्तिलाई नै सेवा पुर्‍याउने गरेको इतिहासबाट शिक्षा लिन पनि पार्टी गम्भीर हुनै पर्दछ ।

पार्टीका उपरोक्त नीति र निर्णयअनुसार आफ्नै नेतृत्वमा सरकार गठन भएको हप्ता दिन नबित्दै स्वयं सरकार गठनको आधार एवं लडाकु, हतियार र कन्टेनर हस्तान्तरणसम्बन्धी प्रारम्भिक निर्णयलाई लिएर पार्टी भित्रको अन्तरविरोध तीव्र मात्र बनेन अपितु सडकमा छताछुल्ल भएर पोखियो । त्यसलाई समाधान गर्न स्थायी समिति र केन्द्रीय समितिको बैठक बस्दाबस्दै अन्य राजनीतिक पक्षसँग भएका ७ बुँदे ६ बुँद्धे सहमति र तिनको कार्यान्वयन प्रक्रियासँगै अन्तरविरोध चर्किएर आजको विन्दुसम्म आइपुगेको छ । यो स्थितिले पार्टीको अन्य राजनीतिक पक्षसँगको राजनीतिक संघर्षमा नकारात्मक असर पारेको छ । शान्ति, संविधान र सरकारको नेतृत्व लिने पार्टीको हैसित कमजोर भएको छ । यस प्रकारका अवस्थाको अबिलम्ब अन्त्य गर्न सकिएन भने पार्टीको औचित्य माथि नै प्रश्न उठ्ने छ ? अतः पार्टीको औचित्य, जीवन र एकतालाई अक्षुण्ण राख्न हामीले विचार र विधि दुवैको दृष्टिले नयाँ पहल लिन जरुरी छ ।

आज पार्टीको संगठनात्मक स्थिति भयावहरूपले विघटित र विसर्जित भइरहेको छ । क्रान्तिका लागि सर्वहारावर्गको लडाकु अग्रदस्ताको भूमिका खेल्ने, नयाँ ढंगको पार्टीका त कुरै छाडौं पार्टी हुनुको नाताले पूरा गरिने न्यूनतम औपचारिकताको पनि स्खलन भइरहेको छ । यथार्थमा पार्टी मरिरहेको छ, गुटहरू मौलाइरहेका छन्, गुटहरूभित्र पनि उपगुटहरू अझ झाँगिएका छन् र उपगुटहरूभित्र व्यक्तिगत स्वार्थले प्रमुख उत्प्रेरकको भूमिका खेलिरहेको छ । सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारी, जनवादी केन्द्रीयता, आलोचना, आत्मालोचना, लेवी, कोटा, आर्थिक पारदर्शिता त्याग बलिदान सबैलाई व्यक्तिगत स्वार्थको बुल्डोजरले किचिरहेकै छ । के यो कित्ता के त्यो कित्ता सर्वत्र व्यक्तिगत स्वार्थ हावी हुँदै गइरहेको छ ।

यो अवस्थामा पार्टी निर्माणको काम कति धेरै चुनौतीपूर्ण छ भन्ने तथ्य सजिलै बुझ्न सकिन्छ । यति हुँदाहुँदै पनि अर्को सत्य यो हो कि सर्वहारा वर्गका राम्रा प्रतिनिधिहरूको विशाल फोज आज पनि हाम्रै पार्टीभर रहेका छन् । उनीहरू पार्टी पुनर्गठन र पुनर्निर्माणका निमित्त जस्तोसुकै त्याग गर्न पनि तयार छन् । देशका तमाम क्रान्तिकारी र देशभक्तहरूको आशा, भरोसा र आकर्षणको केन्द्रविन्दु आज पनि हाम्रै पार्टी रहेको छ । आमनेपाली जनताले आफ्नो सुन्दर भविष्यको सपना हाम्रै पार्टीमा खोजिरहेका छन् ।

उपरोक्त सन्दर्भमा यो स्थितिका लागि जिम्मेवार के के र को को कति जिम्मेवार हुन् भन्ने कुराको विहंगम र व्यापक सिंहावलोकन फोरम चलाएर महाधिवेशनसम्म गरिसक्ने संकल्पसहित तत्काल पार्टी निर्माणका लागि निम्न कार्य गर्नुपर्छ -क) माथिदेखि तलसम्म कमिटीका बैठक बस्ने छलफल बहस गर्ने र निर्णय गर्ने कार्यान्वयनमा जाने भिन्न मत भए सम्मानसहित फोरममा लैजाने -ख) जिम्मेवारी अनुसार कार्यक्ष्ाेत्रमा जाने संगठनात्मक र जनपरिचालनका काममा सक्रिय रूपले भाग लिने -ग) न्यूनतम लेवी कोटा उठाउने आर्थिक हिसाब पारदर्शी -घ) सबै स्तरका पार्टी कार्यालयहरूमा आलोचना आत्मालोचना गर्ने यो प्रक्रियालाई क्रमशः कमिटीसम्म लैजान पहल गर्ने -ङ) पार्टी केन्द्रबाट सर्वहारा आदर्शसम्बन्धी साहित्यको प्रकाशन र स्कुलिङको न्यूनतम पहल गर्ने -च) गत केन्द्रीय समितिको पाँचबुँदे निर्धारित आचारसंहिताको निश्चित बुँदाहरूको पालनाबाट पहलकदमी बढाउने ।

(क) चारबुँदे सहमतिः

केन्द्रीय कार्यालयको समझदारी अनुसार मधेसी मोर्चासँग सहमति भएमात्र पार्टीको नेतृत्वमा सरकार बन्ने भएकाले उसँग सबैले गम्भीर छलफल गरिएको । अन्ततः चारबुँदे सहमतिमा हस्ताक्षर गरिएपछि केन्द्रीय कार्यालय र संविधानसभा दलमा अनुमोदन गराएरमात्र लागू गरिएकाले यसलाई पार्टी निर्णय- विपरीत भन्न नमिल्ने । चारबुँदेका कतिपय विषयमा छलफल हुन सक्छ तर यसलाई शान्ति, संविधान र सरकार निर्माणको सापेक्षतामा हेर्दा आवश्यक र उचित रहेको कुरा स्पष्ट हुन्छ ।

(ख) कन्टेनरको चाबीबारेः

केन्द्रीय समितिको पछिल्लो बैठकद्वारा पारित शान्ति, संविधान र सरकारबारेको ठोस कार्ययोजना तथा स्थायी समितिद्वारा लिइएको लडाकु, हतियार र कन्टेनर हस्तान्तरणसम्बन्धी निर्णयअनुसार माओवादी नेतृत्वमा सरकार गठन भएलगत्तै विशेष समितिलाई चावी हस्तान्तरण गर्नु पार्टी निर्णयअनुसार नै रहेको तथ्य स्पष्ट छ । लडाकु, हतियार र कन्टेनर हस्तान्तरण गर्ने तर चावी हस्तान्तरण गर्नु हुँदैनथ्यो भन्नु आफैंमा अन्तरविरोध र नमिल्ने कुरा हो । यसमा कुनै प्रक्रियागत त्रुटि भए समीक्षा गर्न सकिन्छ ।

(ग) सातबुँदे सहमतिः

प्रतिगामी र घोर दक्षिणपन्थी शक्तिहरूले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया अगाडि नबढेको विषयलाई बहाना बनाएर संविधानसभालाई विघटन गर्ने तथा देशमा कुनै न कुनै रूपको निरंकुशतातर्फ भइरहेको कसरतलाई असफल तुल्याउन आमजनतामा राजनीतिक दलहरूप्रति फैलिएको निराशा र वितृष्णा घटाउन तथा हाम्रो पार्टी शान्ति, संविधान र आमजनताप्रति जिम्मेवार पार्टी भएको तथ्यलाई पुनर्पुष्टि गर्न तथा वर्गीय, जातीय, क्ष्ाेत्रीय र लैंगिक उत्पीडनको अन्त्य गर्ने संघीय संविधानमा पहल लिन सातबुँदे सहमति वस्तुगत रूपले आवश्यक बन्न गएको तथ्यलाई गम्भीरता- पूर्वक लिनुपर्छ । सातबुँदे सहमति केन्द्रीय समितिको नीतिगत निर्देशनमा रही केन्द्रीय कार्यालयको निर्णयअनुसार गरिएकाले यो पार्टीको आधिकारिक निर्णय भएको तथ्य स्पष्ट छ । सातबुँदेका कयौं विषयमा बहस, छलफल र समीक्षा हुन सक्छ तर यसलाई पार्टी निर्णयविपरीत भन्नु सरासर गलत कुरा हो ।

(घ) घरजग्गा फिर्ता सम्बन्धमाः

किसानहरूको अधिकार सुनिश्चित गर्ने, उनीहरूको वैकल्पिक व्यवस्था गरी कब्जा जमिन फिर्ता गर्नेसम्बन्धी पार्टी निर्णयअनुसार नै बर्दिया जिल्लाबाट जमिनको समस्या समाधान गर्न खोजिएको हो । त्यहाँ पार्टी अध्यक्षबाट सुकुम्बासी, कमैया र जोताहा किसानको हक सुनिश्चित गर्ने उनीहरूलाई वेदखल नगर्ने गरी राजनीतिक सहमति कार्यान्वयन गर्ने कुरामात्र गरिएको हो । साथै पार्टीले सरकारको तर्फबाट कमैया, सुकुम्बासीका समस्या समाधान गर्न तथा किसानहरूको वैकल्पिक व्यवस्था गर्न र भूमिसुधार कार्यक्रम अगाडि बढाउन विशेष आग्रह गरेको र त्यो दिशामा क्रमशः काम अगाडि बढेको तथ्यमा पनि हाम्रो ध्यान जान जरुरी छ । त्यो स्थितिमा मनोगत रूपबाट पार्टी नेतृत्वले सुकुम्बासी कमैया र किसानहरूको अधिकारप्रति बेवास्ता गरेको आरोप नेतृत्वप्रति विलकुल तथ्यहीन, अन्यायपूर्ण र पूर्वाग्रही आरोपमात्र हुन जान्छ ।

(ङ) बिप्पाका सम्बन्धमाः

प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा भारतसँग गरिएको बिप्पा सम्झौताले पार्टीभित्र र बाहिरसमेत बहसलाई जन्म दिएको छ । नेपालको भूराजनीतिक संवेदनशीलता, भारतसँग रहेको गम्भीर व्यापार असन्तुलनका पृष्ठभूमिमा यस प्रकारको बहस स्वाभाविक छ । यही संवेदनशीलताका कारण नै अन्य कैयौं देशसँग गरिएका त्यही प्रकृतिको सम्झौतामा प्रश्न नउठ्ने तर भारतसँगको सन्दर्भमा प्रश्न उठ्ने गरेको हो । निश्चय नै बिप्पा सम्झौता र यसले नेपालको समग्र राष्ट्रिय हित र आर्थिक विकासमा पार्नसक्ने सकारात्मक र नकारात्मक पक्ष्ाबारे पार्टीमा पर्याप्त छलफल र स्पष्ट नहुनु, अन्तिम समयमा प्राविधिक कारणले पार्टी नेतृत्वसँग सरकार प्रमुखको प्राविधिक कारणले संवाद र सम्पर्क हुन नसक्नु, यो सम्झौताका कतिपय प्रावधान मुख्यतः क्ष्ातिपूर्तिसँग सम्बन्धित विषयमा परिमार्जन हुन नसक्नु, एकैसाथ द्वैधकर प्रणाली हटाउने सम्झौता हुन नसक्नु, एकैसाथ द्वैधकर प्रणाली हटाउन सम्झौता हुन नसक्नु, यो सम्झौतासँग सम्बन्धित सीमा र कमी हुन् । अहिले दोहोरो कर प्रणाली हटाउने सम्झौता त भइसकेको छ तापनि यी सीमा र कमीहरूलाई नेपालको घरेलु कानुनलाई दह्रो बनाएर, दुई देशका बीचमा हुने पत्राचारमा पर्याप्त सतर्कता अपनाएर तथा वैदेशिक लगानीका सम्बन्धमा राष्ट्रिय हितलाई प्राथमिकता दिने कुरा सुनिश्चित गर्ने राष्ट्रिय सहमति कायम गरेर सच्याउन सकिन्छ र त्यो दिशामा पहल लिनुपर्छ ।

 

समस्या समाधानबारे
प्रथम: विचारधारात्मक र राजनीतिक कार्यदिशाका कतिपय आधारभूत प्रश्नमा नै वहस प्रारम्भ भए पनि वर्गसंघर्षको आजको आवश्यकतासँग जोडिएर क्रान्तिको भविष्यको चिन्ताका साथ यी वहस उठेको कुरा स्वीकार गर्दै पार्टीभित्रको यो अन्तरविरोध वस्तुतः मित्रतापूर्ण अन्तरविरोधकै सीमाभित्र रहेको तथ्यलाई सिंगो पार्टीले आत्मसात गर्ने ।
द्वितीय: केन्द्रीय समितिको गत बैठकको निर्णय अनुसार वैचारिक राजनीतिक मतभेदहरुलाई अलगअलग विचार समूहको भेलामा लैजाने प्रक्रिया अन्त्य गरी सामूहिक रुपले फोरम सञ्चालनको प्रक्रियालाई ठोस योजना र कार्यक्रममा ढालेर अगाडि बढाउने । वैचारिक राजनीतिक वहसलाई महाधिवेशनसम्म फोरमको विधिद्वारा व्यवस्थापन गर्न सहमत हुनु यतिबेला पार्टी एकताको अनिवार्यता बन्न गएको छ ।
तृतीय: अन्तरसंघर्षको आजको संवेदनशीद अवस्थालाई विचार गरी नेतृत्वले कुनै पनि निर्णय लि“दा कमिटिको बैठक बसी सामूहिक रुपले निर्णय गर्ने पद्धतिलाई कडाइपूर्वक लागू गर्ने । विगतमा गरिएका निर्णयहरु कार्यान्वयन गर्ने र आवश्यकताअनुसार कमिटिमा ती विषयमा छलफल र समीक्षासमेत गर्दै अघि बढ्ने ।
चतुर्थ: सेना समायोजनका बा“की कामलाई अझ सम्मानजनक तुल्याउन। बहिगर्मनमा परेका सेनालाई उचित सम्मान र व्यवस्थापन गर्न, शहीद र वेपत्ता योद्धा परिवारलाई समुचित सम्मान, राहत र व्यवस्थापन गर्न, वेपत्ता र मेलमिलाप आयोग निर्माण गर्न, पूर्व निर्णयअनुसार पूर्णकालीन कार्यकर्ताहरुको व्यवस्थापन गर्ने नया“ योजना बनाएर अगाडि बढ्ने ।
पञ्चम: सामन्तवाद–साम्राज्यवाद विरोधी सारतत्वको संविधान निर्माण गर्न राज्य पुनसंरचना (जसमा आत्मनिर्णयको अधिकार, स्वायत्त प्रदेशहरुसहितको संघीयतामा कुनै सम्झौता गरिने छैन), शासकीय स्वरुप र राज्य संरचनामा सबै क्षेत्रबाट मजदुर किसानको निश्चित प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने लगायत वर्गीय, जातीय, क्षेत्रीय र लैंगिक भेदभाव र उत्पीडनको अन्त्य गर्न सम्बन्धित प्रश्नहरुसँग सम्बन्धित पार्टी निर्णय लागू गर्ने सामूहिक रुपले दृढतापूर्वक पहल लिने ।
छैटौ: वर्तमान सरकारमा पार्टी प्रतिनिधित्वलाई सन्तुलित बनाउन सहमतिका आधारमा पुनर्गठन गर्न तयार रहने तथा पार्टीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको पहललाई पनि अगाडि बढाउने ।
सातौं: पार्टीको भिन्न मतलाई महाधिवेशन नहु“दासम्म पार्टी पंक्तिमा निरन्तर प्रवाहित हुने कुरा सुनिश्चित गर्ने, निश्चित सैद्धान्तिक र राजनीतिक विषय केन्द्रले गर्ने निर्णयले सार्वजनिक वहसमा समेत लैजाने तर कामकारवगाहीमा भने समितिको निर्णयसँग एकरुप भएर चल्ने ।
आठौं: राष्ट्रियता, जनतन्त्र एक जनजिविकाका विषयमा व्यापक जनपरिचालनको कार्यक्रम निर्माण गर्ने । त्यसका लागि पार्टी, जवस, मोर्चा, विभाग, मञ्च सबैको बैठक राखी संगठनात्मक परिचालन सुनिश्चित गर्ने ।
नवौं: जनताको सेवाका लागि युवा परिचालनको नया“ योजना कार्यक्रम बनाएर अगाडि बढ्ने ।
दशौं: केन्द्रीय समितिको गत बैठकद्वारा निर्धारित रुपान्तरण र आचारसंहितासँग सम्बन्धित पाँचबुँदे निर्देशन लागू गर्ने र त्यसका लागि आवश्यक पहल केन्द्रीय कार्यालयबाट गर्ने ।

(साभार:lalrakshak.com)

तमु ह्युल त्रैमासिक (Tamu Hyula Quarterly) ल्होसार बिशेषांक

सम्पूर्ण देश बिदेशमा रहनु हुने नेपाली दाजुभाइ दिदिबहिनीहरुमा मुप्री ल्होसारको सुखद अबसरमा तपाईंको सुख, शान्ती र सम्म्रिदीको हार्दिक शुभकामना !

तमु ह्युल त्रैमासिक ( Tamu Hyula Quarterly) वर्षको ल्होसार बिशेषांक पौष १३ गते देखी बजारमा ! नयाँ अंक प्राज्ञ डा. जगमान तमुको – ल्होसार:एक बिबेचना, तमु ईतिहासबिद एबम लेखक डिल्लिजङ तमुको – ल्होसार बारे लेख, तमु भाषाबिद एबम लेखक रत्न तमुको – तमु भाषा लिपिको मानकिकरण आजको आवश्यकता, प्रसिद्द रसियन कम्युनिस्ट लिडर जोसेफ स्तलिनको – जातिय आन्दोलन, तमु लेखक सु इमान बहादुर तमुको – प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र, तमु संस्कृतिबिद एबम लेखक सु चन्द्रमणी तमुको – शेरका छ्यादु बारे लेख, तमु भाषाबिद मन बहादुर तमुको – तमु भाषा, संस्कार संस्क्रिती र पोखरा नामाकरन, प्रख्यात भलिबल खेलादी सिपोरा तमु, मिस तमुस्यो 2011, मिस तमु २०११ र बिज्ञानप्रबिधी लगायतका बिषयहरु को साथमा !

Hello world!

Welcome to WordPress.com. After you read this, you should delete and write your own post, with a new title above. Or hit Add New on the left (of the admin dashboard) to start a fresh post.

Here are some suggestions for your first post.

  1. You can find new ideas for what to blog about by reading the Daily Post.
  2. Add PressThis to your browser. It creates a new blog post for you about any interesting  page you read on the web.
  3. Make some changes to this page, and then hit preview on the right. You can always preview any post or edit it before you share it to the world.